सूचनाको शक्ति - The Power Of Information

        

देशभर जबर्जस्ती करणीका झण्डै दुई हजार मुद्दा, आफन्तबाट धैरै

काठमाडौं । मुलुकभर जबर्जस्ती करणीका घटना बढेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आव २०७५/०७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो । आव २०७४/०७५ मा एक हजार ४८० मुद्दा दर्ता भएकामा आव २०७५/०७६ मा एक हजार ८७३ मुद्दा दर्ता भएका छन् ।

आव २०७३/०७४ मा भने एक हजार १३७ मुद्दा दर्ता भएका थिए । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जबर्जस्ती करणीका घटना हिजोका दिनमा लुकाउने गरे पनि पछिल्लो समय प्रहरीलाई सूचना दिने प्रवृत्तिका कारण यस्ता घटनामा वृद्धि आएको बताए ।

कुनै पनि महिलाको इच्छाबेगर जबर्जस्तीरूपमा यौन सम्पर्क गर्न खोज्नुलाई जबर्जस्ती करणी भनिन्छ । प्रहरी प्रवक्ता पोखरेल आफूले चिनेका व्यक्ति, आफ्नो नाता सम्बन्ध र छरछिमेकका व्यक्तिबाट धेरै जबर्जस्ती करणीका घटना हुने गरेको बताउँछन् । ‘हिजो विश्वास गरेका व्यक्ति, नाता र छरछिमेक आज अविश्वासमा परिणत भएको छ,’ उनी भन्छन् । सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट यस्ता घटना बढेको उनको भनाई छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार १०:४३