सूचनाको शक्ति - The Power Of Information

        

‘बाँकेबाट फरार, काठमाडौंमा सेल्टर’

सरकारी जग्गा नामसारी प्रकरण

बाँके । सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने एउटा गिरोह सोमबार काठमाडौंमा पक्राउ पर्यो । उनीहरुविरुद्ध अपरेशन चलाएको बाँके प्रहरीले फरार रहेका सात जनालाई राजधानी काठमाडौं पुगेर पक्राउ गर्यो । पक्राउ परेका अभियुक्तलाई नेपालगन्ज ल्याएर अदालतमा उपस्थितसमेत गराइसकेको छ ।

‘उनीहरु प्रहरीबाट जोगिंदै अनुसन्धानमा नआएर सोझै अदालत जान खोजेका थिए । त्यो योजना सफल नहुँदै प्रहरीले पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेको छ,’ बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक बीरबहादुर वलीले जानकारी दिँदै भने, ‘विशेष सूचनाका आधारमा काठमाडौंमै पुगेर फरार अभियुक्तहरुलाई पक्राउ गरेका छौं ।’

प्रहरी उपरीक्षक वलीका अनुसार अभियुक्तहरु दुई महीनादेखि काठमाडौंमा सेल्टर बनाएर बसेको बताउँदै भने, ‘हामीलाई सेल्टर बनाएको सूचना प्राप्त भएपछि सातै जनालाई एकै पटक कसरी पक्राउ गर्ने भन्ने योजना बनाएर निरन्तर जानकारी लिइरहेका थियौं । गत सोमबार मात्रै पक्राउ गर्न सफल भएका छौं । उनीहरुलाई मंलगबार नै नेपालगन्ज ल्याएर अदालतमा उपस्थित गराइसकेका छौं ।’

पक्राउ पर्नेहरुमा प्रमूख मालपोत अधिकृत दिर्घबहादुर पोखरेलसहित शाखा अधिकृत कृष्णप्रसाद ज्ञवाली, मालपोत अधिकृत हेमराज शर्मा, नायब सुब्बा रविन्द्रबहादुर थापा र कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय र अन्तराम चौधरी रहेका छन् । उनीहरु लामो समयदेखि काठमाडौंमा सेल्टर बनाएर बसेको सूचना प्राप्त भएपछि सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने मालपोतका सात जना कर्मचारीलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक वलीले बताए ।

बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँको सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा पु¥याउने तत्कालीन प्रमुख मालपोत अधिकारी पोखरेलसहित २८ जनाविरूद्ध अख्तियारले जेठ ३० गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले बाँकेका सरकारी र सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउँदा रु.२ करोड १६ लाख र बर्दियाका जग्गा व्यक्तिका नाममा पुर्याउँदा रु.२ करोड ३० लाख भ्रष्टाचार भएको दावी गरेको छ ।

यसअघि मालपोत कार्यालय बाँकेका कर्मचारीहरुको मिलेमतोमा सरकारी जग्गा निजी नाममा गर्दै हत्याउन सक्रिय रहेको भन्दै पक्राउ परेका १९ जनामध्ये १६ जनालाई थुनामा राख्न बाँके जिल्ला अदालतले आदेश गरेको थियो । सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सघाउने सरकारी कर्मचारीहरुसमेत गरी १९ जनालाई बाँके प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । पक्राउ पर्ने दुई जना हत्या तथा अपहरण मुद्दामा परेका छन् ।

जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलासले हत्या तथा अपहरण सम्बन्धी मुद्दामा दुई जनालाई र सरकारी कागज किर्ते सम्बन्धी मुद्दामा १४ जनालाई थुनछेकको आदेश गरेको हो । तीमध्ये बाँकी ३ जनालाई जनही रु.एक/एक लाख धरौटीमा छाड्ने आदेश अदालतबाट भएको थियो । सरकारी कागज किर्ते अन्तरगत मुद्दा चलाइएका प्रेमबहादुर चन्द, सञ्जयकुमार ठाकुर र तुलसीरानी थारु जनही रु.१ लाख धरौटीमा छुटेका थिए ।

उक्त मुद्दामा अनुसन्धान भइरहेको भन्दै अख्तियारले तीनै जनालाई अदालतबाटै माग गरी झिकाएको थियो । मालपोत कार्यालय बाँकेका अधिकृत पुष्पा श्रेष्ठसहित बाँके, बर्दियाका १७ जना मालपोत कर्मचारी प्रहरी अनुसन्धानको दायरामा छन् । बाँके प्रहरीले जुनेदकी श्रीमतिलाई घटनास्थल पुर्याउँदा भारतीय प्रहरीले दाहसंस्कार गरी पहिचानका लागि राखेको कपडाका आधारमा जुनेद नै भएको खुलेको थियो ।

प्रहरीका अनुसार, नेपालगन्ज–३ का कोशल भन्ने फैरुल हसन अन्सारी र उनका अर्का साझेदार सज्जन सैय्यदलाई हत्यामा संलग्नताको आशंकामा पक्राउ गरी मुद्दा चलाइएको हो । अन्सारीले आफ्ना साझेदार भारतीय नागरिक जुनेद अन्सारीको हत्या गरेको अभियोग छ । अन्सारी बेपत्ता भएपछि जयसपुरस्थित उनकी नेपाली पत्नीले खोजीका लागि उजुरी दिएपछि सरकारी जग्गा व्यक्तिका नाममा पु¥याउनेदेखि जग्गा विवादमै हत्या भएको प्रकरण बाहिर आएको हो ।

त्यसअघि प्रहरीले अनुसन्धानका क्रममा जुनेद र फैरुल हसन बीच सरकारी जग्गा व्यक्तिका नाममा गर्न भइरहेका प्रयासहरुबारे तथ्य संकलन गरिसकेको थियो । ‘फैरुलले आफ्ना मृतक बाबुका नाममा सिक्टा सिंचाईको जग्गा नामसारी गरिसकेको खुलेको छ,’ बाँके प्रहरीले भनेको छ, ‘पहिले मृतक बाबुको नाममा र पछि आमाको नाममा नामसारी गर्न खोज्दा विवाद उत्पन्न भएको देखिन्छ ।’

मालपोतका कर्मचारीसँग मिलेर कारोबारीले बाँकेमा एउटा र बर्दियामा एउटा सरकारी जग्गा व्यक्तिका नाममा पास गरिसकेको देखिएको छ भने एउटा जग्गा पास गर्ने चरणमा पुगेका थिए । बर्दियाको नेउलापुरस्थित ६ विगाह जग्गा पनि व्यक्तिका नाममा गर्न प्रक्रिया निकै अघि बढिसकेको तथ्य प्रहरी हात पारिसकेको छ । सोही मुद्दामा बर्दियाका मालपोत कार्यालय प्रमुखसहितका कर्मचारीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका कर्मचारीहरुले नक्कली छाप र हस्ताक्षर प्रयोग गरेर बाँकेको नेपालगन्जस्थित सिक्टा सिँचाई आयोजनाको ५ कठ्ठा १६ धुर, हनुमान गौशालाको ५ कठ्ठा १३ धुर र बर्दियास्थित भुरिगाउँको १४ बिगाहा जमिन व्यक्तिको नाममा गराएका थिए । ढड्डामा सरकारी जग्गाको श्रेष्तासमेत फेला परेपछि प्रहरीले सरकारी कागज किर्तेमा संलग्न कर्मचारीलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक वलीले बताए ।

यता, सरकारी जग्गा व्यक्तिको नाममा किर्ते गरेको अभियोगमा कर्मचारी पक्राउ गरेपछि मालपोत कार्यालयको कामकाज प्रभावित भएको छ । चैत ४ गतेदेखि सुरु भएको कर्मचारी पक्राउको सिलसिला अझै जारी रहेको छ । कर्मचारीको अभाव भएपछि एकैदिनमा हुनुपर्ने काम चार÷पाँच दिनसम्म लाग्ने गरेको सेवाग्राहीहरुले बताएका छन् । कार्यालय प्रमुख प्रेम दौल्यालले कर्मचारी अभाव सबैभन्दा ठूलो समस्या भएको बताए ।

कर्मचारी अभाव भएपछि परेको समस्याबारे विभागमा जानकारी गराइसकेको जनाएको छ । पाँच जना शाखा अधिकृतको दरबन्दी रहेको मालपोत कार्यालयमा पछिल्लो समय कार्यालय प्रमुख दौल्यालले तोक, सनाखत प्रमाणीकरणदेखि लिएर मुद्दा फाँटसम्म एक्लैले हेर्नुपरेको बताए । नामसारीका लागि आउने सेवाग्राहीहरुले काम नभएर फर्किन बाध्य भएको बताँउदै सेवालाई प्रभावकारी बनाउन आग्रहसमेत गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार २०:०८