सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका इँट्टाले ठडिन्छन् कर्णालीका घर

बाँके । नेपालगन्जको पुरानो बजार एकलैनी, सदरलाइन, त्रिभूवन चोक लगायतका बस्तीमा सयौं बर्षअघि बने । इँट्टाको पर्खाल र इँट्टाकै ढलान भएका घरहरु अहिले पनि देख्न सकिन्छ । यी घरहरु बन्ने बेलामा नेपालगन्जमा इँट्टा पाइँदैन्थ्यो । घर बनाउनका लागि भारतबाट इँट्टा ल्याउनुपथ्र्यो ।

२०६४ साल अघिसम्म बाँकेमा भारतको बाबागन्जबाट नेपालगन्जमा इँट्टा भित्रिन्थ्यो । त्यहाँबाट ल्याएका इँट्टाबाट यहाँका धेरै घर बने । बाबागन्जको इट्टाले सुर्खेतसम्म बजार लियो । भारतीय इँट्टा नल्याएसम्म घर नै बन्दैन भन्नेसम्मको सोंचाइँ नेपालगन्जबासीमा थियो । तर अब ती दिन एकादेशको कथाजस्तै भइसकेका छन् ।

एक दशकयता भारतीय इँट्टा बाँके भित्रिन छाडेको नेपाल इँट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँ बताउँछन् । ‘बाँकेकै उत्पादनले पुगेको छ । बाहिरबाट ल्याउनुपरेको छैन,’ अध्यक्ष खाँ भन्नुहुन्छ । अहिले स्वदेशी इँट्टा उद्योगीले भारतीय एकाधिकार तोडिसकेका छन् । इँट्टा उद्योगमा बाँके आत्मनिर्भर बनिसकेको छ ।

यहाँको इँट्टाले छिमेकी कर्णाली प्रदेशलाई पनि थेगेको छ । कर्णाली प्रदेशका अधिकांश निर्माणमा बाँकेको इँट्टा प्रयोग भएको छ । अध्यक्ष खाँ भन्छन्, ‘स्वदेशी उत्पादनमा आत्मनिर्भर हुने उद्योगमा इँट्टा नै हो । हामीले कर्णालीलाई समेत धानेका छौं ।’ उनका अनुसार बाँकेबाट दैनिक ५० हजार बढी इँट्टा सुर्खेत हुँदै कर्णालीका विभिन्न जिल्लासम्म पुग्ने गरेको छ ।

नेपाल इँट्टा उद्योग व्यवसायी संघ बाँकेमा ४२ वटा उद्योग सदस्य छन् । यी उद्योगले वार्षिक करिब ८ करोड इँट्टा उत्पादन गर्दै आएको अध्यक्ष खाँले बताए । यहाँ उत्पादन भएका इँट्टा बाँकेको स्थानीय बजार र कर्णाली प्रदेशका सबै जिल्लामा पुग्ने गरेको नेपाल इँट्टा उद्योग व्यवसायी संघ प्रदेश नं. ५ का उपाध्यक्ष देवबहादुर ओली बताउँछन् ।

यहाँको इँट्टाले छिमेकी कर्णाली प्रदेशलाई पनि थेगेको छ । कर्णाली प्रदेशका अधिकांश निर्माणमा बाँकेको इँट्टा प्रयोग भएको छ ।

‘इँट्टाको बजार दिन प्रतिदिन बढिरहेको छ,’ ओलीले भने, ‘पूर्वाधार निर्माणका काम बढेसँगै इँट्टाको माग उच्च देखिएको छ ।’ इँट्टा उद्योगले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्छन् । एउटै उद्योगमा कम्तीमा ५० जनाले सजिलै रोजगारी पाउँछन् । रोजगारी पाउनेमा नेपालीमात्र होइन भारतीय नागरिकसमेत छन् ।

इँट्टा उद्योग मौसमी उद्योग हो । माघदेखि बैशाखसम्म चल्छ । पानी पर्ने बर्षा मौसममा उद्योग बन्द हुन्छ । ‘चार÷पाँच महिना चलेको उद्योगले वर्षभर धान्नुपर्छ । सिजनका बेला सयौं जनाका लागि रोजगारी सिर्जना गर्छौ,’ संघका सचिव टंक बुढाथोकी भन्छन्, ‘उत्पादन नभएको समयमा पहिले उत्पादन गरेका इँट्टा बिक्री गर्छौ ।’

बर्षा छिटो शुरु भयो भने इँट्टा उत्पादन समय घट्छ । जसले गर्दा उत्पादनमा कमी आएर अभावसम्म हुने गरेको सचिव बुढाथोकी बताउँछन् । उनी भन्छन्, ‘उत्पादनको सिजन नभएका बेला भने घट्छ ।’ रोजगारी सिर्जना मात्र होइन सरकारका लागि राजश्वमा समेत महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् ।

राम्रो चलेको उद्योगले रु.१० लाखदेखि रु.२० लाखसम्म वार्षिक राजश्वमा योगदान दिने गरेको व्यवसायीहरु बताउँछन् । इँट्टा उद्योगीका लागि मौसम, बैंकको चर्को ब्याजदर, कच्चा पदार्थ र पछिल्ला आर्थिक नीतिहरु चुनौतीका रुपमा रहेको प्रदेश उपाध्यक्ष ओलीले बताए । उनी भन्छन्, ‘राजश्व र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेले पनि राज्यले हामीलाई हेर्ने नजर फरक छ ।’

ओलीले काँचो इँट्टाको बिमा नहनु पनि आफुहरुका लागि चुनौती रहेको बताए । संघका अध्यक्ष खाँले बाँकेका इँट्टा उद्योगहरु नयाँ प्रविधिमैत्री बन्दै गएको बताए । उनी भन्छन्, ‘केही वर्षमै बाँके जिल्लाको इँट्टा उद्योग क्षेत्रले ठुलो फड्को मार्छ ।’ इँट्टामा भारतीय एकाधिकार तोड्न यहाँ उद्योगीले धेरै मेहेनत गर्नुपरेको थियो ।

लामो समय आन्दोलन भयो । मुख्य नाकाबाट आयात बन्द भएपछि चोरी नाकाबाट आउन थालेपछि त्यसका लागि पनि खबरदारी गरिएको सम्झँदै अध्यक्ष खाँ भन्छन्, ‘अहिले अवस्था फरक छ । यहीको उत्पादनले पुग्छ । अब भारतीय इँट्टाले नेपालगन्जका घर बन्न छाडिसके । यहीका इँट्टा पर्याप्त छन् ।’

मजदुर भने भारतीय

यहाँका इँट्टा उद्योगमा काम गर्ने मजदुर भने अधिकांश भारतीय रहेका छन् । भारतीय मजदुरले बाँकेका इँटाभट्टा धानेका छन् । सिजनमा यहाँका इँट्टा उद्योगमा भारतीय मजदुरको घुइँचो हुन्छ । सिजनका बेला परिवारसहित आउने भारतीय मजदुरहरु सिजन सकिएपछि घर फर्किन्छन् । भारतीय कामदारले नेपाली उद्योगमा बढि पारिश्रमिक पाउने गर्छन् ।

भारतमा एक हजार काँचो इँटा बनाएको भारु ४०० कमाउने श्रमिकले यहाँ भारु ६०० पारिश्रमिक पाउँछन् । ‘यहाँ कामदारको मूल्य छ,’ नेपालन्जमा इँटाभट्टामा दुई दशकदेखि काम गर्दै आएका पप्पु अन्सारीले भने, ‘उता (भारतमा) भन्दा रु.२०० बढी ज्याला पाउँछौं । त्यसैले नेपालमै मजदुरी गर्न आउँछौं ।’

दुई सयको लोभमा भारतीय मजदुर नेपालमा मजदुरी गर्न आउने गरेको भन्दै नेपाली कामदारको अभावले इँटाभट्टामा अवसर नै अवसर भएको बताए । ‘यहाँका मान्छे इँटाभट्टामा काम गर्दैनन्,’ अन्सारीले भने, ‘यहाँ मजदुर नपाएपछि नेपाली इँट्टा उद्योगले खोजीखोजी भारतीय मजदुर ल्याउने गर्छन् ।’

वर्षभरि काम गरेर एक जना मजदुरले कम्तीमा ६० हजार भारु कमाउने गरेको इँटा व्यवसायीहरु बताउँछन् । नेपालगन्ज उपमहानगरपालिका–१३ का इँटा व्यवसायी हाजी रज्जा वलीका अनुसार इँटाभट्टामा नेपाली कामदारको अभाव छ । उनले भने, ‘बढी पारिश्रमिक दिएर भारतबाट मजदुर ल्याउनुपर्ने बाध्यता नै छ ।’

इँटा बनाउन नेपाली मजदुर अभावले भारतीय मजदुरमै यहाँका इँटा उद्योग निर्भर हुनुपरेको छ । उहाँका इँटा उद्योग भारतीय कामदारकै भरमा चल्ने गरेका छन् । काँचो इँटा बनाउने, इँटा बोक्ने र भट्टामा काम गर्ने अधिकांश मजदुर भारतीय नै छन् ।

नेपालगन्जका इँटाभट्टा भारतीय मजदुरकै भरमा चलेको उनले बताए । किसान इँटाभट्टा सञ्चालन गरेका उनले सिजनमा ५० भन्दा बढी भारतीय मजदुरका परिवारलाई रोजगारी दिँदै आएका छन् । इँटाभट्टामा मजदुर ल्याउन मध्यस्थकर्तासमेत खटाउनुपर्ने यहाँका व्यवसायीको बाध्यता रहेको उनको भनाई छ ।

बाँकेमा ५० भन्दा बढी इँटा उद्योग छन् । जहाँ झण्डै ९० प्रतिशत भारतीय मजदुरले काम गर्दै आएको व्यवसायीहरु बताउँछन् । एक जना भारतीय कामदारले दैनिक कम्तीमा २५ सय वटा इँट्टा तयार गर्न सक्छन् । प्रतिइँट्टा ५० पैसाका दरले दैनिक १२ सयदेखि १५ सयसम्म एक जनाले कमाउने गर्छन् । राम्रो कमाई हुने भएपछि भारतीय कामदार यता आउने गर्छन् ।

जति इँटा बनाउन सक्यो उति आम्दानी गर्न सकिने र राम्रो फाइदा हुने भारतीय मजदुर सुजान बर्माको अनुभव छ । उनी भन्छन्, ‘यहाँका उद्योगमा राम्रो कमाई हुन्छ ।’ नेपालीहरु रोजगार पाइएन भन्दै काम गर्न भारत तथा तेस्रो मुलुक जान्छन तर सुजान बर्माजस्ता अन्य धेरै भारतीय नागरिकहरु काम गर्नकै लागि नेपाल आउने गरेका छन् ।

इँटा बनाउन नेपाली मजदुर अभावले भारतीय मजदुरमै यहाँका इँटा उद्योग निर्भर हुनुपरेको छ । उहाँका इँटा उद्योग भारतीय कामदारकै भरमा चल्ने गरेका छन् । काँचो इँटा बनाउने, इँटा बोक्ने र भट्टामा काम गर्ने अधिकांश मजदुर भारतीय नै छन् । व्यवसायीहरुका अनुसार इँटा उद्योगमा सिजनका हिसाबले भारतीय कामदारहरु आउने गर्छन् ।

भारतको बहराइचबाट नेपालगन्जका इँटा उद्योगमा काम गर्न आएका इरफान दाउदले भारतमा इँटा उद्योगको संख्या कम भएको र नेपालमा जहिल्यै कामदारको अभाव हुने गरेकाले सहज रोजगारी पाइने हुँदा काम गर्न नेपाल आएको बताए । उनले भने, ‘यहाँ कामदार अभाव हुन्छन्, सजिलैसँग काम र दाम दुवै पाइने भएकाले हामी नेपालमा काम गर्न आउँछौँ ।’

नेपाल इँट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले नेपालमा कामदार नपाइने र नेपालीले इँटा उद्योगमा काम गर्न नचाहने गरेकाले भारतीय कामदारको भरमा उद्योग सञ्चालन गर्नुपरेको बताए । ‘यहाँ कामदार पाइँदैनन्,’ उनले भने, ‘नेपालीलाई यो काममा रुची छैन । त्यसैले सबै इँटाभट्टा भारतीय कामदारकै भरमा चलेका छन् ।’

‘भारतीय कामदारले सिजनमा उनीहरु राम्रै आम्दानी गरेर फर्कन्छन्,’ अध्यक्ष खाँले भने, ‘यहाँ सिजन सिजनमा भारतीय कामदारबाटै काम चलाउनुपरेको छ । कमाई पनि राम्रै गरेर घर फर्कन्छन् ।’ भारतीय कामदारले ठूलो रकम विदेश लाने गरेको भए पनि स्वदेशमा कामदार पाउनै मुस्किल हुने गरेको उनले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार १५:४४