सूचनाको शक्ति - The Power Of Information

        

लुटपाटपछि महिलाको हत्या प्रयास गर्ने दुई पक्राउ

सत्यराज सिंह । बझाङ । बझाङको थलारा गाँउपालिका–५ हाट घर भएकी एक महिलालाई लुटपाटपछि हत्या प्रयास गर्ने दुई जना पक्राउ परेका छन् । दिनेश खत्रीकी २२ बर्षिया श्रीमती विमला ओलीलाई लुटपाटपछि हत्या प्रयास गर्ने थलारा गाउँपालिका–६ का २२ बर्षिय प्रेम कडायत र २३ बर्षिय सौरभ चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।

स्याँडी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले कडायतलाई झोता बजार र चौहानलाई वित्थडचिर गाउँपालिकाबाट पक्राउ गरेको हो । सोमबार बेलुका ६ बजे केदास्युँ गाँउपालिका–९ माइतीबाट घर फर्किँदै गरेकी ओलीलाई थलारा–३ स्थित शिलाकोट भन्ने ठाउँमा लुटपाट गरेका थिए । ओलीको साथबाट गरगहना र मोवाइल लुटपाट गरेपछि टिनको पाताले घाँटी रेटेर मार्ने प्रयास भएको प्रहरीले जनाएको छ ।

घाइते ओलीको अवस्था गम्भीर रहेकी छन् भने उनीसँगै रहेकी १३ बर्षिया बहिनी सलोचना ओली समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेले जानकारी दिए । प्रहरी निरीक्षक पाण्डेको नेतृत्वमा घटनास्थलमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न दुई जनालाई विशेष सूचनाका आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । घाइते ओलीको बझाङ जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर रिफर गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलवार १९:४३