सूचनाको शक्ति - The Power Of Information

        

खसी तस्करी गर्न गाउँपालिकाको सिफारिस

बाँके । भारतबाट तस्करी गरेर ल्याउँदै गरेका १५६ वटा खसी बाँकेको राप्तीपारिबाट प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भगवानपुरले सीमापारिबाट ट्रकमा ल्याउँदै गरेका खसी बरामद गरेको जनाएको छ । तर खसी ढुवानीका लागि नरैनापुर गाउँपालिकाको वडा नं. १ र २ ले सिफारिस गरेका छन् ।

पारिबाट आएका खसीलाई वारि ल्याएपछि स्थानीय सरकारले बैधानिकता दिने गरेपछि प्रहरीलाई समेत नियन्त्रणमा लिई कारबाही चलाउन समस्या भएको बाँकेका प्रहरी प्रमूख प्रहरी उपरीक्षक बीरबहादुर वलीले बताए । ‘स्थानीय सरकारले बैधानिकता दिएपछि हामीले कसरी रोक्नु ?’ प्रहरी उपरीक्षक वलीले भने, ‘दैनिकजसो बरामद गरिरहेका छौं, स्थानीय सरकारले दिएका सिफारिसका आधारमा छोड्नुपर्ने अवस्था छ ।’

तस्कारहरुले सिमापारिबाट खसीबोका ल्याएर सीमावारि बैद्य गराउँदै आएका छन् । ‘जनप्रतिनिधिसँगको मिलेमतोमा पारिका खसीलाई वारि बैद्य बनाइन्छ,’ मटेहियाका एक जना स्थानीयबासीले भने, ‘यहाँ त तस्करहरुका राज नै चल्छ, उनीहरुलाई स्थानीय जनप्रतिनिधिको संरक्षण छ ।’ आज विहानै भगवानपुरमा समातिएका खसी सिमापारिबाट आएको भए पनि नरैनापुर गाउँपालिकाको वडा नं. १ र २ ले नेपालमै खरीद गरेको सिफारिस दिएपछि प्रहरी अप्ठ्यारोमा परेको छ ।

इलाका प्रहरी नरैनापुरका इन्चार्ज प्रहरी निरीक्षक मानबहादुर बिसीले सबै काजगपत्र रहेकाले छोड्ने तयारी गरिएको बताए । उनले भने, ‘जिल्लामा समन्वय गरिरहेको छु, सबै कागजपत्र भए छोड्नु भन्ने आदेश छ, गाउँपालिकाका जनप्रतिनिधिले नै सिफारिस दिनुभएको छ, हामीले रोक्न मिल्दैन ।’ उनले क्वारेन्टाइनका कागजात माग गरिएको र सो कागजात आएपछि छोड्नुपर्ने अवस्था रहेको बताए ।

नरैनापुर गाउँपालिकाको वडा नं. १ र २ ले सिफारिस गरेको बुझिएको छ । यस विषयमा कुराकानी गर्न खोज्दा वडाध्यक्षद्वयको मोवाइल स्वीच अफ गरिएको छ । वडा नं. १ का अध्यक्ष मोल्हे बेहना शेषको ९८६८६४३७४९ नम्बरको मोवाइल र वडा नं. २ का अध्यक्ष मसुद अहमद शाहको ९८६८१९२५०६ नम्बरको मोवाइल अफ भएका कारण सम्पर्क हुन सकेन । यसैबीच प्रहरीले बाँकेको बैजापुरबाट आजै नियन्त्रणमा लिएका ३९ वटा खसी भन्सारमा बुझाउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार ११:२८