सूचनाको शक्ति - The Power Of Information

        

सरकारी कार्यालयका ‘गुनासो पेटिका’मा माकुराको ‘जालो’ र बारुलाको ‘घर’

बाँके । सरकारले व्यवस्था गरेको ‘गुनासो पेटिका’ प्रयोगविहीन भएका छन् । प्रायजसो सबै सरकारी कार्यालयहरुमा सुझाव, गुनासो, वा उजुरीका लागि राखिँदै आएका पेटिका प्रयोगविहीन भएका हुन् । केही वर्ष पहिलेसम्म सुझाब तथा गुनासो पेटिकामा गुनासोहरु भरिएका पत्र भेटिने गरेकोमा पछिल्लो समय सुझाव पेटिका खोले पनि केहि नहुँदा पेटिकासमेत खोल्न छाडिएका छ ।

कतिपय सरकारी कार्यालयमा राखिएका ति पेटिकाहरु वर्षौसम्म पनि खोलेको पाइँदैन । कति पेटिकामा माकुराको जालो र बारुलाका ‘घर’लगाएको भेटिने गरेको छ । सरकारी कार्यालयका अधिकारीसम्म प्रत्यक्ष सम्बन्ध तथा पहुँच नभएका सर्वसाधारणलाई कार्यालय तथा अधिकारीसंग सम्बन्धित गुनासो, समस्या, सुझाब सजिलो तरिकाले राख्नका लागि ब्यवस्थापन गरिएका यस्ता पेटिका अहिले आएर प्रयोगविहीन बन्दै गएका हुन् ।

नागरिकको बढि चाप र प्रशासनिक काम हुने जिल्ला प्रशासन कार्यालयको नयाँ बनेको भवनमा पनि पुरानो शैलीबाट उजुरी लिने सुझाव पेटिका राखिएको छ । तर, त्यहाँ सुझाव तथा गुनासो आएको छैन । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले भने, ‘सेवाग्राहीहरुको कार्यालय र कुनै कर्मचारीसँग सम्बन्धित गुनासो भए सिधै प्रजिअ तथा सहायक प्रजिअ कहाँ आउने भएकाले होला, पेटिकामा गुनासो दिन छाडिएको छ ।’

सूचना प्रविधीको प्रयोग हुन थालेकाले पनि गुनासो तथा सुझाव पेटिकामा गुनासो आउन छाडेको हुनसक्ने बाँके प्रशासनका सूचना अधिकारी समेत रहेका अर्यालको भनाई छ । सरकारी कार्यालयहरुमा कार्यालयको कामकारवाही, कर्मचारीको व्यवहार, भ्रष्टाचार, ढिलासुस्ती लगायतको विषयमा सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहजताको लागि गुनासो पेटिका राखिएको हो ।

जिल्लामा सबैभन्दा बढी सेवाग्राही हुने र कामको ढिलासुस्तीका बहानामा ‘नजराना’ लिने गरिएको गुनासो आउने मालपोत तथा भुमिसुधार कार्यालयको पेटिकासमेत खाली छ । ‘कसैले कुनै गुनासो तथा समस्या भए सिधै कार्यालय प्रमुखसँग पुगेर गुनासो पुर्याइने गरिएको छ,’ मालपोत तथा भुमिसुधार कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले भने, ‘अब त सामाजिक सञ्जालमार्फत गुनासो पोख्ने र विरोध गर्ने प्रचलन आइसकेको छ ।’

जिल्ला प्रशासन कार्यालय मात्रै होइन नागरिकको चाप बढि हुने मालपोत, आन्तरिक राजश्व कार्यालय, यातायात व्यवस्था कार्यालय लगायतमा कतै पनि उजुरी र गुनासो पेटिकामा नखसेको सम्बन्धित कार्यालयका अधिकारीहरु बताउँछन् । कति कार्यालयहरुमा पेटिका राखेपछि एक पटक पनि खोलिएको पाइँदैन । कसैले हालेको थाहा पाए खोल्ने गरिएको भए पनि गुनासो तथा सुझाव आउन छाडेपछि पेटिका खोल्नै छाडिएको छ ।

‘खोल्न छाडेपछि धेरै कार्यालयमा राखिएको पेटिकाको चाबीसमेत कहाँ छ भन्ने कार्यालयका कर्मचारी थाहा नै हुँदैन,’ एक कार्यालय प्रमुखले भने । नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले कार्यालयको पेटिकामा गत आर्थिक वर्षमा एउटा मात्र गुनासो प्राप्त भएको जानकारी दिए । ‘पछिल्लो समय नागरिकमा सचेतना बढेको र कर्मचारीसम्म पहुँच बढेकाले गुनासो तथा सुझावहरु पेटिकामा पर्नै छाडेको छ,’ पौडेलको तर्क छ ।

सरकारी कार्यालयहरुले नागरिक बडापत्र तथा अन्य सबै प्रगति विवरण वेवसाइटमा राख्ने गरेका छन् । कार्यालय प्रमुखलाई भेटेर वा फोन गरेर गुनासो र उजुरी गर्ने हुँदा पनि उजुरी पेटिकाको प्रयोग हराउँदै गएको सम्बद्ध अधिकारीको भनाई छ । गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले सरकारी कार्यालयमा राखिएका पेटिकामा सुझाव वा गुनासो हाल्दा सुनुवाइ नहुने भएकाले उपयोगविहीन भएको बताए ।

गुनासो तथा सुझाब पेटिका राखिनु राम्रो प्रावधान भए पनि सेवाग्राहीलाई त्यसको महत्वका बारेमा जानकारी गराउन नसक्दा पेटिका प्रयोगविहीन बन्दै गएको उनको भनाई छ । उनले भने, ‘यसको प्रभावकारिताका विषयमा जानकारी गराउन नसक्दा र कार्यालयहरुले उचित प्रयोग गर्न नसक्दा पेटिकाको महत्व घट्दै गएको देखिन्छ,’ शाहले भने ।

सरकारी कार्यालयमा राखिएका गुनासो तथा सुझाब पेटिकाको प्रयोग नहुनु र नागरिकहरुले पेटिकाप्रति विश्वास गर्न छोड्नुको कारण र त्यसको महत्वका बारेमा आमनागरिकलाई जानकारी गराउन र प्रयागमा ल्याउन सार्वजनिक निकायको ध्यान जान जरुरी रहेको शाहले बताए । सुनुवाईको भरपर्दो र प्रभावकारी वैकल्पिक संयन्त्र तयार नभएसम्म पेटिकाको प्रभावकारिताबारे आम नागरिकलाई जानकारी दिनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार १७:३२