सूचनाको शक्ति - The Power Of Information

        

मध्यरातमा दुईवटा एनसेल टावरमा आगजनी

बाँके । अज्ञात समूहले बाँकेमा रहेका दुईवटा एनसेल टावरमा आगजनी गरेको छ । बुधबार मध्यरातमा मनिकापुर र कम्दीका रहेका दुईवटा एनसेल टावरमा आगजनी गरिएको हो । प्रहरीका अनुसार, राती करिब दुई बजेतिर नेपालगन्ज–२० मनिकापुरको नयाँबस्ती र डुडुवा–४, कम्दीको मेहमानपुरको एनसेल टावरमा आगजनी गरिएको छ ।

जुटको बोरामा पेट्रोल छर्केर आगो लगाइएको थियो । आगोले टावरको तारहरु जलेका छन् । क्षतिको यकिन विवरण भने आइसकेको छैन । एनसेलका प्राविधिक आएर मूल्यांकन गरेपछि मात्रै क्षतिको विवरण आउने जनाइएको छ । एनसेल टावरमा आगलागी गरिएको विहान थाहा भएको थियो । बाँके प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले एनसेल टावरमा आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

‘मध्यरातमा एनसेल टावरमा आगजनी गरिएको छ । ठूलो क्षति भएको छैन । तारहरु जलेका छन्,’ प्रवक्ता सापकोटाले भने, आगजनी गर्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरेका छौं ।’ बाँकेमा एनसेलका एक सयको हाराहारीमा टावर रहेका छन् । एनसेलका टावरलाई विप्लव नेतृत्वको नेकपाले निशाना साँधिरहेका छन् । अहिलेको आगजनीमा विप्लव नेकपाकै हात रहेको आँकलन गरिएको छ । यद्यपि, विप्लव नेकपाले त्यसबारेमा कुनै प्रतिक्रिया दिइसकेको छैन । बाँकेमा विप्लव नेकपाका ठूला नेतालाई प्रहरीले पक्राउ गरेर जेल पठाएको छ ।

पोलिटब्यूरो सदस्य भरत बम कारागार चलान भएका छन् । अरुलाई पनि धरपकड गर्ने काम भइरहेका छन् । विप्लव नेकपाले नेपाल बन्दलगायतका गतिविधि गर्दा बाँकेमा कुनै गतिविधि भएका थिएनन् । अहिले एक्कासी एनसेल टावरमा आगजनी भएको छ । यसअघि पनि यस्ता घटना भएका थिए । रोल्पा, रुकुमलगायतका पहाडी जिल्लामा विप्लवको गतिविधि बढ्दा पहाडी जिल्लाका लागि ‘सेल्टर’को रुपमा रहने बाँकेमा त्यसको प्रभाव देखिने गर्दछ । बाँकेका विभिन्न ठाउँमा नेताहरुले सेल्टर बनाउने गर्दछन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार १०:३४