सूचनाको शक्ति - The Power Of Information

        

मध्यरातमा आगलागी हुँदा फर्निचर पसल खरानी, ठूलो विनास टर्‍यो (भिडियोसहित)

बाँके । नेपालगन्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा बिहीबार मध्यरातमा आगलागी भएको छ । गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् । राती ११ बजेबाट शुरु भएको आगलागी राती २ बजेतिर नियन्त्रणमा आएको थियो ।

प्रत्यक्षदर्शी सरोजकुमार चन्दका अनुसार नेपालगन्जका दुईवटा र कोहलपुरको एउटा नेपालगन्ज विमानस्थलमा रहेको एउटा गरी चार वटा दमकललाई आगलागी नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । ‘फर्निचर पसलहरु रहेकाले आगो नियन्त्रणमा आउन गाह्रो भएको थियो,’ प्रत्यक्षदर्शी चन्दले भने । चार वटा दमकलसहित प्रहरीले करिब तीन घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो ।

आगालागीबाट करिब रु.७ देखि १० करोडको क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ, तर क्षतिको एकीन विवरण भने अध्ययनपछि मात्रै आउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक बीरबहादुर वलीले जानकारी दिए । ‘दर्जनबढि फर्निचर पसल जलेका छन्, अध्ययन नगरेरै वास्तविक क्षति कति भएको छ भन्ने थाहा हुँदैन, हामीले अहिले अनुमान मात्रै गरेका छौं,’ प्रहरी उपरीक्षक वलीले भने ।

फर्निचर पसलमा आगलागी भएपछि बीपी चोक नजिकै घना बस्तीका बीचमा रहेको पेट्रोल पम्पमा आगलागी हुनबाट भने जोगाइएको छ । ‘पेट्रोल पम्पमा आलागी भएको भए नेपालगन्जमा ठूलो विनास निम्तिने थियो,’ प्रहरी उपरीक्षक वलीले भने ‘पम्पमा आगलागी हुन नदिन हामीले गरेको निरन्तर प्रयास सफल भयो । यसबाट पेट्रोल पम्पका साथै घना बस्ती ठूलो जोखिमबाट बचेको छ । हामीले ठूलो विनासलाई टारेका छौं ।’

यसअघि मंगलबार नेपालगन्ज–२ घरबारी टोलमा रहेका दुई कपडा पसलमा आगजनी हुँदा करिब रु.दुई करोड बढीको क्षति भएको छ । आगलागीबाट प्रेरणा फेन्सी स्टोर र बडिमालिका अर्डर एण्ड सप्लायर्समा रहेका सबै सामान जलेर नष्ट भएका छन् । बडिमालिकाबाट शुरु भएको आगो छेउमा रहेको प्रेरणा फेन्सी स्टोरमा सल्किएको थियो । आगलागीपछि दमकल र सुरक्षाकर्मीले आगलागी नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार ०६:२२