सूचनाको शक्ति - The Power Of Information

        

रोल्पामा सरकारी गाडी प्रतिबन्ध !

रोल्पा । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति रोल्पाले जिल्लाभर सरकारी सवारी साधन आवतजावतमा प्रतिबन्ध लगाउने भएको छ । केही दिनअघि बसेको पार्टीको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीको मध्यपश्चिम कमान्डको निर्देशन अनुसार जिल्ला पार्टी कमिटीले यस्तो निर्णय गरेको नवनियुक्त जिल्ला सेक्रेटरी मानवले जानकारी दिए । ‘पार्टीको यो निर्णयसँगै अब रोल्पा जिल्लाभर चल्ने सबै सरकारी गाडी आवतजावतमा प्रतिबन्ध लाग्छ,’ सेक्रेटरी मानवले भने ।

पार्टी केन्द्रको निर्देशन अनुसार रोल्पा जिल्लामा पनि शुद्धीकरण अभियान सञ्चालन गरिने भएको छ । शुद्धीकरणको सुरुवात जिल्ला कमिटीबाटै गर्ने भन्दै ३ दर्जन बढी जिल्ला कमिटी सदस्यलाई करिब २ दर्जनमा झारिएको बताएको छ । शुद्धिकरण तल्लो कमिटीसम्म पुग्ने सो पार्टीको अर्का एक नेताले जानकारी दिए ।

जिल्ला ईन्चार्ज जयप्रकाश रोका केही महिनाअघि पक्राउ परी पुर्पक्षका लागि जेल चलान भएपछि उनको ठाउँमा सन्तोष सुवेदी प्रयासलाई जिम्मा दिएको बताइएको छ । नवनियुक्त जिल्ला ईन्चार्ज प्रयास सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता झक्कुप्रसाद सुवेदीका छोरा हुन् । यसैगरी, पार्टीले जिल्ला सेक्रेटरीमा मानवलाई जिम्मेवारी दिएको बताइएको छ ।

सो पार्टीको निवर्तमान जिल्ला इन्चार्ज जयप्रकाश रोका प्रतापसहित जिल्ला कमिटीका करिब १ दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । हाल सो पार्टीका जिल्लास्तरीय ५ नेता हिरासत र ५ नेता जेल चलान भएका छन् । हिरासत र जेलमा विप्लव समूहका नेतासँग पारिवारिक भेटघाटमा रोक लगाएको आफन्तहरूले गुनासो गरेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार ०७:०८