बाँके । नक्कली ऋणी खडा गरी बैंकिङ्ग कसुरमा पक्राउ परेका दाङको नारायणपुरस्थित देवः विकास बैंक शाखाको म्यानेजर पदमा कार्यरत समिर बुढाथोकीलाई म्याद थपका लागि नेपालगन्ज ल्याइएको छ ।
बैंकिङ्ग कसुर तथा सजाय ऐन अन्तरगत उनीविरुद्ध मुद्दा दर्ता गरेको दाङ प्रहरीले उच्च अदालत तुलसीपुर नेपालगन्ज वाणिज्य इजलासमा म्याद थपका लागि ल्याएको हो । दाङमा वाणिज्य इजलास नभएकोले उनलाई नेपालगन्ज ल्याइएको प्रहरीले जनाएको छ ।
देवः विकास बैंकमा करिब १८ करोड हिनामिना गरेको आरोपमा घोराही उपमहानगरपालिका १५ भरतपुर निवासी २९ वर्षीय बुढाथोकीले बैंकबाटै १७ करोड ९९ लाख ९० हजार रुपैयाँ अनियमितता गरेको उजुरी प्रहरीमा परेको थियो ।
म्यानेजर बुढाथोकीले ३५ जना नक्कली ऋणी खडा गरी आफूलाई फाइदा हुने गरी र बैंकलाई नोक्सान हुने गरि पैसा हिनामिना गरेको आरोप लागेको छ । घोराही उपमहानगर १० नारायणपुरमा रहेको शाखाबाट कर्जा स्वीकृति नगराई ऋण प्रवाह गरेको बुढाथोकीलाई आरोप छ ।
वेस्टर्न डेभेलपमेण्ट बैंक गएको असारमा देवः विकास बैंकसँग गाभिएको थियो । बुढाथोकी २०६७ सालदेखि वेस्टर्न डेभेलपमेण्ट बैकमा कार्यरत थिए । बिगत डेढ वर्षदेखि उनी म्यानेजरका रुपमा काम गर्दै आएका हुन् । जिल्ला प्रहरी कार्यालय दाङले बैंकिङ्ग कसुर तथा सजाय ऐन अन्तरगत मुद्दा दर्ता गरेको छ ।
सत्यपाटी - ।