सूचनाको शक्ति - The Power Of Information

        

अत्याधिक रक्तश्राव भएपछि हेलिकप्टरमार्फत सुत्केरीको उद्दार

सत्यराज सिंह । बझाङ । सुत्केरी हुने क्रममा अत्याधिक रक्तश्राव भएपछि बझाङबाट एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगन्ज लगिएको छ । केदारस्युँ गाउँपालिका–८ की २९ बर्षिया ज्ञानादेवी धामीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको हो ।

जिल्ला अस्पतालमा बच्चा जन्माउने क्रममा बच्चा उल्टो भएका कारण अप्रेसनपछि अत्यधिक मात्रामा रक्तश्राव भएकाले थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ । सुत्केरी धामीलाई ६ पिन्ट रगत चढाउँदा पनि रक्तश्राव नरोकिएपछि बझाङ जिल्ला अस्पतालले थप उपचारका लागि नेपालगन्ज रिफर गरेको अस्पतालका डा.सन्दिप ओखेडाले बताए ।

बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि आउने भनिए पनि मेसिनमा समस्या आएका कारण हुम्लामा रहेको सिम्रिक एयरसँगको समन्वयपछि दिउँसो ४ बजे सुत्केरीलाई नेपालगन्ज पठाइएको बताए । राष्ट्रपति महिला उथान कार्यक्रम अन्तरगत सुत्केरीलाई थप उपचारका लागि पठाइएको प्रजिअ सुनारले बताए ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार २०:४६