सूचनाको शक्ति - The Power Of Information

        

एक बर्षमा १४ हजारले गुमाए अकालमै ज्यान

काठमाडौँ । बर्सेनि नेपालमा हजारौँको संख्यामा मानिसले अकालमै ज्यान गुमाउने गरेका छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालभर १३ हजार ९७५ जनाले अकालमै ज्यान गुमाएका थिए । यसमा रोग लागेर मृत्यु हुनेको संख्या समावेश छैन ।

तथ्यांकअनुसार सबैभन्दा बढी आत्महत्या गर्नेछन् । पाँच हजार ७५४ जनाले गत आर्थिक वर्षमा आत्महत्या गरेका थिए । ४३५ जनाको भवितव्यले ज्यान गएको थियो । यसमा बाढी पहिरो, लडेर, डुबेर, करेन्ट लागेर, शर्पले डसेरलगायत कारणले मृत्यु हुने पर्छन् ।

यसैगरि कारण स्पष्ट नभएका र शव वेवारिसे अवस्थामा भेटिनेको संख्या एक हजार २४३ रहेको छ । गत आर्थिक वर्षमा देशभर ६५९ जनाको हत्या भएको थियो । २ हजार २८४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ मा देशभर १३ हजार ७९ जनाले अकालमै ज्यान गुमाएका थिए । जसमा पाँच हजार ३१७ जनाले आत्महत्या गरेका थिए । ३ हजार ८६९ जनाको भवितव्यले ज्यान गएको थियो ।

दुई हजार १६७ जनाले सडकरसवारी दुर्घटनामा ज्यान गुमाएका थिए । ६२८ जनाको हत्या भएको थियो । यसैगरि कारण स्पष्ट नभएका र शव वेवारिसे अवस्थामा भेटिनेको संख्या एक हजार ९८ रहेको थियो ।

यसैगरि आर्थिक वर्ष २०७३/०७४ मा १२ हजार ३६८ जनाले अकालमा ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पाँच हजार १२४ जनाले आत्महत्या गरेका थिए । ६१६ जनाको हत्या भएको थियो ।

२ हजार ४४ जनाले सडक तथा सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । ३ हजार ६०७ जनाको भवितव्यले मृत्यु भएको थियो । यसैगरि कारण स्पष्ट नभएका र शव वेवारिसे अवस्थामा भेटिनेको संख्या ९७७ रहेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतवार १७:३२