बाँके । नेपालगन्जको सल्यानीबागमा रहेको नमूना छात्रा विद्यालयमा नियमित आउने विद्यार्थीका अभिभावकलाई खाने तेल दिन थालिएको छ । विद्यार्थीलाई नियमित गराउनका लागि विद्यालयले यस्तो उपाय निकालेको हो । मंगलबार ८५ जना विद्यार्थीका अभिभावकलाई २(२ लिटर खाने तेल दिइएको छ ।
महिनामा ८५ प्रतिशत बढी हाजिर हुने विद्यार्थीले यो सुविधा पाउने छन् । नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर र वडा नं. ४ का अध्यक्ष सफिक बेहनाले नियमित आउने विद्यार्थीका अभिभावकलाई खाने तेल वितरण गरे । नमूना छात्रा विद्यालय शैक्षिक सत्रदेखि सञ्चालनमा आएको हो । विद्यालयमा अहिले २२३ जना विद्यार्थी रहेका छन् । सबैजसो मधेसी, मुस्लिम बालिका रहेका छन् ।
विद्यालय बाल विकास केन्द्रदेखि आठ कक्षासम्म सञ्चालनमा रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाले विद्यालय सञ्चालन गरेको हो । सो अवसरमा नेपालगन्जका मेयर राणाले नेपालगन्जमा छिट्टै छात्रा कलेज सञ्चालनमा ल्याउने उद्घोष गरे । नेपालगन्जमा छात्रा कलेज सञ्चालन गर्ने मेयर राणाको चुनावी नारा पनि थियो ।
।