सूचनाको शक्ति - The Power Of Information

        

लिलामी नहुँदा भन्सारमै थन्किए सवारी साधन

बाँके । सरकारी निकायको बेवास्ताका कारण नेपालगन्ज भन्सार कार्यालयमा लाखौं मुल्यका सवारी साधन लिलाम नहुँदा थन्किएका छन् । मूल्यांकन गर्न ढिलाई भएका कारण बरामद भएका सवारी सधानको लिलाम प्रक्रिया सुरु गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ ।

लिलामी हुन नसक्दा सवारी साधनहरु जीर्ण अवस्थामा थन्किएका छन् । सुरक्षाकर्मीले करिब पाँच वर्ष अघिदेखि नियन्त्रणमा लिएका चोरीका सवारी साधनहरु अझै लिलाम बिक्री हुन सकेका छैनन् । लिलाम हुन नसक्दा भन्सार कार्यालय परिसरमा थन्काइएका सवारी साधनहरु गाडी पुरानो भएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

चालु हालतमै रहेका राम्रै सवारी साधन पनि थोत्रिएर काम नलाग्ने भएका छन् । राजस्व त गुमेको छ नै, सवारी साधन पनि खेर गएका छन् । तर यी साधनको लिलाम गर्नका लागि भन्सार कार्यालयले सक्रियता देखाउन सकेको छैन । प्रक्रिया अघि नबढेकाले लिलाम हुनुपर्ने सवारी साधन घामपानीले जीर्ण भएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

यातायात व्यवस्था कार्यालयको समन्वयमा मेकानिकल इन्जिनियरले बरामद सवारी साधनको मूल्यांकन र रकम तोकेपछि लिलाम हुने व्यवस्था छ । तर कर्मचारी अभावको कारण जनाउँदै मूल्यांकन कार्य गर्न ढिलाई भएको जनाइएको छ । समयमै लिलाम गरेको भए ती सवारी साधनबाट रु.दुई करोड राजस्व उठ्ने अनुमान भन्सार कार्यालयको छ ।

तीन वर्षअघि मात्र चोरीका सवारी साधन लिलाम गरी नेपालगन्ज भन्सारले रु.दुई करोड ४३ लाख ८६ हजार राजस्व संकलन गरेको थियो । यातायात कार्यालयले २० वर्ष पुराना गाडी दर्ता नगर्ने भएकाले त्यसैलाई आधार बनाएर उत्पादन वर्ष नखुलेको भन्दै नयाँ र चालु अवस्थाकै गाडीहरु लिलाम गर्न नसकेको प्रमूख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए ।
भारतीय र नेपाली नम्बर प्लेट लगाएर नियम विपरीत गुडेका मोटरसाइकल र जीप प्रहरीले बिभिन्न स्थानबाट नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएका हो । भन्सार कार्यालय परिसरमा करिब २५० थान मोटरसाइकल र दुईवटा जीप रहेका छन् । जहाँ बुलेटजस्ता महंगा मोटरसाइकलसमेत रहेका छन् । लिलाम हुन नसक्दा ती सवारी जीर्ण बनेका छन् ।

मूल्यांकन र रकम तोकिएपछि लिलाम प्रक्रिया अघि बढाउने तयारी भइरहेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले बताए । सुरक्षाकर्मीले नियन्त्रणमा लिएका चोरीका सवारी साधनको मुल्याकंन गरी लिलाम विक्री प्रक्रिया नथालिङ्ग भएपछि भन्सार कार्यालय परिसरमै त्यसै थोत्रिएका छन् ।

धेरै सवारीका कागजपत्र नभेटिएकाले लिलामीमा जान कठिनाई भएको भन्सार कार्यालयका सूचना अधिकारी जोशीले बताए । उनले भने, ‘सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ । हामी त्यसलाई खुला गर्दैछौ ।’ उले पुराना फाइलहरु खोजेर जीर्ण अवस्थामा रहेको सवारी साधनलाई सफासुग्घर गरेर मात्र प्रक्रिया अघि बढाउने तयारी गरिएको बताए ।

सम्पूर्ण कानूनी प्रक्रिया पुर्याएर लिलाम गर्ने तयारी भइरहेको जनाउँदै उनले यसले राजश्व संकलनमा वृद्धि हुने बताए । ‘सबै काम सकिए जतिसक्यो छिटो लिलाम प्रक्रिया अघि बढाउने तयारी भएको छ,’ सूचना अधिकारी जोशीले भने । बरामद गरिएका सवारी थोत्रा भइसकेकाले सोंचेअनुरुप राजस्व संकलन भने नहुने देखिएको छ ।

लिलाम नभएकै कारण भन्सार कार्यालयमा सवारी साधन राख्ने ठाँउसमेत नभएपछि बरामद भएका सवारी प्रहरीले आफ्नै नियन्त्रणमा राखेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले भने, ‘भन्सारमा राख्ने ठाउँ नभएपछि बरामद गरिएका सवारी साधनहरु प्रहरी कार्यालयमै राख्नुपर्ने बाध्यता छ ।’

सवारी साधन लिलाम मूल्याङ्कन समितिमा जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालय, यान्त्रिक कार्यालय, कोष लेखा तथा नियन्त्रण कार्यालय र उद्योग वाणिज्य संघ प्रतिनिधि रहने प्रावधान छ । उक्त समितिले लिलाम विक्रीमा चासो नदेखाउँदा बरामद भएका सवारी साधन लिलाम हुन नसकेको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार १५:०२