सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज भन्सारबाट खसीबोका आयातमा ४८ प्रतिशतले कमी

बाँके । नेपालगन्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६९ हजार ३३८ वटा खसीबोका आयात भएका छन् । जुन आव. २०७४/०७५ को तुलनामा ४८ प्रतिशतले कमी हो । आव.२०७४/०७५ मा एक लाख ४४ हजार १७२ वटा खसीबोका भारतबाट आयात भएका थिए ।

सीमा नाका जमुनाहामा रहेको पशु क्वारेन्टाइन चेकपोष्टका अनुसार दोस्रोमा सुंगुर, बंगुर आयात भएको भएको छ । आव.२०७४/०७५ मा आठ हजार ७७१ वटा सुंगुर, बंगुर आयात भएकोमा आव.२०७५/०७६ मा आयात दर घटेर दुई हजार २१ वटा सुंगुर, बंगुर आयात भएको चेकपोष्ट प्रमुख रामसेवक त्रिपाठीले जानकारी दिए ।

त्रिपाठीका अनुसार, गत आवको फागुनसम्म ६९ हजार २४८ वटा खसीबोका, दुई हजार २१ संगुर, बंगुर, एक हजार १३० घोडा, खच्चड र ७१३ गोटा राँगा, भैँसी आयात भएका छन् । ‘काठ्माडौँ, पोखरा लगायतका शहरमा लैजान नेपालगन्ज नाकाबाट खसी बोका आयात हुने गरेको थियो,’ उनले भने ।

भारतबाट आयात हुने पशुचौपाया निरोगी भएको प्रमाण पेश गर्नुपर्ने नियम लागू भएपछि यस नाकाबाट पशुचौपाया आयात हुने क्रम घटेको उनको भनाई छ । आव.२०७४/०७५ मा एक लाख ५४ हजार ९५४ वटा अन्य पशुचौपाया आयात भएकोमा आव.२०७५/०७६ मा ७३ हजार २०२ वटा पशुचौपाया मात्र आयात भएको उनले बताए ।

स्वास्थ्य जाँच गराउन नयाँदिल्ली वा कलकत्ता जानुपर्ने भएपछि भारतबाट पशुचौपाया आयातमा कमी आएको उनको भनाई छ । त्यस्तै आव.२०७४/०७५ मा ७६८ मेट्रिकटन दुध र २४ हजार २२१ मेट्रिकटन खाने माछा आयात भएकोमा आव.२०७५/०७६ मा १७९ मेट्रिकटन दुध र ३३१ मेट्रिकटन माछा आयात भएको चेकपोष्टको तथ्यांकले देखाएको छ ।

‘स्वास्थ्य जाँच गराएर मात्र माछा ल्याउन दिने नियममा कडाई गरिएपछि माछा आयातमा पनि कमी आएको छ,’ त्रिपाठीले भने । खसी लगायत पशुचौपाया आयात गर्ने ब्यापारीले सम्बन्धित देशबाट पशुचौपायाको स्वास्थ्य जाँच गरेको प्रमाणपत्र ल्याउनुपर्ने नियम लागू गरेपछि भारतबाट पशुचौपाया कम आयात हुन थालेको बताए ।

उनले भने, ‘नाफाभन्दा झन्झट धेरै हुने भएपछि पशुचौपाया आयात ह्वात्तै घटेको छ ।’ जुन देशबाट आयात गर्ने हो सोही देशको क्वारेन्टाइनबाट पशु स्वास्थ्य जाँचको प्रमाणपत्र ल्याउनुपर्ने नीति वि.सं. २०५५ सालमा बने पनि पशु क्वारेन्टाइन चेकपोष्टले गत चैतदेखि मात्र यो नियम कडाईका साथ लागू गरेको छ ।

पशु सेवा विभागको निर्देशनमा भारतबाट निकासी हुने पशुको स्वास्थ्य जाँच प्रमाणपत्र अनिवार्य गरेको त्रिपाठीले बताए । ‘आजभन्दा २१ बर्षअघि नै नीति आए पनि हालसम्म कडाई गरिएको थिएन,’ उनले भने, ‘अहिले आएर कडाईका साथ नीति कार्यान्वयन गर्ने आदेश आएपछि सोही बमोजिम हामीले काम गरेका हौँ ।’

चैतदेखि असार मसान्तसम्म ९० वटा खसीबोका बाहेक अन्य कुनै पशुचौपाया आयात नभएको उनले बताए । पशुको स्वास्थ्य जाँच भएको प्रमाणपत्र बुझाउनुपर्ने नियममा कडाई गरिएपछि नेपालगन्ज नाकाबाट पशुचौपाया आयातमा कमी आएको क्वारेन्टाइन प्रमुख त्रिपाठीले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार १२:०४