बाँके । अन्नको भण्डारका रुपमा चिनिने बाँके र बर्दियामा यसबर्ष धान रोपाइँ समयमै सकिएको छ । असार लाग्दै धान रोपाई सुरु गरेका बाँके र बर्दियाका किसानहरुले मध्य साउनमै रोपाइँ सकिसकेका छन् । बाँके र बर्दियामा ८६ हजार ७५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
केन्द्रका अनुसार २० वर्षको तथ्यांकलाई आधार मान्दा यसबर्ष छिटो धान रोपाइँ सकिएको छ । समयमै मनसुन सुरु भएका कारण किसानहरुले छिटो धान रोपाइँ सकेको केन्द्रका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले जानकारी दिए । उनका अनुसार बर्दियामा असार पहिलो हप्ता र बाँकेमा असारको १० गतेदेखि धान रोपाइँ सुरु भएको थियो ।
समय समयमै मनसुन सुरु भएका कारण राखेको व्याड छिट्टै हुर्किएकाले रोपाई पनि समयमै सकिएको हो । बाँके र बर्दियामा सिचाइँको समस्या हुने भएकाले अधिकांश किसानले छिटो फल्ने मोटो जातका धानहरु लगाउँदै आएका छन् । धान पाक्ने बेलासम्म मनसुनले साथ दिएमा यस बर्ष बाँके र बर्दियामा पाँच प्रतिशनसम्म धन उत्पादन बढ्ने केन्द्रले जनाएको छ ।
‘खासगरी धानले बाला फाल्ने बेला र पाक्ने बेलामा मनसुनले साथ दिनुपर्छ,’ कृषि विकास अधिकृत ढकालले भने, ‘अहिलेकै अवस्थामा मनसुनले साथ दिनुपर्छ । बाँके र बर्दियामा धान उत्पादन विगतको तुलनामा बढ्ने अनुमान गरेका छौं ।’ उनले सुरुवातमै धानमा देखिन सक्ने रोगको प्रकोप तथा अन्य समस्याप्रति सतर्कता अपनाउन किसानलाई आग्रह गरे ।
केन्द्रका अनुसार गतबर्ष बाँकेमा एक लाख ४६ हजार मेट्रिकटन र बर्दियामा दुई लाख २१ हजार १०० मेट्रिकटन गरी तीन लाख ६७ हजार १०० मेट्रिकटन धान उत्पादन भएको थियो । मनसुनले साथ दिएमा यसबर्ष गत बर्षको तुलनामा १० देखि १५ हजार मेट्रिकटन धान उत्पादनमका वृद्धि हुने कृषि विकास अधिकृत ढकालले जानकारी दिए ।
उनका अनुसार बाँके र बर्दियामा सबैभन्दा धेरै राधा–४ जातको धान रोपिएको छ । त्यस्तै सावित्री, मकवानपुर, सावाँ मन्सुली, सुख्खा–३, हाइव्रिड जातका छिटो पाक्ने धानहरु लगाउने गरिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार बाँके र बर्दियाको धात उत्पादकत्व क्रमशः चार मेट्रिकटन प्रतिहेक्टर र चार दशमलब चार मेट्रिकटन प्रतिहेक्टर रहेको छ ।
सत्यपाटी - ।