सूचनाको शक्ति - The Power Of Information

        

तीजका गीतमा परिवर्तनका सन्देश

बाँके । तीज आउन अब अझै दुई हप्ता बाँकी छ । यहाँका ग्रामीण बस्तीहरुमा तीजका भाकाहरु भने घन्किन सुरु भइसके । दिनभर काममा व्यस्त हुने महिला दिदीबहिनीहरु साँझ परेपछि एक ठाउँमा भेला भएर तीजका गीतसँगै नाच्ने गर्छन् ।

त्यसो त महिला दिदीबहिनीले कुनैबेला माया पिरती र पारिवारिकरुपमा सासु–ससुरा, आमा–बुवा लगायतलाई व्यङ्ग्य गरिने तीजका गीतहरुलाई परिमार्जित तथा स्थानीय कला संस्कृतिको जर्गेनासँगै सचेनताका गीत गाउन थालेका छन् । बाँकेका ग्रामीण बस्तीमा तीज नजिकिँदै गर्दा यस्तै गीतहरु गुन्जिन थालेका छन् ।

लरक्कै लक्र्यो रातो सारी भुइँमा
भन्देउ न के कम नारी पुरुष दुईमा…

आजभोली जताततै तीजको रमझम भइरहँदा यहाँका गाउँहरुमा शान्ति सुरक्षा, सामाजिक परिवर्तन, लैङ्गिक समानता लगायतका विषयमा केन्द्रित भएर गीतहरु गुञ्जिन थालेका छन् । नेपाली समाजमा अहिले पनि व्याप्त जातिय छुवाछुतप्रति व्यङ्ग्य गर्दै अब जातियरुपमा सबै नेपाली समाज एकजुट भएर जातिय विभेदको अन्त्य गर्नुपर्ने, पुरुष र महिलाबीचको असमानता हटाउनुपर्ने लगायतका सन्देशहरु उनीहरुले गीत गाएरै दिन थालेका छन् ।

अहिले त परिवर्तन भएजस्तो ला’छ
पहिले भन्दा समाजमा समानता आ’छ…

जिल्लाका ग्रामीण क्षेत्रका महिला पहिलेको भन्दा अहिलेको समाज निकै परिवर्तन भएको आफ्नो गीतबाटै प्रस्तुत गर्दछन् । महिलाहरुले जातिय समानताका विरुद्वमा पुरुष र महिलाले हातेमालो गर्दै एकजुट भएर अघि बढेमा मात्र जातिय तथा लैङ्गिक असमानतालाई अन्त्य गर्न सकिने भन्दै सबैलाई एकजुट भएर लाग्न गीतमार्फत आग्रह गरे ।

वातावरण फोहोर भए झाडावान्ता लाग्छ
स्वच्छ राखौँ वातावरण सबै रोग भाग्छ…

केही बर्षअघि मध्य तथा सुदूरपश्चिम क्षेत्रमा फैलिएको झाडापखाला लगायतका सरुवा रोगहरुप्रति व्यङ्ग्य गर्दै घर–आँगनका साथै आफ्नो व्यक्तिगत स्वास्थ्यको ख्याल राख्न सबैलाई आग्रह गछौं, राप्तीसोनारी गाउँपालिका–१ कुसुमकी माया सुनारले बताइन् । छोरा र छोरी दुवैलाई विद्यालय पठाउनुपर्नेमा जोड दिँदै उनले कुलतमा खर्च गर्ने पैसालाई बचत गरेर छोराछोरीको शिक्षादिक्षामा लगानी गर्न आग्रह गरिन् ।

चुरोट सुर्ती खाने पैसा बचत गरौं
त्यै पैसाले बालबच्चा स्कुल पठाउँ…

उनीहरुले सामाजिक रुपमा अहिले पनि छोरा र छोरीप्रतिको हेराई र व्यवहारमा परिवर्तन नआएको भन्दै समाज र राष्ट्र निर्माणमा छोरा जत्तिकै छोरीहरुको पनि जिम्मेवारी रहेकाले शिक्षामा भेदभाव नगर्न गीतमार्फत नै सबैलाई दर्शकहरुलाई आग्रह गरेको राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरकी पवित्रा बिष्टले बताइन् । तीजका अवसरमा हुने विभिन्न तीज मिलन कार्यक्रम या गाउँघरमा महिलाहरु जमघट गरेर नाच्दा होस् माया पिरतीका गीतले कमै सुनिन्छन् ।

महिलाले समाज परिवर्तनका गीतहरु गाउन थालेको बताउँछिन्, राप्तीसोनारी–६ का पदम घर्तीमगर । तीजमा माया पिरतीका गीत गाउन छाडेसँगै यस क्षेत्रका महिलाहरु यस वर्षको तीज ऋण नलिएरै मनाउने तयारीमा छन् । ‘आफ्नो औकात अनुसारको खर्च गर्ने हो । अरुले जे गर्छ त्यही गर्नुपर्छ भन्ने छैन,’ पवित्राले भनिन्, ‘यसपाली ऋण गरेर तीज मनाउने मन छैन ।’ उनी घरमा जेजस्तो खानेकुरा छ त्यही खाने, जे छ त्यही लगाउने निर्णयमा छन् ।

‘ऋण मागेर मिठो खानु, राम्रो लगाउनु, गीत गाउनु, नाच्नु भन्दा यस वर्ष घरमा जे छ त्यहीले तीज मनाउँदै छु,’ सुनिता घर्ती भन्छिन्, ‘एकदिनको रमाइलोका लागि साहुसँग ऋण लिएर वर्षभरी ऋण तिर्ने चिन्ता किन व्यहोर्ने ?’ गतवर्ष सुनिताले तीज मनाउनैका लागि गाउ“कै साहुस“ग ब्याजमा ऋण लिनुभएको थियो । त्यही ऋण तिर्न उनलाई १० महीना लाग्यो । ‘गास काटेर ऋण तिर्नुपरेको थियो,’ सुनिताले विगत कोट्याउँदै भनिन् ।

भदौ १६ गते नेपाली हिन्दु महिलाले तीज रमझमका साथ मनाउने तयारी गरिरहँदा बाँके राप्तीसोनारीका केही महिलाले भने फरक तरिकाले तीज मनाउने तयारी गरिरहेका छन् । उनीहरुले गहना लगाउने पक्षमा छैनन् । नया कपडा पनि पहिरिएर नाच्ने पक्षमा छैनन् । ‘प्रचलित गुन्यौ चोलीमै तीज मनाउने तयारी गरिरहेका छौं,’ राप्तीसोनारी–२ कचनापुरकी माया वलीले भनिन्, ‘तामझामभन्दा पनि नया सन्देश दिने गरी तीज मनाउने तयारी छ ।’

‘रमाईलो गर्नकै लागि गहना र नया“ कपडा लगाउनै पर्छ भन्ने छैन । जोस“ग जे छ त्यसैमा रमाईलो गर्न सकिन्छ ।’

तीज आउन तीन हप्ता बाँकी हुँदै जिल्लाका ग्रामीण क्षेत्रका महिला भने दर खाने भन्दै दिदी बहिनीहरु एकै ठाउँमा जम्मा भएर मिठो मिठो खा“दै नाच्दै रमाइलो गरिरहेका छन् । वलीले भनिन्, ‘रमाईलो गर्नकै लागि गहना र नया“ कपडा लगाउनै पर्छ भन्ने छैन । जोसग जे छ त्यसैमा रमाईलो गर्न सकिन्छ ।’ तर, कोहलपुर नगरपालिकाका र बैजनाथ गाउँपालिकाका केही महिला पनि यो परम्परालाई परिवर्तन गर्ने पक्षमा छन् ।

कोहलपुरकै ३३ वर्षीया सीता सुवेदी पनि सुनिता र मायाले मनाउने जस्तै तीज मनाउने तयारीमा छन् । ‘पहिले त यसरी तीज मनाउने चलन नै थिएन । देखासिकीमा आएको चलनले तीजलाई भड्किलो बनाइरहेको छ,’ उनले भनिन् । ‘मलाई तीजको फाइदाबारे त्यति थाहा छैन । त्यसैले सामान्य तरिकाले तीज मनाउने तयारीमा छु ।’ तीजलाई महिला अधिकारको पर्वको रुपमा पनि लिइन्छ । तर, यहा“का अधिकांश महिलालाई महिला अधिकारबारे थाहा छैन ।

उनीहरूले हरेक वर्ष तीज मनाए पनि आफ्ना अधिकार झल्किने खाले गीत गाउनुको साटो परम्परागत तीज गीत नै रोज्ने गर्दछन् । ‘पढे लेखेको भए अधिकारका कुरा थाहा हुन्थ्यो । श्रीमानले जे भन्छन् त्यही हाम्रो अधिकार हो,’ तीज मनाउने तयारीमा कोहलपुरस्थित एक पसलमा कपडा किन्दै गरेकी सम्शेरगन्जकी डिलमाया रोकामगरले भनिन्, ‘मलाई त गीत पनि गाउन आउ“दैन । अलिअलि नाच्छु मात्रै ।’

‘हुने खानेहरू शरिरभरि सुनका गहना र महङ्गो कपडा लगाएर तीज मनाउ“दा आर्थिक अवस्था कमजोर भएकाहरूले पनि देखासिकी गर्छन्, ऋण खोजेर भए पनि उनीहरूको नक्कल गर्दछन् । जसले गर्दा उनीहरू साहुको ऋणमा डुब्न बाध्य हुन्छन्,’ बैजनाथ गाउँपालिका–१, चिसापानीकी कृष्णा ढकालले भनिन्, ‘तर यस वर्षदेखि नया“ र सन्देशमूलक कामको शुरुवात गर्दै यसलाई निरन्तरता दिन उत्तिकै जरुरी छ ।’

राप्तीसोनारी–९ सम्शेरगन्जकी ३८ वर्षीया दीपा खड्काले आफ्नो श्रीमान्को दिर्घायुका लागि तीजको ब्रत बस्ने गरेको बताइन् । उनले अन्य महिलाले जस्तै सामान्य पहिरनमा तीज मनाउने तयारी गरेको बताइन् । ‘धेरै तडकभडक भएर तीज मनाउ“दा आउने पुस्ताले पनि सिक्छ । अनि, हुने खाने र गरिब महिलाबीच विभेद भएको देखिन्छ । त्यसैले जे छ, त्यसैले नै तीज मनाउनुपर्छ । महङ्गो गहना र कपडा लगाउ“दैमा ठुलो मान्छे भइदैन,’ उनको सुझाव छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार १४:२४

सिफारिस