सूचनाको शक्ति - The Power Of Information

        

कश्मीरका विषयमा पाकिस्तानी प्रधानमन्त्रीले भने, ‘हिन्दुस्तानमा आक्रमण गर्ने त ?’

इस्लामावाद । भारतको नरेन्द्र मोदी सरकारले धारा ३७० मार्फत जम्मु–कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा हटाएर केन्द्रशासित प्रदेश बनाएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले तीखा प्रश्नको सामना गर्नुपरेको छ । जम्मु–कश्मीरमा भारतीय नेतृत्वको निर्णयलाई मद्देनजर गर्दै भविष्यको रणनीति तय गर्नका लागि पाकिस्तानको संसदमा मंगलवार संयुक्त सत्र डाकिएको थियो । संसदमा खानले कश्मीरका विषयमा उठेका प्रश्नको जवाफ दिँदा झर्कोफर्को गरे । संसदमा विपक्षका नेता शाहबाज शरीफका प्रश्नको उत्तर दिने क्रममा इमरान रिसाए ।

उनले विपक्षीसँग सल्लाह माग्दै भने, ‘तपाईं नै भन्नुस्, कश्मीरमा भारतीय कारवाहीको जवाफमा सरकारले कस्तो कदम चाल्नुपर्छ ? मैले कुन कदम चालेको छैन र ? हाम्रो परराष्ट्र मन्त्रालयले तमाम देशका राजदूतसँग बैठक गरिरहेका छन् । अन्तर्राष्ट्रिय मञ्चमा सहायता मागिरहेको छु । शरीफले नै भनून्, मैले थप के गरूँ ?’ इमरानले थपे, ‘हामीले संयुक्त राष्ट्रसंघलाई वर्षौंदेखि गुहार लगाइरहेका छौं । इस्लामिक सहयोग संगठनसँग पनि कुरा गरिसक्यौं । मैले के गरेको छैन र विपक्षीले यसरी घेरेको हो ? अब हामीले हिन्दुस्तानमा आक्रमण गर्ने त ?’

युद्धको चेतावनी दिँदै इमरानले भने, ‘पारम्परिक युद्ध भएमा कि हामी जित्छौं, कि हार्छौं । हामी हार्यौ भने हात जोडेर ल हार्यौ भन्नुपर्ने हुन्छ । नत्र टीपु सुल्तानले जस्तो रगतको अन्तिम थोपा रहुन्जेलसम्म लडिरहनुपर्छ । त्यस्तो स्थिति आयो भने कसैले पनि जित्दैन, सबै हार्छन् । त्यसको असर संसारभरि पर्नेछ । मैले आणविक युद्धको धम्की दिएको हैन । सामान्य सुझबुझका लागि अपील गरेको हुँ । राम्रो होस् भन्ने आश गर्नुस् तर खराब परिस्थितिका लागि पनि तयार भएर बस्नुस् ।’ एजेन्सी

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार ०९:०४