सूचनाको शक्ति - The Power Of Information

        

बागेश्वरीमा किन गरिंदैछ विवाद ?

मुलुककै प्रतिष्ठित शक्तिपीठ, बागेश्वरी मन्दिरमा पश्चिमतर्फको मूल ढोका कहिल्यै खुलेको देखिंदैन । किन होला ? मन्दिरका मूल महन्त, योगी चन्द्रनाथका अनुसार, धार्मिक अनुष्ठानका कतिपय कार्यहरु सडकबाट जथाभावी हेरिनु राम्रो मानिंदैन । ‘सडकसँग खुल्ला सम्पर्क भएकाले यो द्वार कहिल्यै खोलिंदैन,’ मूल महन्त योगीले भने, ‘मन्दिरको सुरक्षा र गोपनियतालाई मध्येनजर यहाँका संरचनाहरु बनाइएका हुन् ।’

महन्त योगीले त्यसो भनिंरहँदा पश्चिमतर्फको बन्द ढोकाबाट एक महिला भक्तजन श्रद्धा प्रकट गर्दै ढोग गर्दै थिइन् भने एक बालिका साँझको दीपावलीका लागि द्वीपमा बत्ती र तेल हाल्दै थिइन् । बागेश्वरी गुठी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलसम्शेर राणाले मन्दिर छेउ ‘सपिङ कम्प्लेक्स’ निर्माणको शिलान्यास गरेको तस्विर सामाजिक सञ्जालमा हालेपछि विहीवार दिनभर त्यसको तिब्र आलोचना भयो ।

त्यसबारे बुझ्दा ‘शिलान्यास’ गरिएको भनिएको खाल्डो छेउ भेटिएका मूल महन्त योगीले सपिङ कम्प्लेक्स बागेश्वरी ताल पारि न्युरोडसँग जोडिएको खाली जग्गामा बन्ने कुरा सुनेको जानकारी दिंदै भने, ‘यहाँ चाहिं सटर र सतुंगल बन्दैछ ।’ दिनभरको चर्चा, बहस र विवादबाट दिक्क उनले धेरै कुरा गर्न नचाहेको व्यवहारबाट प्रष्ट हुन्थ्यो । यद्धपि, मूल महन्त योगीले साविकका सटरले व्यवसायिक मात्र नभइ मन्दिरको सुरक्षा र गोपनियतालाई जोगाएको तर्क गरे ।

बागेश्वरी गुठी व्यवस्थापन समितिले झण्डै एक वर्षदेखि धम्बोझी चोक हुँदै, घरबारीटोल– बागेश्वरी मन्दिर–त्रिवेणी मोड सडक चौडा गर्ने उपमहानगरको योजनामा बाधक नबन्ने निर्णय गर्दै आवश्यक सडक क्षेत्रफल छाड्ने निर्णय गरेको थियो । ‘नगर प्रमुख आफैं अध्यक्ष रहेको समितिले विकासमा बाधक बन्नु पनि त भएन,’ गुठीका उपाध्यक्ष विजयकुमार गुप्ताले भने, ‘त्यसैले सडक विस्तारमा सघाउने र मन्दिरको आयस्रोत पनि बढाउने योजना बनाइयो ।’

गुठीका उपाध्यक्ष गुप्ताले उतिबेला त्यसो भनिरहँदा मुलुककै प्रतिष्ठित शक्तिपीठ बागेश्वरी मन्दिर वर्षाैंदेखिको विद्युत बिल तिर्न कसरत गरिरहेको थियो । ‘१८ लाख रुपैया विद्युत विल तिर्न नसकेर लाइन काटिने अवस्थामा यो योजना बनाइएको हो,’ गुठीका कोषाध्यक्ष दीपक श्रेष्ठ भन्छन्, ‘अहिले एक वर्षपछि आएर अनावश्यक हंगामा गर्ने ?’ निर्माणाधिन परिसरमैं विहीवार साँझ भेटिएका कोषाध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा वास्तविकतानै नबुझेर विवाद उछालिएको भन्दै आक्रोश व्यक्त गरे ।

एकातिर बाटो विस्तारका लागि मन्दिरले ओगटेको आवश्यक क्षेत्रफल दिने निर्णय भइसकेको र अर्काेतिर ‘६० वर्षअघि बनेका पुराना सटर काम नलाग्ने गरि जोखिमपूर्ण अवस्थामा रहेका’ कारण देखाउँदै गुठीले नयाँ सटर बनाइदिने र नयाँ अवस्था अनुसारको भाडा लिने कुरामा त्यहाँ रहेका १६ जना व्यापारीलाई सहमत गरायो । ‘६÷७ सय रुपयाँ भाडामा बसेका व्यापारीसँग १० हजार प्रतिमहिना भाडा लिने गरि सम्झौता गरिएको छ,’ गुठीका अधिकारी भन्छन्, ‘प्रतिसटर २ लाख रुपयाँ अग्रीम पनि उठाइएको छ ।’

९३ लाख ८६ हजार बढी रकममा राप्ती गणेश कन्ट्रक्सनले निर्माण ठेक्का पाएको बागेश्वरी मन्दिर परिसरमा निर्माण गरिने ‘सटर बिल्डिङ निर्माण आयोजना’ २०७७ बैशाख २५ गतेभित्र सकिसक्ने सम्झौता भएको २५ दिनपछि नगरप्रमुख डा. राणाले चुपचाप शिलान्यास गरेका हुन् । मिडियामात्र होइन, मन्दिरका मूल महन्त समेतलाई सुईंको नदिएर शिलान्यास गरेका उनले एउटा गल्ती गरे, सामाजिक सञ्जाल फेसबुकमा ‘सपिङ कम्प्लेक्सको शिलान्यास’ भन्दै आफ्नो तस्विर पोष्ट गरे । किन गल्ती भो ?

‘काम गरें भनेर देखाउनु थियो भने औपचारिक रुपमा मिडियादेखि सरोकारवाला सबैलाई बोलाएर भव्यता दिए हुने, होइन भने सटर विल्डिङलाई सपिङ कम्प्लेक्स भनेर फेसबुकमा राख्न नहुने,’ गुठीका एक सदस्यले भने । वास्तवमा नेपालगन्ज उपमहानगरपालिकाले बागेश्वरी परिसरमैं, न्यूरोडस्थित नगर विकास समितिको जग्गामा बहुतले सपिङ कम्प्लेक्सको योजना अघि सारेको छ । २०७५ फाल्गुन १९ गते बसेको बोर्ड बैठकले आधुनिक सपिङ कम्प्लेक्सको डिपीआर स्वीकृति गर्दै नगर प्रमुख डा. राणाको अध्यक्षतामा ६ सदस्यीय समिति निर्माण गर्यो ।

समितिले गरेको कसरतकै परिणाम, झण्डै ७० करोड लागत अनुमान गरिएको आधुनिक सपिङ कम्प्लेक्सका लागि स्रोत जुटाउने उपाय थालियो । आर्थिक वर्ष २०७६÷०७७ को नगरसभाले आधुनिक सपिङ कम्प्लेक्सका लागि ३० करोड बजेट प्रस्ताव गर्दै नगर विकास कोष (टिडीएफ) सँग ऋण अनुदान प्रस्तावलाई नगरसभाले निकै मिहिनेतपछि स्वीकृत गर्यो । ‘धरैलाई लाग्यो, त्यही सपिङ कम्प्लेक्स मन्दिर छेकिने गरि बनाउन लागियो,’ गुठीका सचिव गोपाल प्रसाद अधिकारीले त्यसबारे चर्चामा जोडिएका सहरी विकास मन्त्री मो.इस्तियाक राईलाई समेत प्रष्ट पारेको जानकारी दिंदै भने, ‘वास्तवमा नयाँ संरचना निर्माण भन्दा भएकै संरचनाको सुधार हो ।’

जनभावना बुझेर खुल्लै छाडिदिए राम्रो नि ! गुठी अध्यक्ष डा.राणाले मन्दिर सञ्चालनको स्रोत बारे कोही चिन्तित नभएको गुनासो गर्दै भने, ‘६० वर्षदेखि व्यवसाय गर्दै आएका १६ जना व्यापारीको विस्थापन कसरी सम्भव छ ?’ अध्यक्ष डा.राणाले त्यसबाट मन्दिरलाई मासिक २ लाखबढी नियमित स्रोत हुने तर्क गर्दै अहिलेलाई १७ वटा सटर निर्माण थालिएको बताए । ‘प्रदेश सरकारले दिने भनेको ५० लाख आयो भने सन्त महन्तहरुका लागि एकतला कक्ष निर्माण गरिनेछ ।’ डा.राणाले यी संरचना निर्माण गर्दा यसअघि खुला रहेको मन्दिरको कुनै पनि जमिनको अतिक्रमण नहुने प्रष्ट पारे ।

सामाजिक सञ्जालमा डा.राणाले सपिङ कम्प्लेक्स निर्माणको शिलान्यास भन्दै पोष्ट गरेको भोलिपल्ट नै काम रोकिदिन माग गर्दै नेपालगन्जका डा.विनोद कर्ण, विवेक श्रेष्ठ, महेश श्रेष्ठ, हेमन्तराज काफ्ले र समीरमान श्रेष्ठले सहरी विकास मन्त्री मो.इस्तियाक राइलाई ‘उजुरी’ गरेका छन् । बिहीबार दिउँसो उजुरीमा तत्काल मन्त्री राईको ‘तोकआदेश’ लागेपछि सहरी विकास मन्त्रालयले गृहमन्त्रालयलाई ‘प्राचीन स्मारक संरक्षण ऐन २०१३, सम्पदा संरक्षण ऐन तथा नगर विकास समिति नेपालगन्जको कार्ययोजना विपरित कार्य रोक्न’ भन्दै पत्राचार गरेको छ । त्यतिमात्र होइन, इद मनाएर फर्किएका मन्त्री राई ‘बागेश्वरी मन्दिरको विवाद साम्य पार्न’ भोलि शनिवार नेपालगन्ज पुग्दैछन् ।

‘मेयर साप, सपिङ कम्प्लेक्स लेखिनु हुन्थेन । सायद यही शब्दले सबैलाई झस्कायो,’ पत्रकार टिएस ठकुरीले आफ्नो धारणा सामाजिक सञ्जालमा व्यक्त गर्दै भनेका छन्, ‘यो त पहिलेकै सटरहरुको पुनर्निर्माण हो भन्ने मलाई लागेको छ । यो त मेयर एक्लैले रातारात निर्णय गराएर हिजो तोडफोड गरेर आज निर्माण गर्न लागेको जस्तो पो बुझाइ भयो । विडम्बना हो हाम्रो सोंच ।’ पत्रकार ठकुरीले भने झैं, ‘खास के हो ? प्रेसमिट गरेर जानकारी दिंदा राम्रो,’ किन भने बागेश्वरी मन्दिर जस्तो एउटा पवित्र धार्मिक शक्तिपीठमा कुनै पनि बहानामा जनभावना विपरितका निर्णय मान्य हुँदैन । अझ त्यही बहानामा राजनीतिक रोटी सेक्नु त अपराधनै हुन्छ ।

 

#नेपालगन्ज न्यूज

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार १०:११