सूचनाको शक्ति - The Power Of Information

        

दुषित पानी पिउन बाध्य चैनपुरबासी

सत्यराज सिंह । बझाङ । बझाङको सदरमुकाम चैनपुरलाई वितरण गरिएको खानेपानी ट्यांकीमा बर्खा लाग्यो कि भल पस्ने गर्छ । बर्सेनि बर्खाको समयमा पटकपटक यस्तै भल पस्छ र पानी धमिलो बन्छ । यो समस्या प्रत्येक वर्ष दोहोरिए पनि खानेपानीको उचित व्यवस्था नहुँदा बर्सेनि धमिलो पानी पिउनुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन् ।

अरू विकल्प नभएका कारण धमिलो पानी नै पिउनुपर्ने बाध्यता रहेको चैनपुरकी स्थानीय बसन्तीदेवी बोहराले बताइन् । धमिलो पानी पाइपबाट आउने गरेको गुनासो गर्दै उनले भनिन्, ‘पाइपबाट जस्तो पानी आयो, त्यस्तै पानी पिउनुपर्ने बाध्यता छ ।’ शुद्ध पिउने पानी खान पाउनु आफूहरूको नैसर्गिक अधिकार भए पनि कहिलेकाहीँ मात्रै पानी आउने गरेकाले दुषित पानी भए पनि खानुपर्ने बाध्यता रहेको कोठा भाडामा बस्दै आएका शिवम रोकायाले गुनासो गरे ।

यहाँका अधिकांश स्थानीयहरुको साझा समस्या हो । पर्याप्त मात्रामा चैनपुर खानेपानी उपभोक्ता समितिले नियमितरूपमा पानी नदिँदा खोला र सेती नदीको धमिलो फोहोर पानी पिउनुपर्ने बाध्यता त छँदैछ । आफूहरूले अधिकांश दिन बाउली खोलाको दिसापिसाब बगेको देख्दादेख्दै समेत सोही पानी पिउनुपर्ने बाध्यता रहेको छ । एक स्थानीयले दुखेसो पोखिन् । यस विषयमा सरोकारवाला निकायको ध्यान जान नसकेको उनको गुनासो छ ।

यस्तै, वर्षौदेखि नै आफूहरूले अहिलेसम्म पाइपको पानी नपिएको बादी समुदायको भनाइ छ । उनीहरूका लागि न चैनपुर खानेपानीले उपभोक्ता समितिले, न त सरोकारवाला व्यक्तिले नै खानेपानीका बारेमा चासो दिएका छन् । हिउँद–बर्खा नै आफूहरूले बाउली खोला र सेती नदीको फोहोर पानी पिउदै आएको उनीहरूले बताए । जसका कारण हिउँदभन्दा बर्खाको समयमा झाडा पखाला लाग्ने, आउँ हैजा, टाइटफाइट लगायतका रोगको सिकार आफूहरू र आफ्ना छोराछोरीले हुनुपरेको राधादेवी बादीले बताइन् ।

उनले भनिन्, ‘खानेपानी उपलब्ध गराइदिन भन्दै पटकपटक जयपृथ्वी नगरपालिका, चैनपुर खानेपानी उपभोक्ता समिति लगायतका ठाउँमा धाइसक्यौं तर कसैले पनि चासो दिँदैनन् । ‘हुने खाने त फिल्टर, प्युस राखेर शुद्ध बनाएर पिउछन्, एकछाक खानाको जोहो गर्न नसक्ने हामीहरूले त आँखै अघि दिसापिसाब बगेको देख्दादेख्दै पनि खोलाको पानी पिउनु परेको छ,’ राधादेवीले भनिन्, ‘अहिले त बानी नै बसिसक्यो, भाँडोमा भरेर ल्याएको पानीमा बालुवा पनि उत्तिकै आइरहेको हुन्छ, अरू कसिंगरको त कुरा नगरौं भनिसाध्य नै छैन ।’

जिल्ला अस्पतालका कार्यालय प्रमुख सन्दिप ओखेडाले सदरमुकाम चैनपुरमा बसोबास गर्ने अन्य समुदायभन्दा बढीजस्तो झाडापखाला, आउँ हैजाजस्ता रोगको शिकार बादी समुदायका बालबालिका भएको बताउनुभयो । उनीहरूले शुद्ध पानी पिउन नपाएकै कारण बालबालिकामा झाडापखाला चल्ने लगायतका लक्षण बेलाबखत देखिने गरेको छ । चैनपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष बिष्टले विर्या खोलामा रहेको इन्टेक माथिबाट पहिरो आएको र पहिरोसँगै आएको भल इन्टेकमा पसेका कारण धमिलो पानी आएको बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार ०७:४५