गजेन्द्र बोहरा । टीकापुर । कोही बच्चा टुकुरटुकुर आमाबाबुको औंला समाएर हिँडेको होस्, अनि ‘ताते’ गर्दै तोतेबोलीमा प्यार मुस्कुराइरहेको होस् । दृश्यहरू त आँखामा ठोक्किइरहन्छन् । जसले उनलाई चार वर्षअघि घरको पिँढीमा बामे सर्दै घिस्रिरहेको त्यही छोराको यादमा पुर्याइदिन्छ ।
काखमा छुनुमुनु गर्दै दूधिलो ओठको मुस्कानले जिस्किइरहने प्यार टुट्दाको पीडा कस्तो होला ? ‘अहिले त पाँच वर्ष पुगिसक्थ्यो होला,’ शुक्रबार दिउँसो टीकापुर बजार नजिकै साउद निवास पुग्दा यशोदा छोरा टेकबहादुरलाई सम्झिरहेकी थिइन्, ‘यतिबेला त ऊ (छोरा) स्कुलबाट फर्किएर खाजा माग्दै हुँदो हो ।’
बुबा नेत्र साउद र आमा यशोदा साउद भर्खरै छोराको तस्बिरमा फूल, अबिर चढाइ श्रद्धाञ्जली दिएर फर्किएका थिए । संयोग कस्तो पर्यो भने शुक्रबार भगवान कृष्ण जन्मिएको दिन ‘कृष्ण जन्माष्टमी ।’ उनी छोराको तस्बिरमा अबिर चढाउँदै थिइन्, बडो मुस्किलले । आँखा रसाइसकेका थिए । हो, उनै ‘यशोदा’ जसको कलिलो ‘कृष्ण’ काखमै चुँडिएको थियो ।
चार वर्षअघि टीकापुर,
घर नजिकै दंगा मच्चिएको थियो । ‘थरुहट स्वायत्त प्रदेश’को माग गरिरहेका हजारौं थारुहरू टीकापुरमा आन्दोलन गरिरहेका थिए । आन्दोलनले हिंस्रक रूप लियो । साउद परिवार घर बनाउँदै थिए । पहिलो तला बनिसकेको थियो । दोस्रो तला बनाउन घरभरि मिस्त्री र कामदार थिए । बुबा नेत्र साउद सशस्त्र प्रहरीका हवल्दार हुन् ।
उनी भर्खरै कार्यालयबाट घर फर्किएका थिए । झडप उनकै घरनजिक भइरहेको थियो । कफ्र्यु लागिसकेको थियो । मानिस भागाभाग गरिरहेका थिए । कोही पनि घरबाहिर निस्किरहेको थिएन । उनको घर छेउमा घाइते प्रहरी पल्टिइरहेका थिए । ती घाइते प्रहरीले पानी मागे । नेत्रले पानी दिन खोजे तर, यशोदाले रोकिन् । यसैमा दुईजनाको केहीबेर झगडा नै भयो ।
यशोदा पानी नदेऔ भन्ने, नेत्र दिनुपर्छ भन्ने । ‘नदिम् भो, अहिले फेरि कसैले देख्छ अनि झन् बबाल होला भनेर मैले त झगडा नै गरेँ ।’ नेत्रले भने, ‘पानी त दिए के हुन्छ र, पुलिसलाई पनि दिनुपर्छ । अरु जसलाई पनि पानी खुवाए केही हुन्न ।’ केही पानीका बोतल छतबाट फालिदिए । त्यो एकजना प्रहरीकै घर थियो । त्यसैले अरु प्रहरीहरू आएर पानी मागे ।
पानी पिएर उनीहरू फर्किए । केही प्रहरीले पर्खाल नाघेर छतमा चढेर पानी पिए । ‘पानी पाएपछि घाइते भएका प्रहरीलाई बाँचेजस्तो लाग्यो होला, उनीहरू उठेर गए । फेरि अरु आएर पानी माग्न थाले,’ यशोदा २०७२ साल भदौ ७ गतेको ती झझल्का कसरी पो हराउँछन् यशोदाको स्मृतिबाट, ‘पानी नदिएको भए त छोरालाई गोली हान्ने थिएनन् कि ?’
‘त्यो गोली पेस्तोलबाट हानिएको थियो । तर, छोरालाई होइन, मलाई टार्गेट गरिएको थियो किनकि म त पुलिस नै हुँ नि,’ अनि नेत्रलाई कताकता लाग्छ, ‘मलाई हानिएको गोली छोरालाई लाग्यो ।’ छोरा गुमाएको पीडा एकातिर अनि, छोरालाई गोली लाग्नुको पश्चाताप पनि । नेत्रलाई फोनमा खबर आइरहेको थियो, ‘एसएसपी सा’ब पनि मारिए । पुलिसलाई जिउँदै आगो झोसिएको छ, अरुहरू पनि मारिएका छन् । सशस्त्रका पनि दुईजना मारिए… यस्तै यस्तै ।’
चारैतिर सन्नाटा थियो । धर्ती त उज्यालै थियो । तर, लाग्थ्यो टीकापुर पूरै अँध्यारोले छोपिँदैछ । के थाहा काखको त्यो प्यार त्यही अँध्यारोमा बिलाइजाला ? सबैजना पिँढीमा बसिरहेका थिए । काखमा खेलिरहेको छोराले दिसा गर्यो । यशोदाले दिसा पखालिदिइन् र, नयाँ कपडा लिन भित्र छिरिन् । बाहिरबाट एकाएक आवाज आयो, ‘लौ मार्यो, मार्यो ।’ यशोदा दौडिँदै बाहिर निस्किदै थिइन् । दैलोको रगत खुट्टामा लतपतियो । केटाकेटी खै भनेर उनी चिच्याउँदै थिइन् ।
रगतले लतपतिएर ढलिरहेको २० महिने छोरा आँखैमा झोस्सियो । एकैछिन अघिसम्म काखमा छुनुमुनु गरिरहेको छोरा रगतमा लतपतिएर ढलिरहेको थियो । ऊ केही बोलिरहेको थिएन । नेत्र निशब्द थिए । एकोहोरो छोराको लास हेरिरहेका थिए । गर्नु पनि के थियो र? गर्न सकिने पनि के नै थियो र ? काखको छोरा चुँडिएर उता आँगनमा ढलिरहेको थियो । यशोदा दैलोमै ढलिन् ।
‘त्यसपछि त के के भयो के के । केही थाहा भएन । ऊ मारिएको पनि चार वर्ष पुगिसक्यो,’ सन्तान गुमाउनुको पीडालाई कसरी पो बयान गर्नु र ? ‘घाइते प्रहरीलाई पानी दिएको रिसले हो कि, के हो । काखको बच्चालाई गोली हानेर मारे ।’ अहिले पनि यशोदालाई लाग्छ, छोरो त काखैमा खेल्दैछ । काखमा खेल्दाखेल्दै चुँडिएको त्यो कोपिला घरिघरि स्मृतिमा फक्रिइरहन्छ, कहिलै नओइलाउने गरी ।
‘हरेक वर्ष उसको तस्बिरमा अबीर चढाउँदा पनि अहिलै बोल्छ होला जस्तो लाग्ने के,’ नेत्र बोल्दाबोल्दै यशोदाको याद बोल्यो ‘हो त नि, अहिले त आमा, बुबा भन्न सक्ने भइसक्या हुन्थ्यो ।’ हो, राम्रोसँग बा, आमा भन्न नजान्दै ऊ चुँडियो । जिन्दगी जोडिएका तारहरू कहिलेकाहीँ चुँडिन्छन् यसैगरी । केही जोडिएलान् तर, अब कहिले पो जोडिएला र ऊ ? ‘उसको झल्को त कसरी मेटिन्छ र ? सधैँ सम्झिरहेको हुन्छु ।
यही दैलोमा त ऊ खेलिरहेको । त्यहीँनेर पिढीँमा त हो, गोली लागेर ढलेको ।’ अहिले फेरि काखभरिकी एउटी छोरी छिन् । छोराभन्दा अघि जन्मिएकी अर्की पनि छोरी छिन् । ‘सन्तान त सन्तान हो नि ! नौ–नौ महिना पेटमा राखेर जन्माएको । त्यो दूधेबालकको त के नै दोष थियो र, त्यसरी गोली हानेर मार्नुपर्ने ?’ हो, त्यो प्रश्रव पीडा त, उसको पहिलो ‘रुवाइ’मै हराइसकेको थियो । तर, यो पीडा कसरी पो मेटिनु र?
सन्तान प्रेमको स्पन्दनले पनि पोलिरहन्छ, साउद दम्पतीलाई घरिघरी । अब, ‘जे हुनु त भइसक्यो । त्यसमा रिसराग गरेर के पो गर्नु र ?’ त्यो पीडा अनि सम्झनालाई रोक्न त सकिन्नँ । तर, नेत्र भन्छन्, ‘कसले गोली हान्यो, किन हान्यो ? त्यो नाबालकलाई किन मारियो, कि त हान्नेलाई थाहा होला, कि भने भगवानलाई ।’ न त्यो सन्तान प्रेम नासिन्छ न, त्यो याद मेटिन्छ ।
‘अब त तुष मेटाउने हो, कोसँग के झगडा गर्नु र ? हामी त सबैसँग मिलेकै छौं,’ नेत्रलाई बीचमा रोक्दै यशोदा बोलिन्, ‘सबैले के के भन्छन् तर, हामीलाई त त्यस्तो लाग्दैन, सबैसँग राम्रो छ, थारुहरूसँग पनि अरुसँग पनि, उस्तै हो ।’ डेढवर्षे ती बालकलाई ‘बालशहीद’ भनिएको छ । सरकारले साउद परिवारलाई १० लाख रुपैयाँ दियो ।
राज्यको दायित्व त्यहीँ सकियो, त्यसपछि उनी राज्यको सम्झनामा कहिल्यै आएनन् । तर, त्यो घटनापछि थारु अगुवा साउद परिवारलाई सल्लाहकार नै मान्छन् । कुनै निर्णय गर्नुपर्यो भने थारुहरू साउद परिवारलाई भेट्न पुग्छन् । तर, सन्तानको याद त कहाँ मेटाउन सकिन्छ र ? साउद परिवारले उनको नाममा एउटा प्रतिष्ठान बनायो । त्यसका लागि स्व.टेकबहादुरका हजुरबुवा अगाडि सरे ।
उनले आफन्त, छरछिमेक सबैलाई एकै ठाउँमा ल्याए । ‘टेकबहादुर साउद स्मृति प्रतिष्ठान’ बनाए । टीकापुर बजार बीचमा खाली रहेको जमिन मागे । नगरपालिकाले ‘बाल उद्यान’ भनेर खुल्ला चौर दियो । अहिले त्यहाँ ‘बालउद्यान’ बन्दैछ । नगरपालिकाले बजेट पनि दिएको छ । अनि यो प्रतिष्ठान ती छरछिमेक र आफन्तमात्रै होइन, सबैको साझा बन्दैछ ।
चार वर्षपछि यो प्रतिष्ठानका लागि धेरै थारुहरूले आजीवन सदस्यता लिएका छन् । सबैले सँगसँगै अघि बढ्ने प्रण गरेका छन् । ‘जसले जे गुमाउनु थियो, त्यो त गुमाइसकेका छौं, फेरि अरुले भनेजस्तो हाम्रो समुदायमा बिग्रेको केही छैन,’ नेत्र भन्छन्, ‘त्यो बेला कसैसँग कसैको रिस उठेको थियो होला, कसैसँग रिस थियो होला, सधैँ त किन राख्नु र ? अब सकियो, त्यस्तो केही छैन ।’
हो, पनि थारु समुदायसँग यो साउद परिवारको दोस्ती अझ बढेको छ, पहिलेभन्दा पनि । थारुहरूको केही कार्यक्रम हुन थाल्यो वा थारुहरूले केही सल्लाह लिनर्पयो भने थारु अगुवा साउद परिवारलाई भेट्न पुग्छन् । ‘हामीलाई त त्यस्तो केही छैन, हामी पनि उहाँहरूको घरमा जान्छौं, उहाँहरू पनि यहाँ आउनुहुन्छ,’ यशोदा भन्छिन्, ‘अब रिस गरिरहेर, झगडा गरिराखेर के पो हुन्छ र, छोरो त फर्किदैन नि ?’
गजेन्द्र बोहरा - ।