बाँके । नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको सम्पत्ति यकिन गरेर सार्वजनीक गर्ने तयारी गरिएको छ । मन्दिरको सम्पत्ति यकिन गर्ने कार्य अन्तिम चरणमा पुगेको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार एक वर्षदेखि भइरहेको सम्पत्ति खोजी अन्तिममा पुगेकाले छिट्टै सार्वजनिक गर्ने तयारी छ ।
मन्दिरमा सटर निर्माणलाई लिएर भएका विरोध, विवाद र बहसपछि गुठी व्यवस्थापन समिति सम्पत्ति सार्वजनीक गर्ने औपचारिक निर्णयमा पुगेको हो । गुठीलाई जबर्जस्ती विवादित बनाउने काम भइरहेकोले गुठीको सम्पत्तिको वास्तविक अवस्था र आयव्ययसँगै सम्पत्ति विवरण सार्वजनीक गर्ने निर्णयमा पुगिएको गुठीका अध्यक्ष डा.धवलसम्शेर राणाले बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका डा.राणाले गुठी बनाइएपछि दुई वर्षअघि मन्दिरको सम्पत्ति खोजी गर्न उपमहानगरपालिकाका उपप्रमुख समेत रहनुभएकी गुठी व्यवस्थापन समिति सदस्य उमा थापामगरको संयोजकत्वमा अधिकार सम्पन्न छानविन समिति बनाएर काम गरिरहेको बताए ।
एक वर्षअघि देखिको निरन्तर प्रयासमा तीन दिन अघिमात्र मालपोतले श्रेस्ता उपलब्ध गराएको गुठी व्यवस्थापन समितिले जनाएको छ । लामो समयदेखि मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बाहिरिए पनि गुठीले थप सक्रियता बढाएको हो । मालपोत स्रेस्तामा ४० वर्षदेखि बागेश्वरीको सम्पत्तिमा माफियाका आँखा लागेको देखिन्छ ।
संयोजक थापाले आफुले निरन्तर काम गरे पनि ‘मन्दिरको जालो सफा गर्दागर्दै ढिलो भएको’ प्रतिक्रिया दिइन् । ‘हामी सबै विवरण जनतासामु राख्छौं,’ छानविन समितिका संयोजक थापाले भनिन्, ‘हामी अध्ययनकै क्रममा रहेकाले अहिले कुनै पनि कुरा भनिहाल्नु हतारो हुन्छ । तर, बागेश्वरी मन्दिरको जग्गा व्यक्तिका नाममा गरेको तथ्य फेला पारिएको छ ।’
छानविन समितिका समेत सचिव रहेका गुठी व्यवस्थापन समितिका सचिव गोपालप्रसाद अधिकारीले प्रतिवेदन तयार भइरहेको बताउँदै भने, ‘सम्पत्तिको वास्तविक अवस्था, आयव्यय र समितिले गर्न खोजिरहेको भावी योजना सबै सार्वजनिक गर्ने टुङ्गोमा पुगेका छौं । अब छिट्टै सम्पूर्ण विवरण सार्वजनिक गर्नेगरी तयारीमा पुगेका छौं ।’
जिल्लाको साविक इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३०० व्यक्तिले आफ्नो नाममा गराई लालपूर्जासमेत लिइसकेको विषय बाहिर आएको थियो । खोजीका क्रममा बागेश्वरीको इन्द्रपुर ‘क’ अन्तरगत कित्ता नं. २३, २९, ३५, १७, ३७, २८०, १०८ र १५६ को २ बिघा ३ कट्ठा ८ धुर जग्गा गोकर्ण कुर्मीको नाममा गएको तथ्य बाहिरिएको छ ।
इन्द्रपुर–३ ‘क’ अन्तरगत कित्ता नं. ६१२ को १५ कट्ठा ६ धुर जग्गा अब्दुल हसिब सिद्धिकीका नाममा रहेको छ । गोकर्ण र सिद्धिकीले जस्तै अन्य व्यक्तिले पनि मन्दिरको जग्गा ‘रैकर’मा परिणत गरी आफ्नो नाममा गराएको तथ्य बाहिरिएको छ । मालपोत स्रेस्ता अनुसार ४० वर्ष अघिदेखि बागेश्वरीको सम्पत्तिमा माफियाका आँखा लागेको देखिन्छ ।
‘यसबारे सरकारको सम्बद्ध निकायले गम्भीर चासो राखेको छ,’ सचिव अधिकारीले यस बिषयमा मंगलवार मात्रै केन्द्रीय निकायबाट जानकारी मागिएको बताउँदै भने । उनका अनुसार बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिरको दीर्घकालीन पूर्वाधारसहितको गुरुयोजना (माष्टर प्लान) समेत तयार गरिसकेको छ ।
सत्यपाटी - ।