सूचनाको शक्ति - The Power Of Information

        

बर्दियामा बाघको आक्रमणबाट पहरिया र रामकलीको मृत्यु, त्रासमा स्थानीय

बाघको आक्रमणबाट मृत्यु भएका बर्दिया ठाकुरबाबा नगरपालिका–१ भुरीगाँउका ७० वर्षिय पहरिया थारु ।

बाघको आक्रमणबाट मृत्यु भएका बर्दिया ठाकुरबाबा नगरपालिका–१ भुरीगाँउका ७० वर्षिय पहरिया थारु ।


बाँके । पछिल्लो समय बर्दिया जिल्लामा बाघको आक्रमणमा परेर दुई जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघले आक्रमण गर्दा दुई दिनको अन्तरालमा दुई जनाको मृत्यु भएको हो । भदौ ५ गते विहीबार बर्दियाको गेरुवा गाँउपालिका–४ मा पाटेबाघले आक्रमण गर्दा ५६ वर्षीय रामकली शाहीको मृत्यु भएको थियो ।

उनी घरनजिकै खेतमा घाँस काट्दै गर्दा बाघले उनीमाथि आक्रमण गर्दा उनको घटना स्थलमै मृत्यु भएको थियो । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना सेलाउन नपाउँदै पुनः बर्दियामा बाघको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–१ भुरीगाँउ खानेपानी ट्याकीं नजिक आज विहान पाटेबाघले आक्रमण गर्दा सोही स्थान बस्ने स्थानीय ७० वर्षीय पहरिया थारुको मृत्यु भएको हो ।

बुंगुरलाई दाना दिन हिडेका पहरिया थारुलाई बाघले आक्रमण गर्दा उनको घटना स्थलमै मृत्यु भएको बताइएको छ । दुईदिनको अन्तरालमा जिल्लामा बाघको आक्रमणमा परि दुईजनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय बर्दिया र राष्ट्रिय निकुञ्ज बर्दियाले सवैलाई सजग र सचेत रहन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले आइतबार सार्वजनिक सूचना जारी गर्दै मध्यवर्ती क्षेत्रबाट बाघ हटाउने प्रयास भइरहेको जनाएको छ ।

राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट बाघको खोजी गर्दै बाघ हटाउने प्रयास भइरहेको भएपनि बाघको आक्रमणको जोखिम सो क्षेत्रमा अझै पनि भएकोले सजग र सचेत हुन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग बताउँछन् । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले मध्यवर्ती क्षेत्रमा बाघको खतरा अझै भएकाले सो क्षेत्रमा घाँस दाउरा लगायतका अन्य काम नगर्न आग्रह गर्दै आवश्यक सजगता अपनाउन आग्रह गरेका छन् ।

बाघको संख्या बृद्धि भएसगैं निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुदैं मानव वस्तीतर्फ बाघ पस्न थालेको हो । निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रबेश गर्न थालेको हो । गत माघ २१ गते बर्दियाको बढैयाताल गाँउपालिका–२ जमूनीमा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्य भएको थियो । बाघकै आक्रमणमा परि अर्का स्थानीयबासी ३० वर्षिय विजय बुढा सामान्य घाइते भएका थिए ।

यस्तै बाँकेको खजुरा गाँउपालिका–३ धौलागिरी गत जेठ ३ गते पाटेबाघले आक्रमण गर्दा तीन जना घाइते भएका थिए । घाइते मध्ये ५० वर्षीय दिपबहादुर श्रीष गम्भीर घाइते भएका थिए । बाँके र बर्दियामा बाघले आक्रमण गर्ने क्रम बढेसँगै स्थानीय त्रसित छन् । निकुञ्जमा पाटेबाघको संख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले न्यूनीकरण गर्न पहल थाल्न स्थानीयको माग छ । वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउने परिवारलाई सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ । सरकारी तथ्यांक अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज ८७ वटा र बाँके राष्ट्रिय निकुञ्ज २१ वटा गरी १०८ वटा बाघ रहेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतवार १२:२०