सूचनाको शक्ति - The Power Of Information

        

बागेश्वरी गुठी व्यवस्थापन समितिले भन्यो, ‘सपिङ कम्लेक्स बनाउने योजना छैन’

बाँके । प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा ‘सपिङ कम्प्लेक्स’ बनाउन लागिएको भन्दै भइरहेको विरोधमा बागेश्वरी गुठी व्यवस्थापन समितिले आधिकारिक धारणा सार्वजनिक गरेको छ । गुठीका सचिव गोपालप्रसाद अधिकारीले प्रेस विज्ञप्ती जारी गरी मन्दिर परिसरमा सपिङ्ग कम्प्लेक्स साविककै संरचना बनाइन लागेको उल्लेख गरेका छन् ।

उक्त ठाउँमा १७ वटा सटरसँगै मूल महन्तको कार्यालय, बिशिष्ट अतिथि कक्ष, सत्संग भवन सहितका संरचना बनाइने योजना रहेको बताइएको छ । ‘मन्दिरको सुरक्षा र गोपनियता कायम हुने गरी मन्दिरको नियमित आन्दानीको स्रोत पनि यथावत राख्न खोजिएको’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बागेश्वरी गुठी व्यवस्थापन समितिले प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई सुविधा सम्पन्न तथा व्यवस्थित गर्न लागेको जनाएको छ । प्रदेश सरकार र विभिन्न धर्मावलम्बीको सहयोगमा मन्दिर परिसरमा नयाँ निर्माण हुने पसल र भवनको माथिल्लो तल्लामा साधुसन्तका लागि धर्मशाला निर्माण गर्न लागेको मन्दिर व्यवस्थापन समितिका सचिव अधिकारीले बताए ।

अव्यवस्थितरुपमा रहेको मन्दिर क्षेत्रको बाहिरी १७ वटा पसल सटरलाई भत्काएर नयाँ बनाउन लागिएको छ । नेपालगन्जको मध्यभागमा रहेको यो मन्दिर आउजाउ गर्ने दुई बाटोमध्ये पश्चिमतर्फको साँघुरो बाटोलाई नयाँ र फराकिलो बनाइँदैछ भने बाटोको दुवै छेउमा ठेला र घुम्ती पसललाई त्यहाँबाट हटाउन लागिएको छ ।

सचिव अधिकारीका अनुसार, मन्दिर क्षेत्रको नियमित सरसफाइदेखि अन्य भौतिक पूर्वाधार निर्माणका लागि पनि समितिले योजना निर्माण गरेको छ । बागेश्वरी मन्दिरमा विशेषतः बाँकेलगायत बर्दिया, दाङ, सुर्खेत, दैलेख र भारतका विभिन्न स्थानबाट भक्तजन दर्शन गर्न आउने गर्दछन् । माता बागेश्वरीको दर्शन गरेमा सबै मनोकामना पूरा हुने विश्वास छ ।

यो मन्दिरमा दशैँको अष्टमी र नवमीका दिन पशु बलि दिने परम्परा पनि रहिआएको छ । सतिदेवीको जिब्रो पतन भएको स्थानमा बागेश्वरी मन्दिर स्थापना भएको हो । ‘माता बागेश्वरीको श्रद्धा, भक्तिपूर्वक पूजा गर्नेको मनोकामना पूरा हुँदै आएको छ,’ मन्दिरका मूल महन्त चन्द्रनाथ योगी बताउँछन् । वागेश्वरी मन्दिरमा विशेष सङ्कल्प गर्ने भक्तजनले तोकिएको समयमा वागेश्वरी माताको खुला दर्शन गर्न पाउने व्यवस्था पनि मन्दिर व्यवस्थापन समितिले गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतवार ०८:४४