सूचनाको शक्ति - The Power Of Information

        

फेरियो खजुरा, भेटिदैनन् हिलाम्ये र धुलाम्ये सडक, स्थानीय उत्साहित

बाँके । बाँके जिल्लामा नमूना गाउँपालिकाको रुपमा विकसित खजुरा गाउँपालिकाले विकासमा फड्को मारेको छ । वर्षातमा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने अवस्थाका सडक अब खजुरा गाउँपालिकामा भेटिदैनन् । गाउँपालिकाभित्रका सडक कालोपत्रे, पिसिसी र ग्राभेल गर्ने कार्यसँगै खजुरा गाउँपालिकाको मुहार नै फेरिएको छ । गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको यतिबेला स्तरोन्नति गर्ने काम भइरहेको छ ।

हिलाम्ये र धुलाम्ये हुने गाउँपालिकाका सबै वडामा अहिले धमाधम सडक र नाली निर्माणको काम चलिरहेको छ । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकाभित्रका मुख्य र सहायक सबै सडक र नाला पक्की गर्ने कार्य सम्पन्न भएसँगै खजुरा गाउँपालिकाकौ मुहार फेरिएर जिल्लामै नमूना बन्ने बताए । उनका अनुसार गाउँपालिकाले आर्व २०७६÷०७७ मा गाउँपालिकाभित्रका मुख्य र सहायक सडकमा नाला पुनःनिर्माण र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।

गाउँपालिकावासीले सडक क्षेत्रमा निर्माण भएका पर्खाल, घर लगायतका संरचनाहरुलाई तोडेर सडक सहयोग गरेपछि काम गर्न सहज भएको उनको भनाइ छ । गाउँपालिकाको विकास योजनामा गाउँपालिकावासी र राजनीतिक दल सबैबाट सहयोग र समन्वय भइरहेको उनले जानकारी दिए । खजुरा बजार क्षेत्रमा चार लेन सडक निर्माण कार्य शुरु भएसँगै बजारको रुप पनि फेरिँदैछ । पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिदेखि धनौलीसम्म सडक विस्तार गर्ने गरी काम शुरु भएको छ ।

सङ्घीय सरकारको ३४ करोडको बोलपत्रमा गजुरमुखी निर्माण सेवाले चार लेन सडक निर्माण शुरु गरेको हो । पहिलो चरणमा निर्माण कार्य शुरु गरिएको एक ८०० मिटर लम्बाइको चार लेन सडक डेढ वर्षभित्र सक्ने योजना छ । ‘चार लेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरिने भएको छ, सडक विस्तार कार्यले खजुरावासी उत्साहित छन्,’ अध्यक्ष कक्षपतिले भने । अहिले खजुरा गाउँपालिकाको वडा नं १ राधापुरका सबैजसो सडक ग्राभेल भइसकेका । वडाध्यक्ष सुमन मल्लले अब खजुरा गाउँपालिकामा हिलो र धुलोको समस्या समाधान हुने क्रममा रहेको दावी गरे ।

गत आर्थिक वर्षमा मात्रै खजुरा गाउँपालिकामा १६ किलोमिटर सडक कालोपत्र गरिएको थियो । गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनीयर कञ्चन तिवारी खजुरा गाउँपालिकाको वडा नं ४ मा रहेको मुख्य सडक निर्माण सम्पन्न भएपछि अन्य भित्री सडकको निर्माण थालिने बबताए । गाउँपालिकाले अघि सारेका विकास निर्माणका सबैजसो योजना समयमै सम्पन्न भएकाले गाउँपालिकामा विकास देखिएको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीको ठम्याइ छ । अब बर्षायाममा गाउँपालिकावासीले डुबानको समस्या खेप्न नपर्ने गरी निर्माण कार्यलाई उच्च प्राथमिकता दिइएको दावी उनले गरे ।

उनका अनुसार केही वर्ष्भित्र गाउँपालिकाका सबैजसो सडक पक्की भई हरेक गाउँबस्ती नयाँ शहरमा परिणत हुनेछ । भौतिक पूर्वाधार मात्र नभई शिक्षा, स्वास्थ्य र खानेपानी तथा सरसफाइका क्षेत्रमा समेत प्रभावकारी रुपमा काम भइरहेको उनको दावी छ । ‘पूर्ण खोपयुक्त गाउँपालिका रहेको खजुराले जिल्लामै दोस्रो स्थानीय तहका रुपमा गाउँपालिकालाई साक्षर घोषणा गर्न सफल भएको छ,’ गाउँपालिकाका विज्ञ समूहका सदस्य पूर्णचन्द्र उपाध्यायले भने, ‘खजुरा गाउँपालिकाले भौतिक पूर्वाधारसँगै सामाजिक विकासका क्षेत्रमा पनि त्यत्तिकै प्रभावकारी काम गरेको छ ।’

खजुरा गाउँपालिकाले ‘हरित कृषि र हरित शहरीकरण’ परियोजना सञ्चालनको सम्झौता गरेसँगै आर्थिक विकासमा ठूलो उपलब्धि मिल्नेमा खजुरावासी आशावादी छन् । गाउँपालिका अध्यक्ष कक्षपति ‘हरित कृषि र हरित शहरीकरण’ परियोजना कार्यान्वयन भएपछि कृषि क्षेत्रको कायापलट हुने बताए । सम्झौता मातहत सिँचाइको पूर्ण व्यवस्था हुनेछ भने खेतीमा अत्याधुनिक प्रविधिको मात्र प्रयोग हुनेछ । ‘पाइलट प्रोजेक्टले दक्ष कृषि प्रविधिज्ञको उत्पादन गर्ने छ, यहाँका कृषकहरुलाई प्रशिक्षणका लागि चीन पठाउने अवसर प्राप्त हुनेछ,’ उनले भने । अध्यक्ष कक्षपतिका अनुसार परियोजनाअन्तरगत कृषि उत्पादन वृद्धिसँगसँगै बजारीकरणको व्यवस्था पनि मिलाइने छ ।

त्यसका लागि सडक, विद्यत् लगायतका पूर्वाधार निर्माणका काम हुनेछन् । खजुरा गाउँपालिकाका विज्ञ पूर्णचन्द्र उपाध्यायले प्रस्तावना तयार गर्दा रु २ अर्बसम्मको अनुमान गरे पनि यसको विस्तृत खाका तयार भइनसकेको बताउनुभयो । परियोजनाअन्तर्गत गाउँपालिकाले कृषि सहकारीमार्फत कार्यक्रम सञ्चालन गर्नेछ । चाइना इन्स्टिच्यूट फर साउथ को–अपरेशन इन एग्रिकल्चरसँग केही दिन अघि उज्वेकिस्तानमा ‘ग्रीन खजुरा’ पाइलट प्रोजेक्टका लागि अध्यक्ष कक्षपतिले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सन् २०२० देखि पूर्णरुपमा परियोजना अगाडि बढ्ने छ । गत वर्ष दुबईमा आयोजित एक कार्यक्रममा सहभागी भएका गाउँपालिका अध्यक्ष कक्षपतिले खजुरालाई ग्रीन सिटीका रुपमा विकास गर्न प्रस्ताव गरेपछि यो कार्यक्रम अगाडि बढेको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार १५:३३