सूचनाको शक्ति - The Power Of Information

        

छाडा पशुचौपाया नियन्त्रण गर्न जिल्ला सभा

बाँके । बाँकेमा छाडा पशुचौपाया व्यवस्थापन र संरक्षणका लागि जिल्ला सभा नै बोलाएर पहल थालिएको छ । जिल्ला समन्वय समिति बाँकेले छाडा पशुचौपाया नियन्त्रण तथा व्यवस्थापनका लागि पहल थाल्न जिल्ला सभा बोलाएको हो । चौथो जिल्ला सभाले छाडा पशुचौपाया नियन्त्रणका लागि रु.सात करोड लागतमा काञ्जी हाउस निर्माण गर्ने निर्णय गरेको छ । बाँकेका आठ वटै स्थानीय तहका प्रमुख÷उपप्रमुखसहितको जिल्ला सभा पशुचौपाया नियन्त्रणमै केन्द्रित भएको थियो ।

सभाले समन्वय समितिको कोषबाट काञ्जी हाउस निर्माणका लागि डिपिआर तयार गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । जिल्ला सभाले स्थानीय प्रशासनसँग समन्वय गरी भारतबाट आउने पशु ब्यवस्थापनका लागि भारतीय पक्षसँग छलफल गर्ने निर्णयसमेत गरेको जिसस संयोजक अजयकुमार श्रीवास्तवले जानकारी दिए । छाडा पशुचौपाया नियन्त्रणका लागि चुनौती भएपछि स्थानीय तहको अनुरोधमा जिल्ला सभा गरिएको समितिका सदस्य चेतबहादुर घर्तीको भनाई छ ।

जिल्ला सभाले बाँके जिल्लालाई ६ महिनाभित्र साक्षरता जिल्ला घोषणा गर्ने, बालविवाह विरुद्ध र कुपोषण नियन्त्रणका लागि जिल्लाभर अभियान सञ्चालन गर्ने लगायतका निर्णयहरु पनि गरेको छ । सभाले समितिको कोषमा जम्मा रहेको आकस्मिक कोषको रु.४८ करोडमध्ये बाँकेका ६ वटा गाउँपालिकालाई रु.चार/चार करोड र उपमहानगरपालिका र नगरपालिकालाई रु.चार करोड ५० लाखका दरले योजनाको सम्पूरक प्रस्तावना माग गर्ने निर्णय गरेको छ ।

यसैबीच, नेपालगन्ज उपमहानगरपालिकाले नगरमा छाडा छोडिएका पशुचौपायाको संरक्षण र व्यवस्थापनका लागि बैंक खाता सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाका लेखा अधिकृत लोकेन्द्र रावतले संरक्षण कोष खडा गरेर बैंकमा खाता सञ्चालनमा ल्याइएको जानकारी दिए । गाई संरक्षण अभियानको नाममा उपमहानगरपालिकाले राष्ट्रिय वाणिज्य बैंकमा खाता नं.४१३०००६५९९०१ सञ्चालनमा ल्याएको र उक्त खातामा पशुचौपायाको ब्यवस्थापन र संरक्षणका लागि सहयोग रकम जम्मा गर्न सकिने उनले जानकारी दिए ।

यसअघि छाडा पशुचौपायाको संरक्षणका लागि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलशम्शेर राणा अध्यक्षतामा ब्यवस्थापन समितिसमेत गठन भइसकेको छ । संरक्षण समितिको उपाध्यक्षमा डा.विनोद कर्ण, सचिवमा समिरमान श्रेष्ठ, कोषाध्यक्षमा श्याम शाक्य र सदस्यहरुमा वडा नं.२१ का अध्यक्ष रञ्जित खाँ, श्रृष्टी गौतम र दीपक लोध रहेका छन् । उपमहानगरपालिकाका कर्मचारी पवन कनौजियालाई समितिको सदस्य सचिव तोकेर काम सुरु गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा राजनीतिक दलका प्रतिनिधि सदस्य रहेको अनूगमन समितिसमेत गठन गरिएको छ । समितिका अध्यक्षसमेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.राणाले राष्ट्रिय जनावर गाई लगायतका छाडा छोडिएका पशुचौपायाको ब्यवस्थापन र संरक्षणका लागि सहयोगका लागि सहयोगीहरुलाई बैंक खातामा रकम जम्मा गरिदिन अनुरोध गरेका छन् । खातामा जम्मा भएको रकम समितिले सहीरुपमा परिचालन गर्ने उनले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलवार ०७:३६