सूचनाको शक्ति - The Power Of Information

        

बढ्दै अपराध, परिवारकै सदस्यबाट बढी खतरा

प्रकाश मिश्र । कैलाली । केही वर्षयता कैलालीमा अपराधिक घटना बढ्दै गएका छन् । त्यसमा पनि घरपरिवारका सदस्यबाट हुने अपराधका घटनामा वृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ । एक वर्षको अवधिमा अंशबण्डा, मादक पदार्थ सेवन र रिसको आवेगमा आएर आफ्नै परिवारका सदस्यको हत्या गर्ने क्रम बढेको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

साउन १२ गते राति कैलालीको गोदावरी नगरपालिका–५, बरबट्टामा छोराले चिर्पटले हानेर बुबाको हत्या गरे । अंशवण्डाको विवादमा ३० वर्षीय रामबहादुर कुमालले चिर्पटले हान्दा ६० वर्षीय बुबा अमरसिंह कुमालको मृत्यु भयो । साउन ६ गते घोडाघोडी नगरपालिका–११ सिसैयाका ५५ वर्षीय उदय राउतले धारिलो हतियार प्रहारबाट आफ्नै बाबुआमाको हत्या गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

उनले धारिलो हतियार प्रहारबाट ७५ वर्षीय बुबा कल्चे राउत र आमा नन्दा राउतको हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरेर उनले आमाबुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतले बताए । गत मंसिर ३१ गते लम्की चुहा नगरपालिकाको बलियामा जहरलाल चौधरीले ६० वर्षीय बुबा पल्टु थारू र ५० वर्षीय काका छनक थारूको हत्या गरे । उनले अंशवण्डामा कुरा नमिल्दा हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्यो ।

गत असोज ६ गते टीकापुर नगरपालिका–कालीमाटीमा बुबाले छोराको हत्या गरेका छन् । ८३ वर्षीय पहले लुहारले धारिलो हतियार प्रयोग गरी आफ्नै ५२ वर्षीय छोरा कृते लुहारको हत्या गरे । गत कात्तिक १७ गते गोदावरी नगरपालिका–७ लालपुरकी ३९ वर्षीया हिरादेवी नागरीको उनकै श्रीमान् विजय नागारीले हत्या गरे । गत भदौ २९ गते गोदावरी नगरपालिका–१० दमौराकी तुलसी फुलौरा भट्टको उनकै श्रीमान् प्रशान्त भट्टले हत्या गरे ।

गौरीगङ्गा नगरपालिका–६ की निर्मला साउदलाई उनकै श्रीमान् लालबहादुर साउदले हत्या गरे । माया प्रेम, भागबन्डा, मदिरा सेवन तथा रिसको आगेवमा कैलालीमा एक वर्षको अवधिमा आफ्नै जन्मदिने आमा–बुबा तथा श्रीमानले श्रीमती र श्रीमतीले श्रीमानको गरी नौ जनाको हत्या भएको कैलालीका प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । यस अवधिमा कर्तव्य ज्यान, बलात्कार, तस्करी र चोरी–डकैतीसम्बन्धी अपराध बढ्दै गएको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा जिल्ला प्रहरी कार्यालयमा २० कर्तव्य ज्यानसम्बन्धी, तीन ज्यान मार्ने उद्योग, ४८ विष खाएर मृत्यु र ११६ ले झुन्डिएर आत्महत्या गरेको प्रहरी तथ्यांकमा उल्लेख छ । यी अपराधका घटना आव २०७४/०७५ मा बढेका छन् । यो समयमा १२ कर्तव्य ज्यानसम्बन्धी, ११ ज्यान मार्ने उद्योग, ७३ विष खाएर मृत्यु र १२८ ले झुन्डिएर आत्महत्या गरेका छन् ।

आव २०७५/०७६ मा अपराधका घटना अझ बढेको तथ्यांकले देखाएको छ । यो अवधिमा १६ कर्तव्य ज्यानसम्बन्धी, ३० ज्यान मार्ने उद्योग, ४८ विष खाएर मृत्यु र १५० ले झुन्डिएर आत्महत्या र आठ जनाले आत्महत्या दुरुत्साहन गरेको कैलाली प्रहरीले जनाएको छ । यसबाहेक आव २०७३/०७४ मा १४८, सार्वजजनिक कसुरसम्बन्धी, चार मानव बेचबिखन तथा ओसारपसार, नौ बहुविवाह, ६२ सवारी ज्यानसम्बन्धी घटना भएका छन् ।

आव २०७४/०७५ मा २९४ सार्वजजनिक कसुरसम्बन्धी, नौ मानव बेचबिखन तथा ओसारपसार, १७ बहुविवाह, ६४ सवारी ज्यानसम्बन्धीका घटना रहेका छन् । यस्तै आव २०७५/०७६ मा ३६६ सार्वजनिक कसुरसम्बन्धी, १७ मानव बेचबिखन तथा ओसारपसार, २३ बहुविवाह, ६१ सवारी ज्यानसम्बन्धीका घटना रहेको कैलाली प्रहरीले जनाएको छ ।

शृंखलाबद्ध चोरीका घटना

केही वर्षयता कैलालीमा शृंखलाबद्धरूपमा चोरीका घटना बढेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलालीमा उच्च सुरक्षाका बीच पनि चोरीका घटना बढ्दै गएपछि कैलाली प्रहरीलाई चुनौती थपिएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीमा शृंखलाबद्ध चोरीका घटना बढ्दै गएपछि सर्वसाधारण त्रसित बनेका छन् । प्रदेश राजधानीमै फितलो सुरक्षा व्यवस्थाका कारण चोरी हुने क्रम बढेको स्थानीयवासीको आरोप छ ।

गत वैशाखदेखि असारसम्म मात्रै कैलालीमा ६० चोरीका घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । आव २०७३/०७४ मा १८ चोरीका घटना घटेकामा चार सवारी चोरी भएकामा आव २०७४/०७५ मा २६ चोरीका घटना घटेका छन् । यस्तै आव २०७५/०७६ मा ९६ चोरीका घटना घटेकामा सात सवारी चोरीका रहेका छन् । प्रहरी तथ्यांकलाई हेर्ने हो भने चोरीका घटना पनि वर्षेनी बढ्दै गइरहेका छन् ।

बलात्कारका घटना बढ्दै

कैलालीमा बलात्कारका घटना पनि शृंखलाबद्धरूपमा बढ्दै गएका छन् । पछिल्लो केही वर्षयता बलात्कारका घटनासम्बन्धी उजुरी बढ्न थालको कैलाली प्रहरीले जनाएको छ । पछिल्लो तीन वर्षयता कैलालीमा बुबाबाटै छोरीसम्म बलात्कृत हुन पुगेकी छन् । यो अवधिका सामूहिक बलात्कार र बलात्कारको प्रयासका घटना बढेको कैलाली प्रहरीले जनाएको छ ।

कैलाली प्रहरीका अनुसार आव २०७३/०७४ मा ३० बलात्कार र आठ बलात्कार प्रयासका मुद्दा दर्ता भएकामा आव २०७४/०७५ मा ४१ बलात्कार र २५ बलात्कारको प्रयाससम्बन्धी मुद्दा परेका छन् । बलात्कारका घटना बढ्दै भइरहेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा ८२ बलात्कार र ३७ बलात्कारको प्रयाससम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएका छन् ।

लागुऔषध मुख्य चुनौती

पछिल्लो समय बढिरेका अपराधका घटना न्यूनीकरण गर्न लागुऔषध मुख्य चुनौती रहेको प्रहरीले बताएको छ । यो कुरा पछिल्लो समय लागुऔषध प्रयोग तथा ओसारपसारको अखडा बन्दै जानुले पनि पुष्टि गरेको प्रहरीको दाबी छ । खुला सिमाना र सहज उपलब्धताका कारण दिन प्रतिदिन प्रयोगकर्ताको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ । लागुऔषधकै कारण कैलालीमा जघन्य अपराध भइरहेको छ ।

लागुऔषध प्रयोगकर्ता नै हत्या, हिंसा, बलात्कार, चोरी–डकैतीजस्ता क्रियाकलापमा संलग्न हुने गरेको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले बताए । पछिल्लो समय लागुऔषध प्रयोग तथा ओसारपसारमा महिलाको संग्लग्नता बढ्दै गइरहेको कैलाली प्रहरी प्रमुख गिरीले दाबी गरे । लागुऔषधको दलदलमा फसेका युवतीले नै देहव्यापारदेखि अन्य किसिमका अपराधका घटना बढाउने गरेको उनको भनाइ छ ।

यसको नियन्त्रणका लागि सुरक्षा रणनीति मजबुत बनाइएको उनको दाबी छ । आव २०७४/०७५ मा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएका ७१ लागुऔषध सम्बन्धी मुद्दामा १०८ जनालाई प्रक्राउ गरिएकामा आव २०७५/०७६ मा दर्ता भएका ८७ मुद्दामा ११७ लाई पक्राउ गरिएको कैलाली प्रहरी प्रमुख गिरीले बताए । चालू आव २०७६/०७७ को साउन १३ गतेसम्म लागुऔषध सम्बन्धी परेका पाँच मुद्दामा पाँच जनालाई पक्राउ गरेको उनले जानकारी दिए । रासस

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १४:५३