सूचनाको शक्ति - The Power Of Information

        

घुम्न छाडेर ग्यारेजमा थन्किए नेपालगन्ज उपमहानगरका घुम्ती शौचालय

बाँके । नेपालगन्ज उपमहानगरपालिकाका मुख्य चोकहरुमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकहरुमा सवारी साधन र पैदल यात्रुहरुको भीडभाड नै हुन्छ । यसैलाई मध्यनजर गर्दै एशियाली विकास बैंक (एडीबी)को सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले रु.५९ लाखमा खरीद गरेर ल्याएका चार वटा घुम्ती शौचालय आजभोली घुम्न छाडेर उपयोगविहिन भएका छन् ।

करिब तीन महीना चोकचोकमा राखिएका घुम्ती शौचालयमा शौच गर्न ग्राहकहरु नै नआएको भन्दै ती शौचालय जिल्ला समन्वय समिति, बाँकेको सवारी पार्किङ्गमा थन्काइएको छ । खुला शौचको समस्या हटाउन नेपालगन्ज उपमहानगरपालिकाले चार वटा घुम्ती शौचालय त्रिभुवन चौक, धम्बोझी चोक, विपी चोक, पुष्पलाल चौक लगायत सार्वजनीक शौचालय नभएका अन्य स्थानमा राख्ने गरेको थियो ।

ठेकेदारमार्फत सञ्चालन गरिएका घुम्ती शौचालय प्रयोग गरेवापत निश्चित शुल्क दिनुपथ्र्यो । तर शौच गर्न आउने ग्राहकले पैसा तिर्न नमानेपछि ठेकेदार आफैले शौचालय सञ्चालन गर्न इच्छा देखाएनन् । सञ्चालन खर्च नै नउठ्ने देखिएपछि शौचालय थन्काइएका छन् । उपयोग हुने÷नहुने अवस्थाका बारेमा अध्ययन नै नगरेर खरीद गरिएका घुम्ती शौचालय उपयोगविहिन भएपछि स्थानीयहरुले आक्रोश व्यक्त गरेका छन् ।

बाहिर तथा जिल्लाका विभिन्न स्थानबाट काम लिएर आउने सेवाग्राहीलाई शौच गर्न समस्या भएपछि उपमहानगरपालिकाले घुम्ती शौचालय खरिद गरेको थियो । ‘चोकमा मानिस शौच गर्न नपाएर पैदल यात्रीहरू शौचालय खोज्दै होटलमा पुग्ने गर्छन् । तर कतिपय होटल सञ्चालकले शौच गर्न दिँदैनन् । यस्तो अवस्थामा घुम्ती शौचालय उपयोगविहिन बनाउनु राम्रो नभएको नेपालगन्ज–१ धम्बोझीका मनिराम शर्माले बताए ।

उनले भने, ‘पैसा नतिर्ने ग्राहकलाई सम्झाएर घुम्ती शौचालयमै शौच गर्न लगाउने कि पैसा नतिर्ने भए भनेर ग्यारेजमा थन्काउने ? यसरी थन्काउने भए खरीद नै नरेको भए हुन्थ्यो ।’ उपमहानगरपालिका–१ कै पद्मा कार्कीले यहाँका चोकमा सार्वजनिक शौचालय नहुँदा कति ठूलो समस्या छ भन्ने सबैलाई थाहा भएको बताए । उनले भने, ‘शौचालय खरिद गरी ल्याउने अनि त्यसलाई व्यवस्थापन र सञ्चालन गर्न नसक्ने ?’

सञ्चालनमा ल्याइएका शौचालयबाट संकलित मलमूत्रलाई प्राङ्गारिक मल बनाएर प्रयोग उपमहानगरपालिकाको योजना बीचमै अलपत्र परेको छ । उपमहानगरले तीन महिनाका लागि शौचालय सञ्चालन गर्न रु.७० हजारमा सरसफाईकर्मी भानु भट्टलाई जिम्मेवारी दिएको थियो । सञ्चालन खर्चका लागि ग्राहकसँग पिसाब गरेवापत रु.५ र दिसा गरेवापत रु.१० शुल्क लिइँदै आए पनि ग्राहकले पैसा तिर्न नमान्दा शौचालय बन्द गर्नुपरेको बताए ।

अत्यधिक भीडभाड हुने धम्बोझी चौकमा सार्वजनिक शौचालय नहँुदा शौच गर्नकै लागि आसपासका होटलहरुमा छिर्नुपर्ने बाध्यता लामो समयदेखि कायमै रहेको एक होटल सञ्चालकको भनाई छ । होटल सञ्चालक निक्की शेर्पा भन्छन्, ‘शौच गर्न मेरो होटलमा मानिसहरुको लाइन लाग्छ, शौचालय छिट्टै भरिन्छ । उनका अनुसार अधिकांश सर्वसाधारणहरु नास्ता खानभन्दा पनि शौचालय जानकै लागि उनको पसलमा आउने गर्छन् ।

शौचालय नहुँदा नेपालगन्ज आउने अधिकांश यात्रुले दिनहुँ सास्ती खेप्नुपरेको बर्दियाबाट नेपालगन्ज आएका पदमसिंह थापाले बताए । उनले भने, ‘शौचालय जानकै लागि चिया नास्ता खाने बहाना मिलाएर होटलमा जानुपर्ने अवस्था छ । पश्चिम नेपालकै ठुलो शहरका रुपमा परिचित शहरमै सार्वजनिक शौचालय नहुनु दुःखद् हो ।’ सार्वजनिक शौचालय अभावमा सबैभन्दा धेरै महिलाले हैरानी बेहोर्नुपरेको उनको भनाई छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने उपयोगविहिन भएर शौचालय नथन्काएको दावी गरे । ‘पैसा नतिर्ने समस्या देखिएकै हो । तर त्यही कारणले थन्काउनुपरेको भने होइन,’ प्याकुरेलले भने, ‘अब हामी अलि फरक तरिकाले त्यसको उपयोग गर्छौ ।’ प्याकुरेलका अनुसार, सभा समारोह, महोत्सव जस्ता कार्यक्रमका लागि घुम्ती शौचालय एकदमै उपयोगी सावित भएको छ ।

उनले भने, ‘आठौ राष्ट्रिय खेलकुदमा त असाध्यै उपयोगी सावित भयो । अब हामी मुख्यरुप यस्तै कार्यक्रममा प्रयोग गर्छौ ।’ सार्वजनीक कार्यक्रमका साथै नेपालगन्ज भन्सार, बसपार्कजस्ता क्षेत्रमा घुम्ती शौचालय राख्ने तयारी छ । ‘शौच गर्ने ठाउँको भने चरम अभाव छ,’ प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले भने, ‘सार्वजनिक शौचालय नहुँदा चौकमा सर्वसाधारणलाई आपत पर्ने गरेको छ । हामी व्यवस्थापनका विषयमा योजना बनाउँदैछौं ।’

नेपालगन्ज बजारमा अहिले पनि ११ वटा सार्वजनिक शौचालय छन् । तीमध्ये चार वटामात्रै प्रयोगमा छन् । भएका सार्वजनिक शौचालयलाई राम्ररी प्रयोगमा ल्याउन नसकेको उपमहानगरपालिकाले एकैपटकमा ६ जनाले शौच गर्न मिल्ने गरी घुम्ती शौचालय खरीद गरेर थालनी गरेको नयाँ काम पनि बीचमै अलपत्र परेको छ । शौचालय अभावमा अहिले पनि बजारमा आउने बाहिरी जिल्ला तथा स्थानीयलाई शौच गर्न समस्या रहँदै आएको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले उपमहानगरपालिकाभित्र डेढ दर्जन शौचालय बन्ने क्रममा रहेको बताउँदै घुम्ती शौचालयलाई व्यवस्थितरुपमा सञ्चालनका लागि छलफल भइरहेको जानकारी दिए । उनका अनुसार धम्बोझीमा अत्याधुनिक सुविधा सम्पन्न शौचालय सञ्चालन आउने तयारीमा छ भने त्यसबाहेक प्रत्येक वडामा सुविधा सम्पन्न शौचालय निर्माणको काम सुरु गरिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार ०९:४७

सिफारिस