बाँके । पछिल्लो समय बाँके काँग्रेस आन्तरिक कलहमा रुमलिएको छ । बाँकेको नरैनापुर गाउँपालिकामा काँग्रेसका क्रियाशील सदस्य बढाउने नाममा अन्य पार्टीका नेता कार्यकर्तालाई क्रियाशील सदस्यका लागि सिफारिस गरिएपछि बाँके काँग्रेसमा आन्तरिक विवाद चुुलिएको छ ।
काँग्रेस र फोरम लोकतान्त्रिकबीच भएको एकिकरणपछि समायोजनका लागि काँग्रेसमा पठाइएको नाममा समाजवादी पार्टी नेपाल, नेकपा र कांग्रेसकै नेता कार्यकर्ताको नाम पठाइएको खुलेको हो । समाजवादी पार्टीका बाँके जिल्ला अध्यक्ष कमरुद्दीन राईले नरैनापुर गाउँपालिकाका आफ्ना १०० जना नेता कार्यकर्ताको नाम फोरम लोकतान्त्रिकबाट काँग्रेसमा पठाइएको भन्दै विज्ञप्ती निकालेपछि रहस्य खुलेको हो ।
तत्कालीन संघीय समाजवादी फोरमबाट प्रदेश सभा र स्थानीय तहको चुनाव समेत लडेका लगायत कांग्रेसकै कतिपय नेता कार्यकर्ताको नाम फोरम लोकतान्त्रिकबाट पठाइएको बुझिएको छ । तर, फोरम लोकतान्त्रिकबाट चुनाव लडेका ब्यक्तिहरुको नाम भने पठाइएको छैन । मटेहियाका स्थानीय काँग्रेस नेता साविक क्षेत्र नं.२ का क्षेत्रीय सभापति रामचन्द्र मौर्यले साविक क्षेत्र नं.१ का कांग्रेसका क्षेत्रीय सभापति माधवराम खत्रीमाथि तत्कालीन फोरम लोकतान्त्रिका नेता कार्यकर्तालाई साथमा लिएर बदमासी गरेको आरोप लगाएका छन् ।
संगठनलाई आफ्नो अनुकुल बनाउन खत्रीले जथाभावी गरेको मौर्यको भनाई छ । नरैनापुरमा कांग्रेसका ८० देखि ९० जना क्रियाशील सदस्य छन् । तर फोरम लोकतान्त्रिकबाट १२७ जनाको नाम काँग्रेसमा समायोजनका लागि सिफारिस गरिएको छ । अन्य दलका नेता कार्यकर्तालाई फोरम लोकतान्त्रिकका भनेर पठाइएको काँग्रेस निकट स्रोतले बताएको छ । पार्टीको महाधिबेशन नजिकिँदै गर्दा पार्टी कब्जा गर्ने स्वार्थले केही नेताहरुले बदमासी गरेको चर्चा कांग्रेस वृत्तमा छ ।
यस्तै बदमासी जानकी गाउँपालिका र जिल्लाका अन्य स्थानीय तहका केही वडाहरुमा पनि भएको काँग्रेस नेता तथा कार्यकर्ता बताउँछन् । आफ्नो पक्ष कमजोर भएपछि संगठनमा कब्जा जमाउन बदमासी गरिएको खुलेको हो । फोरम लोकतान्त्रिकका कार्यकर्ता भन्दै जिल्ला भरबाट झण्डै १ हजारको नाम सिफारिस गरेर पठाइए पनि केन्द्रले ४७७ जनाको स्वीकृत गरी पठाएको थियो । त्यसको पनि ६० प्रतिशत जति कांग्रेस र अन्य दलका कार्यकर्ता रहेका छन् ।
सत्यपाटी - ।