सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ‘आमा गुमाएका चेलीको सञ्जाल’

बाँके । आमा नभएका छोरीहरुलाई आवश्यक सहयोग गर्ने सोंचका साथ बाँकेमा ‘आमा गुमाएका चेलीको सञ्जाल’ गठन गरिएको छ । प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी ‘नमुना’को नेतृत्वमा सञ्जाल गठन गरिएको हो ।

आमा गुमाएका छोरीहरु संगठीत भएको सम्भवतः नेपालमै पहिलो हो । आमाको सम्मानमा सामाजिक गतिविधि सञ्चालन गर्दै आमाको सम्झना गरिरहने निष्कर्षसहित प्रदेश सांसद ‘नमुना’को नेतृत्वमा आमा गुमाएका छोरीहरुको सञ्जाल गठन गरिएको छ ।

समितिमा उपाध्यक्ष किरण आचार्य, सचिव सावित्री गिरी, सहसचिव बिजया धिताल, कोषाध्यक्षमा तारा खत्री रहनुभएको छ । त्यस्तै सदस्यहरुमा लता शर्मा, जयन्ती खत्री, नारायणी रुपाखेती, अक्षरी पोखरेल, गणेशा कार्की, मिना मल्ल पुन, सरस्वती मल्ल, मैमुना सिद्दिकी, रेखा गुप्ता र गिता राना रहेको सचिव गिरीले जानकारी दिइन् ।

आमाको स्वर्गवास भएपछि दुई वर्षदेखि छट्पटिएकी कृष्णा केसी ‘नमुना’ले सञ्जाल गठनपछि ठुलो राहत महसुस भएको बताइन् । उनले भनिन्, ‘आमाको सम्मानमा एउटा कोष स्थापाना गरेर आफुजस्तै आमा नभएका छोरीहरुको साथमा सामाजिक काम गर्ने सोंचले दुई वर्षपछि साकार रुप पाएको छ ।’

आफ्नै नेतृत्वमा सामाजिक संस्थाको परिकल्पना गरिएपछि नमुनाले भनिन्, ‘यसले आमा नभएका छोरीहरुलाई आवश्यक सहयोग गर्ने सोंच बनाएको छ ।’ आमा स्वर्गवास भएको पहिलो वार्षिक पुण्यतिथिमा भावविव्ह्ल सञ्चारकर्मी सावित्री गिरी र उनीजस्तै आमा गुमाएका १५ जनाले नमुनालाई साथ दिएका छन् ।

‘आमा बुुवा गुुमाएका टुुहुुरा बालबालिकालाई शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने, हिंसापीडित महिलालाई सहयोग गर्ने, सामाजिक सचेतना फैलाउने बिषयमा निर्णय भएको छ,’ सचिव गिरीले भनिन् । देशभर रहेका आमा गुुमाएका छोरीहरुको भावना समेटिएको संस्करण पुुस्तक प्रकाशन गर्ने योजना रहेको सचिव गिरीले सुनाइन् ।

उनले भनिन्, ‘आमा औंशी र तीजजस्ता चाडमा आमाको अभाव हुने भएकाले आमा नभएका चेलीहरु भेला भएर आमाको श्रद्वाञ्जली गर्नुका साथै आमाको बारेमा रचना र भनाई सुुन्ने सुुनाउने काम गर्नेछ ।’ यसले आमा नभएका चेलीहरुका पीडालाई बिर्साउने कोषिस हुने सचिव गिरीले बताइन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतवार १५:१८