सूचनाको शक्ति - The Power Of Information

        

प्रजातान्त्रिक विचार समाज बाँकेको अध्यक्षमा सुवेदी निर्वाचित

बाँके । प्रजातान्त्रिक विचार समाज बाँकेको आजसम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । प्रजातन्त्रवादी वुद्धिजीवीको उपस्थितीमा सम्पन्न अधिवेशनले डा.राजकुमार सुवेदीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती निर्विरोध चयन गरेको हो । प्रजातान्त्रिक विचार धाराका प्राध्यापक, शिक्षक, वकील, चिकित्सक, इन्जिनियर र पत्रकार समाजको सदस्य बन्न सक्ने प्रावधान अनुसार कार्यसमिति गठन गरिएको हो ।

समाजको उपाध्यक्षमा दोर्णबहादुर वली, सचिवमा चित्रबहादुर शाही, सहसचिवमा निवेश शर्मा र कोषाध्यक्षमा अमृता केसी रहेका छन् । यस्तै सदस्यहरुमा मोहनजंग शाह, शुक्रऋषि चौलागाई, संकेतकुमार शर्मा, अवनिन्द्रदत्त मिश्रा, टेकेन्द्र महतरा, नुतन पौडेल, पारस खडका, मो.अयूव सिद्दीकी, डिल्लीकमल शर्मा, दिलबहादुर केसी (प्रियास्मृति) रहेका छन् ।

यस्तै सल्लाहकारहरुमा सनतकुमार रेग्मी, डा.राजेश केशर खनाल, जयनारायण शाह, विरेन्द्र यादव, इश्वरीप्रसाद ज्ञवाली, गणेशकुमार रेग्मी, प्रह्लादबहादुर कार्की र जयसिंह केसी रहेका छन् । यसअघि अधिवेशको उद्घाटन गर्दै समाजका अध्यक्ष डा.केदार नरसिंह केसीले प्रजातान्त्रिक विचारलाई प्रभावकारीरुपमा प्रवाह गरेर लोकतन्त्रलाई संस्थागत गर्नु नै मुख्य समाजको ध्येय हुनुपर्ने बताए ।

नेपाली काँगे्रस बाँके पार्टी सभापति किरण कोइरालाले पार्टीलाई दिशानिर्देश गर्ने शक्तिको खाँचो रहेको औल्याउँदै सहकार्यको प्रतिवद्धता व्यक्त गरिन् । प्रदेश ५ संयोजक शंकर दिवस मजगैयाले विचारको सशक्तीकरण विना कुनै पनि संगठन प्रभावकारी सञ्चालन हुन नसक्ने भएकाले विचार नै प्राथमिकता हुनुपर्ने बताए । साहित्यकार सनतकुमार रेग्मीले अध्ययन गर्ने परिपाटी हराउँदै गएको भन्दै काँगे्रस नेतृत्व र कार्यकर्ताले आफुलाई रुपान्तरण गर्न जरुरी रहेको बताए ।

उदघाटन समारोहमा नेपालगन्ज मेडिकल कलेजका निर्देशक एवं चिकीत्सक संघ भेरीका पूर्व अध्यक्ष डा.सुरेश कनोडिया, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य दोर्ण वली, प्रजातान्त्रिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई अध्यक्ष डा.राजेश केशर खनाल, नेपाल इन्जिनियरिङ एशोसिएसनका केन्द्रीय सदस्य पारस खडका, डीएलए बाँकेका अध्यक्ष इश्वरीप्रसाद ज्ञवाली, नेपाल पे्रस यूनियन बाँकेका सचिव अर्जुन वली, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष विरेन्द्र यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार १८:३३