काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्युका विषयमा उनको भिडियो हेरिसकेपछि दुई किसिमका प्रतिक्रिया आइरहेका छन् । पहिलो, भिडियोमा भने जस्तै आत्महत्याका लागि दुरुत्साहन गरिएको । दोस्रो, पुडासैनीलाई परिबन्दमा पारी रवि लामिछाने र उनको टिमलाई फसाउन बक्न लगाई योजनाबद्ध रुपमा हत्या गरिएको भन्ने छ ।
भिडियो हेरिसकेपछि त्यसअनुसार विश्लेषण गर्ने अधिकार सबैलाई छ । सत्य के हो भन्ने प्रहरी अनुसन्धान र त्यसपछि अदालतले गर्ने फैसलाबाट अपेक्षा गर्न सकिएला, तर अहिले अनुमान र विश्लेषण बाहेक अरु केही भन्न सकिन्न । सबैको अपेक्षा के छ भने गहिरो अनुसन्धान गरी सत्य तथ्य छिटो भन्दा छिटो सार्वजनिक गरी जो दोषी हो, त्यसलाई कडा कारवाही होस् ।
पुडासैनीले नाम लिएका व्यक्तिमध्ये राष्ट्रिय टेलिभिजनमा कार्यरत रवि लामिछाने दोषी छन् कि छैनन् भन्नेमा धेरैको चासो छ । जसरी पुडासैनीले लामिछानेलाई केन्द्रमा राखी आफनो हत्यारा भनेका छन्, त्यस अनुसार लामिछानेको कसुर छ वा छैन भन्ने अनुसन्धानले देखाउला तर उनीमाथि ठूलो नैतिक दवाव भने परेको छ । प्रहरीले पुडासैनीबाट आरोपित अस्मिता कार्की रबि लामिछाने र अर्का आरोपी युवराज कँडेल पक्राउ गरिसकेको छ ।
तर, अचम्म के छ भने घटनासगै प्रहरीले भिडियो प्राप्त गरेको हप्ता दिन नाघिसक्दा पनि लामिछाने र कँडेललाई सोधपुछसम्म गरेको थिएन । उनीहरुलाई सोधपुछ गर्नु भनेको दोषी करार गरी जेल कोच्नु होइन । यो पनि अनुसन्धानको एक प्रक्रिया हो । लामिछाने स्वयंले यो मामिलामा प्रहरीलाई सघाउन आफू तयार रहेको पटक–पटक बताइसकेका छन् । तर, प्रहरीले उनीहरुलाई सोध्नसम्म नसक्नु आश्चर्यको विषय भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार यो किसिमका घटनामा यो भन्दा ठूलो अर्को प्रमाण हुँदैन । आत्महत्याका लागि दुरुत्साहन गरेको पुष्टि हुने आधार थुप्रै छन् । यसले आरोपित पत्रकारको संचार लाइसेन्स रद्द हुने देखि लिएर ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । आरोपित व्यक्तिहरुलाई प्रहरीले भिडियोका आधारमा पक्राउ गर्नुपर्छ । यसमा कसैको उजुरी कुरिरहनु पर्दैन । कुनै पनि अपराधको अनुसन्धान गर्नु प्रहरीको कर्तव्य भएकाले प्रहरी आफैं सक्रिय हुनुपर्छ ।
जोसुकै होस् कुनै दवाव र प्रभावमा पर्नुहुँदैन । अर्कोतर्फ लामिछाने र कँडेलले आफूहरुमाथि लगाइएका आरोप प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको सामाजिक संजालमार्फत भनाइ राखेका छन् । यसको अर्थ उनीहरुले पुडासैनीले लगाएका आरोप अस्वीकार गरेका हुन् । पुडासैनीका विगतका भनाइ र व्यवहार हेर्दा पनि उनीहरुबीच तिक्तता देखिदैन । तर, कतिपय कुरा देखिने एउटा तर हुने फरक–फरक पनि हुन्छन् । यो रहस्य उद्घाटन गर्ने काम प्रहरीको हो ।
यसरी पक्राउ परे रवि लामिछानेसहित तीन जना
प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो । यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।
उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो नेपाल आजमा सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो । गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।
आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए । पुडासैनीको सोही भिडियो वयानका आधारमा प्रहरीले न्युज २४ टेलिभिजनमा सीधा कुरा जनतासँग कार्यक्रम सञ्चालक रवि लामिछाने र सोही कार्यक्रममा कार्यरत युवराज कँडेललाई समातेको हो । लामिछाने, कँडेल र कार्की आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका हुन् ।
साउन २२ गते दिउँसो ३ः ३० बजे होटलको २०२ नम्बर कोठामा गएका उनलाई होटलवालाले राति खान खान बोलाउँदा चुकुल नखोलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी मृत भेटिएका थिए । रवि लामिछानेलाई पक्राउ गर्नुअघि प्रहरीले पुडासैनीको भिडियो प्रहरी प्रधान कार्यालयमा मगाएर परीक्षण गरेको थियो । प्रहरीले रवि लामिछानेलाई पक्राउ गर्नुपूर्व विहीबार अपरान्ह एक अस्पतालमा कार्यरत नर्स ओखलढुंगा घर भएकी रुकु भनिने अस्मिता कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएको छ ।
ती नर्सलाई पक्राउ गरिएको नभएर ‘संरक्षण’ गरिएको प्रहरीको भनाइ छ । प्रहरीले नियन्त्रणमा लिनुपूर्व अस्मिताले न्युज २४ लाई अन्तरवार्ता दिन लागेकी थिइन् । एक प्रहरी अधिकृतले भने, ‘अनुसन्धानलाई प्रभाव पार्ने र आफ्नो पक्षमा जनमत सिर्जना गर्ने गरी ती युवतीसँग अन्तरवार्ता लिन खोजेपछि उनलाई संरक्षणमा राखिएको हो ।’ लामिछानेसहित ३ जनाविरुद्ध लागेको आत्महत्यामा दुरुत्साहन दिएको कसूर प्रमाणित भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ । गत वर्ष १ भदौदेखि जारी मुलुकी अपराध संहितामा यो कानूनी व्यवस्था छ ।
हेर्नुस् प्रहरीले जारी गरेको विज्ञप्ति
सत्यपाटी - ।