सूचनाको शक्ति - The Power Of Information

        

लुटपाटपछि महिलाको घाँटी रेटेर हत्या प्रयास

सत्यराज सिंह । बझाङ । अज्ञात समुहले एक महिलाको गहना लुटपाट गर्नुका साथै महिलालाई मार्ने प्रयास गरेका छन् । बझाङको थलारा गाउँपालिका–५ हाट घर भएकी दिनेश खत्रीकी २२ बर्षिया श्रीमती विमला ओलीलाई अज्ञात समुहले लुटपाट गर्नुका साथै मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका केदास्युँ गाउँपालिका–९ माइती घर भएकी उनलाई आफ्नो घरतर्फ आउँदै गर्दा थलारा गाउँपालिका–३ को शिलाकोट भन्ने स्थानमा अज्ञात समुहले लुटपाट गरेको थियो । उनीसँग भएका गरगहनाका साथै मोवाइलसमेत लुटपाट गरेको बझाङ्ग प्रहरीले जनाएको छ । लुटपाटपछि टिनको पाताले उनको घाँटी रेटेर मार्ने प्रयास गरिएको स्थानीयले जनाएका छन् । उनको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेले बताए ।

साथै उनको साथमा रहेकी उनकी बहिनी १३ बर्षिया सुलोचना ओलीसमेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पाण्डेको नेतृत्वमा टोली खटिएको छ । घटनाबारे अनुसन्धान भइरहेको र लुटपाटमा संलग्नहरुको खोजी भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताए । घाइते दुवै जनाको जिल्लामा उपचार सम्भव नभएपछि कोहलपुर रिफर गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलवार ११:५८