सूचनाको शक्ति - The Power Of Information

        

नक्कली नोट छाप्ने मेसिनसहित चारजना पक्राउ

फाइल तस्वीर

कैलाली । कैलालीमा नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेका चार जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलबाट १७ गते उनिहरुलाई पक्राउ गरिएको हो । प्रहरीले पछिल्लो पटक नक्कली नोट छाप्ने गिरोहका चारजना र यसअघि पक्राउ परेका तीन जनासहित सात जनालाई शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका–१ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खगे्रन्द्र रजवार, चुरे–१ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षे पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–६ का २५ वर्षीय गोकुल खड्का रहेका छन् । उनीहरुमध्ये तीनजनालाई फरक फरक मितिमा धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक सुदिप गिरीले बताए ।

उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान ब्रोदर कम्पनीको मेसिन, नोट छाप्न प्रयोग भएको २२० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोटसमेत बरामद गरिएको छ । उनीहरुबाट छापेर काट्न बाँकी रहेको नेपाली ५०० दरको ९८ नोट, ५०० कै भारतीय ८६ नोट, भारतीय ५०० दरको पछाडीको भाग छापिएको चार वटा नोट बरामद गरिएको छ । यस्तै माथिल्लो अगाडिको भाग मात्र छापिएको ३० नोट, पछाडिको भाग मात्र छापिएको पाँच सयकै ८ नोट, ५०० कै तल्लो पछाडिको भाग छापिएको १२ नोट बरामद गरिएको प्रहरी उपरीक्षक गिरीले बताए ।

यसका साथै एक हजारका ६८ नोटसमेत बरामद गरिएको उनले बताए । यस्तै, विभिन्न हिसाबकिताब लेखिएको डायरी, स्टिलको कैची, एक थान स्केल, एक थान मोवाइल र रेडियो सञ्चार एफएम गढी बैतडी लेखिएको एक थान स्ट्रयाम्प छाप पनि बरामद गरिएको छ । पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार १०:५८