काठमाडौं । सिंहदरबारभित्रै एक कर्मचारी मृत अवस्थामा भेटिएका छन् । राष्ट्रिय योजना आयोगमा कार्यरत नायव सुब्बा बच्चु केसी कार्यालयमै मृत अवस्थामा भेटिएका हुन् । उनको शवसँगै बिषको बट्टा पनि फेला परेको महानागरीय प्रहरी सुरक्षा गण सिहंदरबारका प्रहरी निरीक्षक दीपक मग्रान्तीले जानकारी दिए ।
‘बिषको बट्टा भेटिएको छ । सँगै केरा पनि भेटिएको छ,’ मग्रान्तीले भने, ‘घटनाको अनुसन्धान सुरु भएको छ । के भएको हो अहिले नै भन्न सकिन्न ।’ उनको शव भेटिएको ठाउँमा सेल्फसका ट्याब्लेट्सहरु भेटिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनी सधैं ढिलोसम्म कार्यालयमै रहने गरेको देखिएको छ ।
त्यसैले उनको मृत्यु हिजो भएको हो या आज बिहान भन्ने समेत यकिन भइसकेको छैन । सेल्फस किटनाशक बिषादी हो जसले ‘मल्टीअर्ग्यान फेलियर’ गराउँछ । नेपाली बजारमा यो क्विकफोस या सेल्फोसका नामबाट निर्वाध रुपमा बिक्रीवितरण हुने गर्छ । दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियामा यो बिषादी प्रयोग गरे आत्महत्या गर्नेको संख्या अधिक भएकाले समस्याका रुपमा लिइन्छ ।
सत्यपाटी - ।