काठमाडौं । विश्वमा सबैभन्दा बढी सेना तैनाथ क्षेत्रमध्ये एउटा भारत प्रशासित कस्मिर पनि हो । वेलायतबाट स्वतन्त्र भएदेखि नै कस्मिर, भारत र पाकिस्तानबीचको विवादको विषय बन्दै आएको छ । सन् १९४७ मा भारत र पाकिस्तान बेलायतको शासनबाट मुक्त भएका थिए । भारत प्रशासित कस्मिर र पाकिस्तन प्रशासित कस्मिर अलवा यसको एक हिस्सामा चीनको समेत नियन्त्रण छ ।
यो सबैभन्दा लामो समय द्वन्द्व चलेका विश्वका भूभागमध्ये एक हो । २०१९ फेब्रुअरी १४ मा भारतीय सेनामाथि आत्मघाती आक्रमण हुँदा ४० सेना मारिए । यस्ता आक्रमण जम्मु–कस्मिर बेलाबेला भइरहन्छन् । भारतले ती आक्रमण पछाडि पाकिस्तान समर्थित आतंकवादी समूहको संलग्नता रहेको बताउँछ । ती समूहहरु कस्मिरलाई भारतबाट अलग पारेर पाकिस्तानसँग गाभ्न चाहन्छन् । पाकिस्तानले त्यस्ता आरोपहरुको सधैँ खण्डन गर्दै आएको छ । यो आरोपहरुको स्वतन्त्र पुष्टि गर्न सहज छैन ।
यही विवादको श्रृङ्खलामा सन् २०१९ अगस्ट ५ अर्थात् आजदेखि नयाँ अध्याय थपिएको छ । भारतले संविधानको धारा ३७० खारेज गर्दै जम्मु–कस्मिरलाई दिँदै आएको विशेष राज्यको हैसियत खोसेको छ । अब भारत शासित जम्मु–कस्मिरको सो भूभागमा दुई प्रदेश जम्मु–कस्मिर र लद्दाख रहनेछन् । अहिलेसम्म जम्मु–कस्मिरको छुट्टै संविधान रहेको थियो । उसलाई सुरक्षा र विदेश मामिला बाहेक सबै फैसला लिने अधिकार थियो । स्वतन्त्र जम्मु–कस्मिरको अधिकार अब समाप्त भएको छ ।
जम्मु–कस्मिरमा भारत हाबी भएको छ । भारत र पाकिस्तान दुवै परमाणु हतियार सम्पन्न देश हु्न् । यदि दुवै देश युद्धमा गए यसको परिणाम निकै नराम्रो हुनेछ । कस्मिरलाई लिएर पाकिस्तान र भारतबीच संघर्ष भइरहँदा त्यहाँका स्थानीय जनता चपेटामा छन् । तर जम्मु–कस्मिरको विषय पाकिस्तान र भारतसँग मात्र सीमित छैन । सोमबारको भारत सरकारको निर्णयमा कस्मिरसँगै सीमा जोडिएको चीनले के भन्छ ? अरू अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया के रहन्छ त्यो महत्वपूर्ण हुनेछ ।
के छ कस्मिरको इतिहास ?
भारत र पाकिस्तानबीच सन् १९४७ र १९६५ मा दुई पटक युद्ध भएको थियो । त्यसयता कस्मिरमा कैयौं पटक विस्फोटन तथा आक्रमण भएका छन् । त्यहाँ राजनीतिक अवस्था अस्थिर छ । अर्थव्यवस्था नाजुक छ । बेरोजगारी समस्या अधिक छ । सन् १९४७ मा वेलायतबाट स्वतन्त्र भइसकेपछि कस्मिर कुन देशसँग मिल्ने भनेर छलफल भएको थियो । कस्मिरका राजा हरि सिंहलाई भारत र पाकिस्तानमध्ये एउटा छान्नुपर्ने अवस्था थियो । अन्ततः हिन्दू राजाले भारतलाई छाने तर मुस्लिम बहुल जम्मु–कस्मिरका जनता स्वतन्त्र कस्मिर अथवा पाकिस्तानको समर्थनमा रहे ।
त्यतिबवेला विश्वका यी नयाँ देशबीच दुई वर्षसम्म लगातार युद्ध भयो । युद्धविराम गर्ने सहमतिपछि पनि पाकिस्तानले आफ्नो सेना कस्मिरबाट फर्काउन अस्वीकार गर्यो । त्यसपछि कस्मिर दुई भागमा विभाजित छ । सन् १९५० को दशकमा भारत र पाकिस्तानबीच चर्को मतभेद रह्यो । चीनले त्यसको फाइदा उठाउँदै पूर्वी कास्मिरमा विस्तारै–विस्तारै नियन्त्रण लियो । अहिले यो क्षेत्रलाई अक्साई चीन भनिन्छ ।
भारत र पाकिस्तानबीच दोस्रो युद्ध सन् १९६५ मा भएको थियो । सन् १९८० र १९९० को बीचका भारतीय शासनविरुद्ध कस्मिरमा वृहत विरोध प्रदर्शन भए । त्यसपछि कस्मिरमा पाकिस्तान समर्थित चरमपंथी समूहको प्रभाव बढ्यो । सन् १९९९ मा भारतले पाकिस्तान समर्थित सैन्य शक्तिविरुद्ध लडाइँ लड्यो । त्यतिबेला दुवै देशले आफूलाई परमाणु शक्ति घोषित गरिसकेको थिए । त्यसयता कस्मिरमा हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
भारतले अस्वीकार गरेको थियो राष्ट्रसंघीय जनमतसंग्रहको निर्णय
सन् १९५० को दशकमा संयुक्त राष्ट्रसंघले कास्मिरको जनताको विचार बुझ्नका लागि त्यहाँ जनमत संग्रह गर्नुपर्ने धारणा राख्यो । भारतले सुरुमा यो विचारलाई समर्थन गरेको थियो । जनमत संग्रहकै कारण जम्मू–कास्मिर भारतबाट स्वतन्त्र हुने खतरा देखिएपछि पछि भारत अघि बढेन । पाकिस्तान जनमतसंग्रह पक्षमा छ ।
पाकिस्तान कस्मिरको अत्यधिक जनसंख्या भारतीय शासनविरुद्ध रहेको ठान्छ । ‘उनीहरु कि स्वतन्त्र हुन चाहन्छन् कि पाकिस्तानसँग मिल्न चाहान्छन्,’ पाकिस्तानले भन्दै आएको छ । कस्मिरका ६० प्रतिशत जनसंख्या मुस्लिम समुदायको छ । यो मात्र भारतको एउटा त्यस्तो क्षेत्र हो जहाँ मुस्लिम धर्मवालम्बी धेरै छन् । बीबीसीबाट
सत्यपाटी - ।