सूचनाको शक्ति - The Power Of Information

        

मकै जोन प्रभावकारी, ‘कम लगानी धेरै फाइदा’

बाँके । बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टरमा मकै खेती गरेका थिए ।

हाल ७७ कृषक समूहले ७२२ हेक्टर क्षेत्रफलमा मकै खेती गर्दै आएको परियोजना कर्मचारी यज्ञ रानाले जानकारी दिए । तीन वर्षको अवधिमा परियोजनाको कार्यक्रममा कृषक सहकारी, कृषक उद्यमी, जल उपभोक्ता र कृषक समूहका झण्डै दुई हजारभन्दा बढी कृषक आबद्ध भएका छन् । परियोजना अन्तरगत कृषकलाई आधुनिक उपकरण लगायत प्राविधिक सहयोग गरिँदै आएको छ ।

‘पहिले गरिँदै आएको मकैखेती र अहिले परियोजनाले गरेकोमा धेरै भिन्नता छ, थोरै लगानीमा धेरै फाइदा लिन सकिएको छ,’ डुडुवा गाउँपलिकाका रामप्रसाद यादवले भने । नेपालगन्ज उपमहानगरपालिकाको सात वडा तथा डुडुवा गाउँपालिकाको चार वडालाई परियोजनाभित्र समेटिएको छ । परियोजना कार्यक्रम अन्तरगत जिल्लाका कृषकले हिउँदे र वसन्ते मकैखेती गर्दै आएकामा गत आर्थिक वर्षदेखि बर्खे मकै खेतीका लागि पनि कृषक समूह छनोट गरिएको छ ।

‘बाली, जलवायु र माटोको अनुकूलता तथा कृषकको मागका आधारमा बाँकेलाई मकै जोनका रुपमा छनोट गरिएको हो,’ रानाले भने । बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रम अन्तरगत गत आवसम्म कृषकलाई कीटनाशक औषधि, बीउबिजन र विभिन्न कृषि उपकरणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान सहयोग गरिँदै आएकामा चालू आवदेखि सबै विषयमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ ।

परियोजनाका प्राविधिकले कृषकलाई मकैखेती सम्बन्धी प्राविधिक ज्ञानको तालीम पनि दिँदै आएका छन् । गत वर्षको अनुदान सहयोग अन्तरगत नेपालगन्ज उपमहाननगरपालिका–१५ को विजय नर्सरी फार्म, वडा नं. २२ पुरैनीस्थित मौसमी कृषक समूह र डुडुवा गाउँपालिका–६ बल्दीपुरवाको कृषि सहकारी संस्थालाई करीब रु ७५ लाख बराबरको तीन थान ट्याक्टर, ट्रली, थ्रेसर, रोराबेटर लगायत सामग्री उपलब्ध गराइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मुलुकका सबै जिल्लामा सञ्चालनमा छ । जिल्लाको भूगोल, जलवायु, माटोको अवस्था, कृषक लगायत प्राविधिक पक्षको आँकलन गरी कुन जिल्लामा कुन बाली परियोजना अन्तरगत सिफारिस गर्ने भनेर तय हुने गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार १२:०५