सूचनाको शक्ति - The Power Of Information

        

नदी र सडक बिनाको पक्की पुल !

बाँके । नदी छैन, सडक पनि छैन । नदी र सडक नभएको ठाउँमा पक्की पुल भने बनिसकेको छ । पुलमा न गाडी गुड्छन् त न मानिसको आवतजावत नै हुन्छ । हुलाकी सडक आयोजनाको अभिलेखमा राप्ती नदीमाथि रहेको उल्लेख छ ।

आयोजनाको अभिलेखमा उल्लेख भएजस्तै पुल न राप्ती नदीमाथि छ, न त यो पुल सडकमा नै बनेको छ । रु.चार करोड १२ लाख ९० हजार २२५ को लागतमा बनेको पुल प्रयोगविहिन बनेको छ । पुल निर्माणको काम हचुवाका भरमा सुरु गर्दा प्रयोगमा आउन नसकेको राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष जनकराम थारुले बताए ।

उनले भने, ‘त्यहाँ पुरै बालुवा छ । राप्ती नदीको बगर क्षेत्र पुरै बालुवायुक्त छ । वारपार नै पुल बनाउनका लागि पहिले नै अध्ययन थालिनुपथ्र्यो । हचुवाका भरमा काम सुरु गर्दा सडक विनाको पुल मात्र बन्न पुगेको छ । सडक कार्यालयको सुझबुझ विना हतारको निर्णयले फुर्सदमा समस्या देखिएको हो ।’

वडाध्यक्ष थारुका अनुसार राप्ती नदीमा सञ्चालनमा रहेको अर्को पुलसँगै जोडेर एक किलोमिटर लामो पुल निर्माण भए मात्रै समस्या समाधान हुन्छ, त्यो बाहेक अरु विकल्प छैन । नेपालगन्ज–नरैनापुर हुलाकी सडक खण्डको राप्ती नदी किनार नजिकै बनाइएको ५० मिटर लामो पुल प्रयोगमा नआउँदा सवारी साधनहरु कच्ची बाटो हुँदै आवतजावत गर्दै आएका छन् ।

हुलाकी सडक आयोजना नेपालगन्जका अनुसार सो स्थानमा करिब एक किलोमिटर लामो पुल निर्माण गर्नुपर्ने अवस्था देखिएपछि सडक निर्माण कार्य रोकिएको हो । पुरै बगर क्षेत्रमा पुल निर्माण गर्नुपर्ने भएपछि सडक निर्माणको काम रोकिएको हुलाकी सडक आयोजना नेपालगन्ज कार्यालयका इन्जिनियर रामसागर हरिजनले बताए ।

२०७१ असार २५ मा ठेक्का सम्झौता भएर निर्माण सुरु भएर २०७६ जेठ ३० मा सम्पन्न गरिसक्नुपर्ने पुलको निर्माण कार्य प्रगति ७३ प्रतिशत रहेको आयोजनाले जनाएको छ । उहाँले भने, ‘पहिले बीचमा पुल बनाएर प्रयोग गर्न सकिन्छ की भन्ने थियो । त्यो सम्भव नभएपछि सडक निर्माण रोकिएको हो ।’

अहिले सडक बनाउँदा लगानी खेर जाने भएपछि निर्माण रोकिएको बताउँदै उनले थप एक किलोमिटर क्षेत्रमा पुल निर्माणका लागि अध्ययन भएर डिजाइनको काम भइरहेको जानकारी दिए । बर्खायाममा राप्ती नदीमा बाढी आउँदा आवतजावतमा समस्या हुँदै आएको फत्तेपुरका स्थानीय रामकुमार चौधरीले बताए ।

‘मोटरसाइकल, साइकल र पैदल यात्रुलाई समस्या हुने गरेको छ । बर्खामा राप्ती नदीमा बाढी आएपछि आवतजावत नै ठप्प हुन्छ,’ उनले भने । पुल प्रयोगमा नआउँदा वैकल्पिक सडकबाटै सवारी साधन आवतजावत गर्दै आएका छन् । बर्षायाममा बाढी आइहाल्यो भने आवतजावतमा समस्या हुने गरेको स्थानीयहरुको भनाई छ ।

अझै डुंगाको भर

बाँके राप्तीपारिका धेरै गाउँका मानिसहरु अहिले पनि डुंगाकै भरमा राप्ती नदी वारपार गर्दै आएका छन् । राप्ती नदीको एउटा भंगालो खल्ला झगडिया हुँदै गंगापुरतिर अघि बढेपछि त्यही भंगालो वारपार गर्न राप्तीपारीका आधा दर्जन गाउँका स्थानीयलाई दैनिक डुंगा चढ्नुपर्ने बाध्यता रहेको डुंगा सञ्चालक जगत पालले बताए ।

उनका अनुसार खल्ला झगडिया गाउँभन्दा दुई सय मिटर पर नदी किनारमा वारपारिका लागि डुंगालाई तयारी अवस्था राख्ने गरिन्छ । खल्ला झगडिया, कुडुवा, पिप्रहवा लगायतका आधा दर्जन गाउँका स्थानीयहरु आफ्ना खेतबारी, आफन्त, हाट बजार गर्न डुंगा चढेर जानुपर्ने बाध्यता रहेको पालले बताए ।

भारतीयसँग भाडामा ल्याइएको ठूलो डुंगा सावित मौर्यले ठेक्कामा चलाइरहेका छन् । डुंगाको मासिक भाडा ८ हजार भारतीय रुपैयाँ रहेको छ भने डुंगा चालकलाई मासिक रु.१० हजार दिने गरिएको छ । स्थानीयले डुंगा चढ्नैपर्ने बाध्यता भएकै कारण महंगो मुल्यमा डुंगा भाडामा ल्याएर चलाउनुपरेको मौर्यको भनाई छ । तर घाटा भने नरहेको उनी बताउँछन् ।

डुंगामा एक जनाको एकतर्फ भाडा रु.१० तोकिएको छ । दैनिक करिब रु.६०० सम्म आम्दानी हुने गरेको सञ्चालकको भनाई छ । तर शुक्रबार राम्रो कमाई हुने गरेको छ । सीमावर्ती भारतीय गाउँ जानकीमा हाट बजार लाग्ने र हाट बजारमा राप्तीपारिका होलिया, बेतहनी र फत्तेपुरका धेरै मानिसहरु जाने भएकाले रु.चार हजारसम्म कमाई हुने सञ्चालकको भनाई छ ।

डुंगा सञ्चालक पालले शुक्रबार डुंगा चलाउन भ्याइनभ्याइ हुने बताए । ‘भारतमा लाग्ने हाट बजारमा जानेहरुका कारण शुक्रबार साह्रै भीड हुन्छ,’ पालले भने, ‘शुक्रबारकै कमाईले डुंगा चलाएर खर्च धानिएको छ ।’ सिधनियाघाटमा पुल बने पनि तटीय क्षेत्रका धेरै गाउँका मानिसहरु अहिले पनि डुंगाकै भरमा राप्ती नदी वारपार गर्दै आएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार ०७:३७