सूचनाको शक्ति - The Power Of Information

        

जनप्रतिनिधिलाई धम्काउँदै ‘पेट्रोल र चामल’ माग्ने उदयसिंह श्रेष्ठ अझै पक्राउ परेनन्

बाँके । पत्रकारको नाममा जनप्रतिनिधिलाई धम्काउँदै ‘पेट्रोल र चामल’ माग्ने नेपालगन्ज–१० का उदयसिंह श्रेष्ठलाई पक्राउ पूर्जी जारी भएको १२ घण्टा बितिसक्दा समेत पक्राउ गरेको छैन । श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी परेपछि सोमबार साँझ पक्राउ पूर्जी जारी गरेको थियो ।

नेपालगन्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष मो.सफिक बेहनालाई पटक–पटक धम्काउँदै आएका राष्ट्रिय खबर डटकममा काम गर्दै आएका श्रेष्ठले विभिन्न समयमा आफूसँग चामल, पेट्रोल, नगद रकम लगायत माग्दै आएको र नदिएपछि झुट्टा समाचार बनाएर वडाध्यक्ष र परिवारकै बदनाम गरिदिने भन्दै धम्क्याउँदै आएको भन्दै जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले प्रहरीले खोजी गरिरहेकोले छिट्टै पक्राउ पर्ने बताएका छन् । श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएलगत्तै उनको खोजी कार्य तीव्र बनाइएको प्रवक्ता सापकोटाले बताए । ‘पक्राउ पूर्जी जारी भएपछि पक्राउ नपर्ने भन्ने नै हुँदैन, हामीले खोजी गरिरहेका छौं ।’

जाहेरी दिएका वडाध्यक्ष बेहनाले नेपालगन्जमै भएका व्यक्तिलाई प्रहरीले १२ घण्टासम्म पक्राउ नगर्नुले शंका उत्पन्न भएको बताएका छन् । ‘खोजी गरिरहेका छौं भन्दै पक्राउ गर्न बिलम्ब गरिएको छ । नेपालगन्जमै रहेको व्यक्तिलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसक्नुले गम्भीर र संवेदनशील विषय हो, यसबाट म सशंकीत भएको छु ।’

पक्राउ पूर्जी जारी भएलगत्तै बाँके प्रहरीले उनलाई नेपालगन्जका विभिन्न स्थानमा खोजिरहेको बताएको छ । राष्ट्रिय खबर डटकममा काम गर्दै आएका पत्रकार भनिने श्रेष्ठले विभिन्न समयमा वडाध्यक्षसँग चामल, पेट्रोल, नगद रकम लगायत आफूले भने बमोजिम नदिएपछि झुट्टा समाचार बनाएर वडाध्यक्ष र परिवारकै बदनाम गरिदिने भन्दै धम्क्याउँदै आएको जाहेरीमा उल्लेख गरिएको छ ।

विभिन्न बाहनामा आफूसँग असुली गर्न खोजेपछि आजित भएका वडाध्यक्षले रु.२५ हजार र पेट्रोल नदिएपछि धम्क्याउँदै आएका थिए । जाहेरीमा भनिएको छ, ‘वडा कार्यालयमा आएर पटक–पटक स्ट्रीट लाइट मागेको र आफूले दिन नसक्ने बताएपछि तिम्रो र तिम्रो परिवारको बारेमा झुट्टो समाचार बनाएर बदनाम गरिदिन्छु भनेपछि करिब आठ महीना पहिले रु.१० हजारमा चार वटा स्ट्रीट लाइट खरीद गरेर उपलब्ध गराएको थिएँ ।’

‘गत चैत महीनामा राम्रो खालको चालम मागेको र मैले उपलब्ध गराउन सक्दिन भन्दा झुट्टा समाचार बनाएर सार्वजनीक गरिदिने धम्की दिएपछि रु.९ हजार मुल्य पर्ने ‘दुध मलाई’ नामको चामल ५० किलो उपलब्ध गराउन बाध्य भएको’ पनि जाहेरीमा उल्लेख गरिएको छ । पछिल्लो पटक असार महीनामा आफ्नो वडा कार्यालयमा आएर गाडीका लागि चाहिने पेट्रोल र रु.२५ हजार रकम माग गरेको पनि जाहेरीमा उल्लेख गरिएको छ ।

जाहेरीमा पेट्रोल र रु.२५ हजार दिन नसक्ने बताएपछि आफूसँग आक्रोश व्यक्त गर्दै म बरिष्ठ पत्रकार हुँ, मेरो पहुँच ठूलै छ, मैले भनेको नमान्ने भन्दै सार्वजनीक स्थानमा गालीगलौच र अभद्र व्यवहार गर्दै झुट्टा समाचार बनाउने धम्की दिएको पनि उल्लेख गरिएको छ । जाहेरी दर्तापछि बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बीरबहादुर वलीले अभद्र व्यवहार सम्बन्धी कसुर गरेको आरोपमा श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको बताएका छन् ।

मुलुकी अपराधसंहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार सम्बन्धी कसुर अन्तरगत श्रेष्ठमाथि मुद्दा दर्ता गरिएको हो । वडाध्यक्ष बेहनाले ९ दिनअघि नै जाहेरी लिएर जिल्ला प्रहरीमा पुगे पनि मेलमिलापका लागि समय दिएको प्रहरी उपरीक्षक वलीले बताए । उनले भने, ‘उहाँहरुबीच मेलमिलाप नभएपछि आज मुद्दा दर्ता गरिएको हो ।’ बेहनाले प्रहरीसँग ‘मैले न्याय पाउने कि नपाउने’ भनेपछि मुद्दा दर्ता गरिएको थियो ।

श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरेका वडाध्यक्ष बेहनाले श्रेष्ठले पटक पटक आफूलाई डर, धाक, धम्की दिई गैरकानुनी लाभ (फिरौती) लिएको उल्लेख गरेका छन् । आफूले फिरौती दिन इन्कार गरेपछि सामाजिक सञ्जालमार्फत् गाली गलौज, धम्की र अभद्र व्यवहार गरी प्रतिष्ठामा आँच आउने काम पत्रकार श्रेष्ठले गरेको वडाध्यक्ष बेहनाले बताए । श्रेष्ठले गैरकानुनीरुपमा फोटो चोरी सार्वजनिक गरेको पनि बेहनाको आरोप छ ।

मुलुकी अपराधसंहिताको परिच्छेद ५ को सार्वजनिक हित, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तरगत दफा ११८ मा अभद्र व्यवहार गरेको कसुर प्रमाणित भए १ बर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने ब्यवस्था छ । नौं दिनअघि नै जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका वडाध्यक्ष बेहनालाई प्रहरीले उतै मिल्नुस् भन्दै जाहेरी दर्ता नै नगरेर फिर्ता पठाएको थियो ।

त्यसो त एक बर्षअघि भदौ पहिलो साता नेपालगन्ज भन्सार कार्यालयमा पत्रकार भन्दै नियमित धम्क्याउँदै आएका उदयसिंह श्रेष्ठलाई चौलिकाका स्थानीयहरूले लखेटेका थिए । नेपालगन्ज भन्सार कार्यालयमा नियमित डियुटी दिँदै आएका श्रेष्ठले पत्रकारको परिचय दिँदै सीमा नाकामा आउजाउ गर्ने व्यक्तिहरूलाई दुख दिन थालेपछि स्थानीयहरुले सीमा नाका जयसपुरबाट लखेटेका थिए ।

चेकजाँचका लागि खटिएका प्रहरीलाई समेत धम्क्याउँदै आएका श्रेष्ठले सडकमै प्रेस लेखेको गाडी राखेर अनलाइन लाइभ गर्ने भन्दै भन्सार नाकामा आउजाउ गर्ने स्थानीयहरूको झोला खोतल्न थालेपछि आक्रोशित भएका स्थानीयहरूले पत्रकारको भेषमा अनावश्यक दुःख दिएको र घरायसी प्रयोजनका लागि ल्याएका सामानहरु समेत नियन्त्रणमा लिन थालेपछि स्थानीयहरूले त्यसको प्रतिकार गरेका थिए ।

भन्सार तथा चौलिक्का क्षेत्रमा खटेका सुरक्षाकर्मीलाई सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाल आफ्नो निकटको साथी भएको भन्दै श्रेष्ठले उनीहरुलाई अनावश्यक दुख दिने गरेको समेत सुरक्षाकर्मीले बताएका छन् । श्रेष्ठले विगतमा पनि पत्रकार आचारसहिंता विपरित काम गरी नेपाल पत्रकार महासंघ र समग्र बाँकेका पत्रकारको प्रतिष्ठामाथि आँच पुर्याएका कारण पत्रकार महासंघ बाँकेले सात बर्षअघि श्रेष्ठको साधारण सदस्यतासमेत खारेज गरेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार ०९:५७