बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बहुजातीय, बहुभाषिक र बहुसाँस्कृति, बहुधार्मीक वडाका रुपमा रहेको छ । नेपालगन्जको पुरानो विरासत बोकेको वडाका रुपमा पनि यस वडालाई चिनिन्छ । वडाको विकासलाई उच्च प्राथमिकतामा राखेर वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरुले अहोरात्र काममा खटिइरहेका छन् । वडालाई नमुना बनाउने प्रतिवद्धता अनुसार पूर्वाधार निर्माणका कामहरु भइरहेका छन् । वडाका सबै सडक पक्की, सबै टोलमा विजुली, सबै टोल साक्षर टोल लगायतका विषयलाई उच्च प्राथमिकतामा राखेर कामहरु भइरहेका छन् ।
वडाध्यक्ष मो.सफिक बेहनालाई वडाबासीका काममा एकछिन फुर्सद छैन । उनी भन्छन्, ‘मेरो दैनिकी नै वडाको विकासका लागि, वडावासीप्रति समर्पित गरेको छु । बिहान उठेदेखि साँझसम्म वडाकै काममा हुन्छु । विकास निर्माणका योजना, कार्यक्रम, झैँझगडा, विवाद समाधान लगायत काममा मेरो दैनिकी सकिन्छ ।’ हुन पनि उनी दिनभर वडाबाट आम नागरिकले पाउनुपर्ने सेवा प्रवाहमै खटिइरहन्छन् । उनी निर्वाचित भएदेखि नै वडा कार्यालयको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनेदेखि पूर्वाधार व्यवस्थापनमा लागिपरेका छन् । कर्मचारी दरबन्दी अनुसार नभए पनि सेवामा कुनै ढिलासुस्ती छैन ।
उनी भन्छन्, ‘चुस्त, दुरुस्त र पारदर्शी सेवा प्रवाहमा जोड दिएको छु । वडाको विकास र समृद्धिका लागि उपमहानगरपालिका, प्रदेश सरकार र संघीय सरकार मातहत रहेर काम गरिरहेको छु ।’ स्थानीय तहले पहिलोपटक कार्यकारी अधिकारसहितको जनप्रतिनिधि पाएको छ । जनताका आकांक्षा, मुद्दा र मागलाई समेट्दै वडालाई कसरी नमूना बनाउन सकिन्छ भन्नेमा उनी निरन्तर लागिपरेका छन् । वडालाई विकास र समृद्धिको दिशातर्फ अघि बढाउन प्रतिबद्ध रहेको बताउँछन्, वडाध्यक्ष बेहना । उनी भन्छन्, ‘वडाको विकास र सेवा प्रवाहले गति लिइसकेको छ । आगामी निर्वाचनसम्म वडाले विकास र समृद्धितर्फ धेरै फड्को मारिसक्छ ।’
‘वडाको विकास र सेवा प्रवाहले गति लिइसकेको छ । आगामी निर्वाचनसम्म वडाले विकास र समृद्धितर्फ धेरै फड्को मारिसक्छ ।’
स्थानीय तहको निर्वाचनपछिको पहिलो प्राथमिकता भनेकै बाटो बनाउने, भएका बाटाको स्तरोन्नति गर्ने थियो । आफ्नै वडाको बजेट र नगरको सहयोगमा अत्यावश्यक बाटाहरुको स्तरोन्नति सम्पन्न भएका छन् । बजेटको आकार हेरी नगरको सहयोगमा सम्भव भएसम्म धेरै कामहरु भएको बताउँछन्, वडाध्यक्ष बेहना । बाँकी कामहरुलाई पनि क्रमशः योजनामा समावेश गरेर सम्पन्न गर्दै लैजाने गरिरहेका छौं । उनी भन्छन्, ‘भौतिक पूर्वाधारको विकास गरी आगामी निर्वाचनसम्ममा वडालाई सुविधा सम्पन्न वडा बनाउने हाम्रो लक्ष्य हो । यो लक्ष्यलाई आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा ल्याउने गरी योजना अघि बढाएका छौं ।’
जेटको सिलिङका आधारमा विभिन्न टोलविकास संस्था, वडाबासीका माग र वडाको विकास अघि बढाउने हो । यसकारण यसवर्ष पनि वडालाई वातावरणमैत्री, बालमैत्री, उज्यालो वडा बनाउनुका साथै वडाभित्र रहेका युवालाई आयआर्जनतर्फ उन्मुख गराउने, गरिब, विपन्न, दलित, मधेसी, मुस्लिम समुदायका विद्यार्थीलाई निःशुल्क शिक्षा, स्वास्थ्य लगायतका योजनाहरु सुरु भएका छन् । सडकमा धेरै बजेट लगानी भइरहेको छ । वडाभित्र थुप्रै धार्मिक तथा सांस्कृतिक महत्व बोकेका ऐतिहासिक क्षेत्रहरु छन् । तिनको संरक्षण गर्ने योजना पनि प्राथमिकतामा परेका छन् ।
वडामा योजना धेरै नै माग भएर आएका हुन्छन् । ती सबै माग भएका योजनाको सम्बोधन गर्नु जनप्रतिनिधिको कर्तव्य पनि हो । उनी भन्छन्, ‘चाहेर मात्रै पूरा हुँदैन । हरेक चिजको सीमा हुन्छ । हामी पनि केही सीमाभित्र रहेर योजना छनोट गर्नुपर्दछ । योजना छनोट गर्दा योजनाको आवश्यकता, समुदायमा त्यसको माग किन छ ? कतिको आवश्यकता छ ? यो विषयमा पहिले निक्र्याेल गरिन्छ । पूर्वाधार विकासका सन्दर्भमा पनि जहाँ जनघनत्व बढी छ, त्यहाँ पूर्वाधारहरुको माग र आवश्यकता धेरै हुन्छ भन्ने हामीले बुझेका छौं । त्यसैले त्यस्ता स्थानमा पहिलो प्राथमिकता दिने गरेका छौं ।’
उपमहानगरभित्र विकासप्रेमी वडाध्यक्षका रुपमा चिनिएका बेहनाले आफू निर्वाचित भएपछि विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखे । उनी भन्छन्, ‘मेरो नजरमा सबैभन्दा ठूलो काम विकास निर्मााण हो । त्यसैले पनि वडाभित्र विकास निर्माणका कामहरु धेरै भएका छन् ।’ अध्यक्ष बेहनाले आफ्नो वडामा नमूना योग्य सडक निर्माण भएको बताए । ‘विगतको तुलनामा धेरै कुरा आम नागरिकले नै देख्न सक्छन् । विगत र वर्तमान आफै छुट्टिन्छ ।’ उनले फोहरले भरिने सल्यानी बंगलामा चिल्ड्रेन पार्क निर्माण पनि एउटा गतिलो काम भएको बताए । उनले वडामा सार्वजनिक शौचालय निर्माणदेखि पानीको हाते पम्पसमेत जडान गरिसकेका छन् ।
उनकै पहलमा वडामा शहरी स्वास्थ्य केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने वडा कार्यालय नजिकै रहेको श्री आधारभूत विद्यालय निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । उक्त विद्यालयमा छात्रा कलेज सञ्चालन गर्ने तयारी छ । आफूलाई अध्यक्षभन्दा समाजसेवी भन्न रुचाउने बेहना भन्छन्, ‘म जनताको प्रतिनिधि हुँ, त्यसैले पनि जनताका काममा सधैं अग्रसर हुन्छु ।’ आगामी निर्वाचनसम्म वडामा हेर्न र गर्व गर्न लायकको विकास गरेर देखाउने उनको प्रतिवद्धता छ । उनी भन्छन्, ‘आँट गर्नुपर्छ, असम्भव केही छैन’
सत्यपाटी - ।