सूचनाको शक्ति - The Power Of Information

        

उपचाररत राममणीलाई भेट्न अस्पताल पुगिन् पूर्व सभामुख ओनसरी

बाँके । व्यवस्थापिका संसदको पूर्व सभामुखमा ओनसरी घर्तीले तत्कालिन नेकपा माओवादी केन्द्रका अग्रज नेता एंव पूर्व शिक्षक राममणी शर्माको उपचारमा कुनै पनि कसुर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएकी छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भेरी अस्पतालमा भर्ना भएका शर्मालाई भेट्न आज अस्पतालमै पुगेकी पूर्व सभामुख घर्तीले उपचारमा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनलाई यस्तो निर्देशन दिएकी हुन् ।

उपचारमा संलग्न डा.राजन पाण्डे, अस्पतालका मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठसँग शर्माको पछिल्लो स्वास्थ्य अवस्थाबारे घर्तीले जानकारी लिएकी छन् । यसक्रममा उनीहरुले शर्माको स्वास्थ्यमा सुधार आइरहेको बताएको अस्पतालले जनाएको छ ।

पूर्वसभामुख घर्तीसँगै प्रदेश सांसद कृष्णा केसी ‘नमुना’को पनि सहभागीता थियो । सांसद नमुनाले उपचारार्थ अग्रज नेता शर्माको स्वास्थ्य लाभको कामना गरेकी छन् । अचानक स्वास्थ्यमा समस्या देखिएपछि तत्कालिन नेकपा माओवादीका अग्रज शर्मालाई अस्पताल भर्ना गरिएको छ ।

केही दिनदेखि अस्वस्थ भएका शर्मालाई सोमबार साँझ नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो । बर्दिया भुरिगाउँ निवासी ७२ बर्षिय शर्माको आईसियुमा राखेर उपचार भइरहेको उपचारमा संलग्न डाक्टर राजन पाण्डेले बताए । ‘उहाँलाई निमोनिया संक्रमण देखिएको छ,’ डाक्टर पाण्डेले भने, ‘हामीले आईसियूमै राखेर उपचार गरिरहेका छौं ।’

डा.पाण्डेले अहिले उहाँको स्वास्थ्यमा निकै सुधार आइसकेको बताएका छन् । उनकाअनुसार बुधबार पनि आइसीयूमा राखेर औषधि चलाइएको छ । शर्मालाई निमोनिया र दमको समस्या देखिएको चिकित्सक बताउँछन् । डाक्टर पाण्डेकाअनुसार सोमबार र मंगलबारको तुलनामा बुधबार शर्माको स्वास्थ्यमा सुधार आएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार १८:२६