काठमाडौं । सडक निर्माणमा नभएको काम देखाई बढी बजेट निकासा गर्न सघाउने दुई जना इन्जिनियरसहित उपभोक्ता समितिका तीन जना पदाधिकारीमाथि सजायको माग गर्दै विशेष अदालत, काठमाडौंँमा आरोपपत्र दायर गरिएको छ । दुई इन्जिनियरमाथि चार लाख ५६ हजार ४३१ रुपैयाँ बिगो कायम गरी सजायको माग गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले सुर्खेतको सिम्ता गाउँपालिका–२, देउली–सिर्पा–काफलकोट जोड्ने सडकमा अनियमितताको ठहरसहित आरोपपत्र दायर गरिएको जनाएका छन् । आयोगका अनुसार सिम्ता गाउँपालिकामा कार्यरत इन्जिनियर नवीन शर्मा र सबइन्जिनियर शिवशङ्कर पोखरेलले नभएको कामको परिमाण देखाई कार्यसम्पन्न प्रतिवेदन तयार गरेका हुन् ।
उनीहरुले सडक निर्माणमा बदनियतपूर्वक ट्रयाक ओपनिङ्गमा नभएको कामको परिमाण देखाउने तथा बढी मूल्य पर्ने वस्तुमा बढी परिमाण गरेको देखाई कार्य सम्पन्न प्रतिवेदन तयार गरी पेश गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ । गलत प्रतिवेदन पेश गरी ४ लाख ५६ हजार बढी भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । उनीहरु विगो बमोजिम असुल उपर गरी भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबीसहित मुद्दा दायर गरिएको छ ।
उनीहरुले सडक निर्माणको लगत इष्टिमेट र सम्झौता बमोजिम एक हजार १६० मिटरको नयाँ ट्र्याक खनी खोल्नुपर्नेमा ९६० मिटर मात्रै ट्र्याक खोलेर झुटा नापी किताब एवं कार्य सम्पन्न प्रतिवेदन बनाएर बनाएर अनियमितता गरेको आयोगको अनुसन्धानबाट खुलेको हो । उक्त प्रकरणमा उपभोक्ता समितिका अध्यक्ष भुवनसिंह ठकुरी, कोषाध्यक्ष टिगा वली र सचिव नन्दसिंह ठकुरीको प्रत्यक्ष संलग्नता प्रस्ट भएकोले उनीहरूमाथि समेत चार लाख ५६ हजार ४३१ रुपियाँ बिगो कायम गरी सजायको माग गरिएको आयोगले जनाएको छ ।
सत्यपाटी - ।