
प्रकाश मिश्र । कैलाली । राम्रो लगाउने, मीठो खाने अनि अभिभावकसँगै रमाउने समयमा आफ्ना अभिभावक गुमाएर सहाराविहीन भएका बालबालिकाको सहारा कैलालीको अत्तरियामा सञ्चालित सेभ हाउस बनेको छ । गोदावरी नगरपालिका–३ बस्ने जानकी मलासीको पहलमा वडा नं २ अत्तरिया बजारमा सञ्चालनमा रहेको महिला तथा बालबालिका सेभ हाउसले यस्तै बालबालिकालाई संरक्षण दिइरहेको छ ।
पढ्ने, हाँस्ने, खेल्ने उमेरका बालबालिका एक छाक टार्नका लागि होटेलका भाडा माझ्ने, गाडीमा काम गर्ने र अर्काको खेतीबारीमा काम गर्न बाध्य भइरहेका बेला पछिल्लो समय स्थानीयस्तरमा सञ्चालनमा आएका सङ्घ संस्थाले यस्ता बालबालिका तथा महिलालाई सेवा दिइरहेका छन् । विसं २०७३ जेठमा स्थापना भएको सेभ हाउसमा अहिले ३० बालबालिका र पाँच महिला आवासीय रूपमा बस्ने गरेका छन् ।
सेभ हाउसमा रहेका ३० बालबालिकामध्ये २५ जनालाई स्थानीय दुर्गालक्ष्मी विद्यालयले निःशुल्क भर्ना गरेको र उनीहरू नियमित विद्यालय जाने गरेका सेभ हाउसका अध्यक्ष जानकी मलासीले बताइन् । उनले भनिन्, ‘मुठ्ठी दानबाट जेनतेन गरेर बालबच्चालाई खाना खुवाउँदै आएका छौँ, केही पहिलेसम्म सबैको घर दैलोमा पुगेर दाल, चामल, नुन तेल मागेर गुजारा चलाइरहेका थियौं, तर केही महीनायता गोदावरी नगरपालिका–२ ले खाद्यान्न सामग्री उपलब्ध गराइरहेको छ यसले हामीलाई धेरै राहत मिलेको छ ।’
डोटीको केआइ सिंह गाउँपालिकाका १२ वर्षिय बालक सिद्ध पार्कीले आमाबुबाको निधन भएपछि आफू एक्लो हुँदा आफन्तलगायत कहिकतैबाट सहारा नपाएर भौतारिँदै सेभ हाउसमा पुगेको बताउनुभयो । सेभ हाउसमा अहिले बुबाको मृत्यु भएका, आमाको मृत्यु, आमाबुबा दुवै गुमाएका, बुवा बेपत्ता भएका, आमा बुबा विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका, आमाको मृत्यु पछि बुबाले अर्को विवाह गर्दा सौतेनी आमाले बस्न नदिएका लगायतका समस्याबाट पीडित ३० बालबालिका छन् ।
यी सबै बालबालिकाको दिनभरि हेरचाह गर्ने, खाना पकाउने, खुवाउने, सरसफाइ गर्ने र स्कूल पुर्याउनेजस्ता कार्यमा अध्यक्ष जानकीकी छोरी गीता दिनरात नभनी खटिरहन्छन् । सेभ हाउसकी अध्यक्ष जानकीले आफूहरूले थुप्रै चुनौतीका बाबजुत यो संस्था स्थापना गरे पनि अहिले आएर बालबालिका थपिँदै गएका र सञ्चालन गर्न निकै समस्या भइरहेको बताइन् । उनले अनाथ तथा बेसहारा बनेका बालबालिकाको पीडामा मलम लगाउने काममा सबै सहयोगी हातको खाँचो रहेको बताइन् ।
प्रकाश मिश्र - ।