सूचनाको शक्ति - The Power Of Information

        

मन्त्री राइले गरे नेपालगन्जमा १० हजार विरुवा रोप्ने अभियानको शुभारम्भ

बाँके । नेपालको सबैभन्दा बढी गर्मी हुने नेपालगन्जमा दश हजार विरुवा रोप्ने अभियान सुरु भएको छ । अभियानको शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले गुलमोहरको विरुवा रोपेर अभियानको आज शुभारम्भ गरेका छन् ।

नेपाल भारत सीमाना नजिक जमुनाहा चोकमा आज अभियानको शुभारम्भ गर्दै मन्त्री राईले दुई महिनाभित्र नेपालगन्ज उपमहानगरभित्र दश हजार ठुला विरुवा रोप्ने बताए । नेपालगन्ज उपमहानगरपालिका र सबै वडा कार्यालयहरुले बिरुवाको संरक्षण र हेरचाह गर्ने प्रतिवद्धता जनाएपछि वृक्षारोपण अभियान शुरु गरिएको उनको भनाई छ ।

दुई महीनाभित्र उपमहानगरका सबै स्थानमा विरुवा रोपिसक्ने योजना रहेको शहरी विकास मन्त्री राईले बताए । उपमहानगरले हेरचाह गर्ने भएकाले सरंक्षणमा कुनै समस्या नहुने उनको भनाई छ । नेपालगन्जमा बिरुवा रोप्ने अभियानमा प्रधानमन्त्री र वनमन्त्रीको पूर्ण सहयोग रहेको र सोही अनुसार प्रधानमन्त्रीबाट निर्देशन भएको उनले बताए ।

दुई महिनाअघि नेपालगन्जमा १० हजार विरुवा रोप्ने घोषणा गर्नुभएका मन्त्री राइले शहरीकरणका क्रममा हरिया रुख काटिँदै जाँदा गर्मी अत्याधिक बढ्दै गएकोले विरुवा रोप्ने योजना तय गरिएको जानकारी दिए । अभियानको पहिलो चरणअन्तरगत आज उपमहानगरका विभिन्न स्थानमा करिब २०० विरुवाहरु रोपिएका छन् ।

आज नेपालगन्जको वडा नं. १, १२ र १८ मा बिरुवाहरु रोपिएको र अभियान निरन्तर सञ्चालन हुने नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशमसेर राणाले जानकारी दिए । वृक्षारोपण अभियानलाई उपमहानगरले पूर्ण सहयोग गरिरहेको र विरुवाको संरक्षण गरेर शहरलाई हरियाली बनाउने मेयर डा.राणाले प्रतिवद्धता जनाएका छन् ।

देशकै सबैभन्दा धेरै गर्मी हुने सहरका रुपमा रहेको नेपालगन्जमा हरियो रुख विरुवा नहुँदा गर्मी अत्याधिक हुने गरेको ठहर गर्दै त्यसको एउटा विकल्पका रुपमा सहरमा पहिलो चरणमा १० हजार रुखका विरुवा रोपिन थालिएको हो । बिरुवा लगाउँदा ठुलो हुन समय लाग्ने भएकाले ठुला विरुवालाई उच्च प्रविधिको प्रयोग गरेर वृक्षारोपण शुरु गरिएको हो ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतवार १६:५२