बाँके । पश्चिम नेपालका जिल्लाहरुमा छाउपडी प्रथा अहिले पनि कायमै छ । यद्यपी विभिन्न समयमा छाउपडी मुक्त गाउँ घोषणा भइरहेका पनि छन् । छाउगोठ भत्काउँदै छाउपडी मुक्त गाउँ घोषणा भएलगत्तै पुनः छाउगोठ बन्ने क्रम पनि रोकिएको पाइँदैन ।
योसँगै महिनावारी भएर छाउगोठमा सुतेकी महिलाले मृत्युवरण गरेका समाचारहरु आउने क्रम पनि उस्तै छ । छाउगोठमा सुतेका बेला बलात्कृत हुनु, सर्पले डस्नुजस्ता घटनाहरु भइरहेका छन् । खासगरी महिनावारी भएका महिलालाई भान्सा कोठामा जान नदिने, खाना बनाउन नदिने, देवीदवताको पुजापाठ गर्नुहुँदैन भन्ने गलत मान्यताका कारण उनीहरुलाई घरभन्दा अलग गोठ (छाउगोठ) बनाएर ५/७ दिनसम्म बस्न बाध्य पारिन्छ ।
महिनावारी भएका महिलाले छुँदा, सँगै बसेर खाँदा वा बस्दा देउता रिसाउने, अनिष्ट हुने जस्ता आरोप लगाइन्छ । तर पश्चिम नेपालको थारु समुदायका महिलाहरुले महिनावारी बार्दैनन् । पश्चिम नेपालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा रहेको थारु समुदायमा यो छाउप्रथा चल्दैन । थारु समुदायका महिलाले अहिलेसम्म महिनावारी बार्ने गरेका छैनन् ।
महिनावारी हुँदा नुहाईधुवाई गर्छन्, खाना पकाउँछन्, पाहुना तथा घरका अन्य सदस्यलाई खुवाउँछन् र आफू पनि खान्छन् । उनीहरुलाई घरको कुनै कोठामा जान रोकटोक हुँदैन । थारु महिलालाई महिनावारी भएको बेला आफू हेपिएको र दुर्व्यवहार भएको अहिलेसम्म थाहा छैन । महिनावारी हुँदा र नहुँदा पनि परिवारको व्यवहार समान हुन्छ । त्यसैले पनि थारु महिलाहरु आफू हेपिएको वा फरक व्यवहार भएको ठान्दैनन् ।
बाँके बैजनाथ गाउँपालिका–१ की थारु महिला अस्मिता चौधरी भन्छिन्, ‘हामीलाई महिनावारीसँगै कुनै मतलब हुँदैन । महिनावारी हुँदा सरसफाईमा ध्यान दिन्छौं । हामीलाई परिवारबाट पनि कुनै प्रकारको रोकटोक हुँदैन ।’ महिनावारी हुँदा परिवारसँगै बसेर खानपानका साथै अन्य कामहरु गर्ने गरेको अस्मिताले बताइन् ।
उनी भन्छिन्, ‘छुवाछुत नमान्ने भएकोले महिनावारी भएका बेला पनि थारु महिलाहरु नुहाइ धुवाइ, सफासुग्घर भएर कुल देवता भएको कोठामा पनि जान्छन् । देवताको पुजा गर्छन्, यसमा रोकावट हुँदैन ।’ महिनावारी भएको बेलासमेत परिवारका सदस्यले समान व्यवहार गर्ने भएकोले अन्य दिनभन्दा कुनै फरक नपाएको बैजनाथ गाउँपालिका–१ कै जयन्ती चौधरीको भनाई छ ।
‘अन्य समुदायजस्तो थारु समुदायमा महिनावारी बार्नुपर्दैन । महिनावारी बार्ने क्रममा जघन्य अपराध र मृत्युका घटनाले मलाई झस्काउँछ,’ उनी भन्छिन्, ‘अन्य समुदायले पनि महिनावारी बार्नुहुँदैन ।’ महिनावारी भएदेखि एकदिन पनि बार्न नपरेको बताउँदै उनले थारु समुदायले महिनावारीलाई सामान्यरुपमा लिने गरेको बताइन् ।
थारु समुदाय प्रकृति पुजक भएकोले महिनावारीलाई प्रकृतिको वरदानको रुपमा लिएर यसलाई सामान्यरुपमा लिएको उनको भनाई छ । मानव अधिकारकर्मी सुशील चौधरीले थारु समुदायमा महिनावारी बार्ने चलन पहिलेदेखि नै नभएको बताए । हाल आएर अन्य समुदायको सिको गर्दै यदाकदारुपमा बार्ने चलन सुरु भएको भन्ने सुनिन थालेको उनको भनाई छ ।
उनले भने, ‘अहिले अन्य समुदायको सिको गर्न थालिएको छ । आमरुपमा थारु समुदायमा महिनावारी बार्ने चलन नै छैन । गलत परम्पराको सिको गर्नुहुँदैन ।’ अधिकारकर्मी चौधरीका अनुसार परिवारमा आमा/सासु वा महिला अभिभावकलाई मात्रै छोरी/बुहारीको महिनावारी हुने समयबारे जानकारी राख्ने गर्छन् । ‘थारु समुदाय महिला प्रधान भएकाले पनि त्यसो भएको हुनसक्छ,’ उनले भने ।
महिनावारीको समयको हेक्का घरमुली महिलालाई मात्रै जानकारी हुन्छ र महिनावारी भएका महिलाको पोषणमा ख्याल गर्ने तथा उनीहरुलाई गह्रुँगो भारी बोक्न दिइँदैन । यो समुदायमा जातिय छुवाछुत पनि भेटिँदैन । यो समुदायमा तल्लो, उपल्लो, दलितजस्ता वर्गहरु छैनन् । राणा प्रधानमन्त्री जंगबहादुर राणाका पालामा ल्याएको मुलुकी ऐन १९१० मा मासिन्या (मतवाली) अर्थात् छोइछिटो लाउनु नपर्ने व्यस्वस्था गरिएको थियो ।
त्यसैको प्रभाव पनि हुनसक्छ, थारु समुदायभित्र छुवाछुत प्रथा छैन । थारु समुदायमा विवाह गर्दा पनि जात हेरिँदैन । जसले जुन जातसँग विहे गरे पनि स्वीकारयोग्य हुन्छ । कसले कुन जातको केटा वा केटीसँग विवाह गर्ने भन्ने नै हुँदैन । अधिकारकर्मी चौधरी बताउँछन्, ‘अन्य समुदायभित्रको विवाहलाई पनि थारु समुदायले सहजै स्वीकार गर्ने गर्छ । विवाहमा जातको कुनै मतलव नै हुँदैन ।’
पश्चिम नेपालमा छाउप्रथा कायमै रहेकोले तराईका आदिवासी थारु समुदायबाट अन्य समुदायले महिनावारी र जातिय छुवाछुतका विषयमा जान्नुपर्ने देखिन्छ । ‘महिनावारीकै कारण धेरै किशोरी तथा महिलाले अकालमै ज्यान गुमाएका छन्,’ अधिकारकर्मी चौधरीले भने, ‘महिनावारीकै कारण बाँच्न पाउने अधिकार कुण्ठित गरिएको छ ।’ मानिसले प्रकृतिले दिएजसरी नै स्वतन्त्र रुपमा बाँच्न पाउनुपर्ने उनको तर्क छ ।
सत्यपाटी - ।