
बाँके । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलसम्शेर राणाले सल्यानीबागमा रहेको आधारभूत विद्यालयलाई देशकै उत्कृष्ट र नमूना छात्रा विद्यालयका रुपमा विकास गरिने बताएका छन् । छात्राहरु मात्रै अध्ययनरत विद्यालयको आज स्थलगत निरीक्षणका क्रममा भौतिक पूर्वाधारबारे जानकारी लिँदै प्रमुख डा.राणाले विद्यालयमा उपमहानगरपालिकाले कुनै पनि अभाव हुन नदिने बताए ।

उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा र इन्जिनियर निवेश शर्मासहित पुगेका प्रमुख डा.राणाले विद्यालयका परामर्शदाता किरण आचार्यसँग विभिन्न विषयमा छलफल गरेका थिए । छात्रा विद्यालय बनाउन नेपालगन्ज उपमहानगरपालिकाको सहयोग रहेको छ । विद्यालयमा २४९ बालिका अध्ययनरत रहेका छन् । जसमा अधिकांश मधेसी र मुस्लिम समुदायका बालिका रहेका छन् ।

धम्बोझी माध्यमिक विद्यालयका तत्कालिन प्राचार्य रहेकी परामर्शदाता आचार्यले शिक्षकले समयमै विद्यालयमा पुगेर विद्यार्थी केन्द्रीत सिकाईमा ध्यान दिने हो भने मात्रै पनि शैक्षिक अवस्थामा सुधार आउने बताइन् । कन्या कलेज आगामी शैक्षिक सत्रदेखि सञ्चालन गर्ने तयारी भइरहेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । सो अवसरमा विद्यार्थीहरुले विगतमा भन्दा अहिले पढाईमा धेरै सुधार भएको बताए ।
सत्यपाटी - ।