सूचनाको शक्ति - The Power Of Information

        

छाडा पशुचौपाया संरक्षण गर्न समिति गठन

बाँके । नेपालगन्जमा छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम बढेपछि तिनीहरुको संरक्षण र व्यवस्थापनका लागि समिति गठन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा आज भएको सर्वपक्षीय बैठकले उपमहानगरपालिकाका प्रमुख डा.धवलसम्शेर राणा अध्यक्षतामा समिति गठन गरिएको हो ।

छाडा छाडिएका गाईलगायत अन्य पशुचौपायाको संरक्षण र व्यवस्थापनका लागि गठन गरिएको समितिको उपाध्यक्षमा डा.विनोद कर्ण, सचिवमा समिरमान श्रेष्ठ, कोषाध्यक्षमा श्याम शाक्य र सदस्यमा वडा नं. २१ का अध्यक्ष रञ्जित खाँ, श्रृष्टी गौतम र दीपक लोध रहेका छन् भने समितिको सदस्य सचिवमा उपमहानगरपालिकाका कर्मचारी पवन कनौजियालाई तोकिएको छ ।

बैठकले उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा राजनीतिक दलका प्रतिनिधि सदस्य रहेको अनुगमन समितिसमेत गठन गरेको छ । बैठकमा उपमहानगरपालिकाका प्रमुख डा.राणाले नेपालगन्जमा छाडा छाडिएका पशुचौपाया विकराल समस्याको रुपमा रहेको भन्दै अल्पकालिनसँगै दीर्घकालिन समाधानको खोजी भइरहेको बताए ।

गाई संरक्षणसँगै अन्य पशुचौपायाको व्यवस्थापनका लागि उपमहानगरले नयाँ रणनीति तयार गर्ने बताउँदै मेयर डा.राणाले भने, ‘संरक्षणका लागि कोष सञ्चालन गरेर अघि बढ्नेछौं । यसबाट संरक्षण र व्यवस्थापनमा थप सहयोग पुग्नेछ ।’ बैठकमा नेकपाका नगर अध्यक्ष डिल्ली बराल, नेपाली काँग्रेसका नगर सभापति प्रशान्त विष्ट, राप्रपाका मनोज श्रेष्ठ लगायतले छाडा पशुचौपायाको दर्ता प्रक्रिया (ट्यागिङ)को ब्यवस्थापन गर्न सुझाव दिएका थिए ।

उपप्रमुख उमा थापा मगरले नेपालगन्जमा हाल निर्माणाधिन गौशाला नभई काञ्जी हाउस भएको बताउँदै गौशालाका लागि नेपालगन्जमा स्थान अभाव रहेको बताइन् । छाडा पशुचौपायाको ब्यवस्थापनमा सबै पक्षबीच हातेमालो हुन जरुरी रहेको उनको भनाई छ । नेपालगन्जको काञ्जी हाउसमा रहेका साढे, गाई, घोडा, बाच्छा–बाच्छी लगायतलाई अलग–अलग राख्ने, टिनका टहरा थप गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १७:३२