सूचनाको शक्ति - The Power Of Information

        

अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्वाही, निर्माण अधुरै भएपछि सञ्चालन अनिश्चित

बाँके । नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्वाही देखिएको छ । नेपालगन्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधिन अत्याधुनिक बसपार्क निर्माणमा ठेकेदार कम्पनी निकै सुस्त र चरम लापर्वाही देखिएको हो । आजदेखि सञ्चालन हुने भनिएको नेपालगन्ज उपमहानगरपालिका–४ स्थित बसपार्क सञ्चालन अनिश्चित बनेको छ ।

ठेकेदारले समयमा काम गर्न नसक्दा सञ्चालन अनिश्चित बनेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । बसपार्क निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनी युनाइटेड बिल्डर्सको बद्मासी र नेपालगन्ज उपमहानगरपालिकाको चरम उदासिनताका कारण अन्तिम पटक तोकिएको सयम (साउन १५) मा पनि निर्माण कार्य सम्पन्न हुन सकेन ।

‘भोली (साउन १५) देखि बसपार्क सञ्चालन गर्ने तयारी गरिएको थियो तर काम नसकिएकाले त्यो सम्भव छैन,’ नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले भने, ‘ठेकेदारकै कारण कहिले सम्पन्न हुन्छ भन्ने अन्यौल थपिएको छ ।’ १५ महिनाभित्र सम्पन्न गर्ने गरी २०१६ अप्रिलमा सुरु भएको बसपार्क निर्माणको काम करिब चार बर्षमा सकिने चरणमा फेरि अन्यौलता थपिएको छ ।

भोली (साउन १५) देखि सञ्चालनमा आउने भनिएको बसपार्क अधुरै रहेपछि नेपालगन्जबासी निराश बनेका छन् । १५ महिनाभित्र निर्माण सक्ने सम्झौता भए पनि सम्झौताअनुरुप निर्माण सम्पन्न नहुँदा चार बर्षपछि सकिने चरणमा पुगेको बसपार्क सञ्चालनमा अन्यौलता थपिएको नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी पौडेलले बताए ।

अत्याधुनिक बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण लगभग सकिएको उनले बताए । ‘ठेकेदारसँग जरिवाना (पेनाल्टी) असुलेरै भए पनि नयाँ मिति तोकेर काम सम्पन्न गराउँछौं,’ सूचना अधिकारी पौडेलले भने । यता निर्माणको अन्तिम चरणमा पुगेको बसपार्क सञ्चालनमा नआउँदै दुर्गन्धित बन्न थालेको छ ।

बसपार्कभित्र अत्याधुनिक संरचना निर्माणसँगै एकैपटक धेरै जनाले प्रयोग गर्न मिल्ने गरी महिला र पुरुषका लागि अलग–अलग सुविधा सम्पन्न शौचालय निर्माण गरिएको छ । निर्माण गरिएका शौचालयहरु बन्द भएका कारण बसपार्कभित्र खुला शौच गर्ने गरिएको छ ।

निर्माणको काममा भएको सुस्तताले गर्दा समयमै सञ्चालनमा आउन नसकेको बसपार्कभित्र चिटिक्क परेका अत्याधुनिक सुविधासहितका संरचना बनेका छन् । तर, संरचना आसपासमा खुला शौचका कारण दुर्गन्ध फैलिएको छ । अत्याधुनिक बसपार्कभित्र खुला शौचका कारण दुर्गन्धित बन्न थालेको स्थानीयहरुको भनाई छ ।

नेपालगन्ज–४ का स्थानीय दीपक शाहीले भने, ‘सञ्चालनमा नआउँदै दुर्गन्ध फैलिएको छ ।’ बसपार्कभित्र अत्याधुनिक संरचना निर्माणसँगै एकैपटक धेरै जनाले प्रयोग गर्न मिल्ने गरी महिला र पुरुषका लागि अलग–अलग सुविधा सम्पन्न शौचालय निर्माण गरिएको छ । निर्माण गरिएका शौचालयहरु बन्द भएका कारण बसपार्कभित्र खुला शौच गर्ने गरिएको छ ।

शौचालयमा बनेका सटरहरुभित्र समेत शौच गर्ने गरेको काममा संलग्न कामदारहरुले बताएका छन् । त्यस क्षेत्र भएर हिँड्ने बटुवा, यात्रु, सेवाग्राहीदेखि जो कोहीले बसपार्कमा बनेका संरचनालाई शौचालयका रुपमा प्रयोग गरेका छन् । बसपार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने जिम्मा पाएको ठेकेदार कम्पनीलाई पाँच पटक म्याद थप गरिसकिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य सुरु गरिएको हो । ठेकेदार कम्पनीकै लापरवाहीका कारण नेपालगन्जको यातायात व्यवस्थापनमा समेत समस्या देखिएको छ । निर्माण ढिलाइ भएपछि यातायात साधन पार्किङ गर्न, टिकट काउन्टर व्यवस्थापन गर्न र यात्रुलाई गाडी चढ्न तथा टिकट काट्न समस्या भएको छ ।

साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई आधारभूत सुविधायुक्त बनाउन निर्माण कार्य थालिएको थियो । बसपार्कको निर्माण कार्य सम्पन्न नहुँदा त्यस क्षेत्रमा निर्माण क्रममा जथाभावी माटो थुपारिँदा गाडी पार्किङमा समस्या भएको यातायात व्यवसायीहरुको गुनासो छ । यात्रु तथा सवारी साधनलाई सहज हुने गरी निर्माण गर्न लागिएको बसपार्क निर्माण कार्य निकै सुस्त छ ।

करिब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्नै नसक्ने भएपछि अत्याधुनिक बसपार्क निर्माणको काम थालिएको थियो । यातायातका साधनबाट असूली हुने रकमबाट नै ऋण तिर्ने उपमहानगरपालिकाको योजना छ । नेपालगन्जमा नेपालकै उदाहरणीय र अत्याधुनिक बसपार्क बनाउने योजना सुरु भए पनि हालसम्म निर्माण कार्य पुरा नहुँदा बीचमै अल्झिएको छ ।

‘गाडी कहाँ पार्किङ्ग गराउने भन्नेमा हामीलाई तनाव हुन्छ । बसपार्क बनेको छैन, सडकको हालत उस्तै छ,’ नेपालगन्ज–जाजरकोट रुटका गाडी चालक गोपाल महताराले भने, ‘निर्माणको गति हेर्दा बसपार्क सञ्चालनमा आउन अझै समय लाग्ने देखिन्छ ।’ बसपार्क निर्माण सम्पन्न नहुँदा गाडी पार्किङ गर्न समस्या भएपछि नजिकैका खाली स्थानहरुमा पार्किङ्ग गर्ने गरिएको उनले बताए । बस खोज्न र टिकट काउण्टर पत्ता लगाउन यात्रुलाई समेत मुस्किल पर्ने गरेको छ ।

सडकमा पार्किङ गर्दा बसहरु असुरक्षित हुने गरेको उनको भनाई छ । टिकट काउन्टरसमेत भद्रगोल छन्,’ उनले भने, ‘निर्माण सकिएको छैन, यस्तो अवस्थामा कसरी यात्रुले सुरक्षित टिकट काट्ने र हामीले बसपार्कबाट गाडी सञ्चालन गर्न सक्छौं ?’ नेपालगन्ज बसपार्कबाट राजधानी लगायत पूर्व–पश्चिम तथा उत्तरतर्फ गरी दैनिक तीन सय बढी साना ठूला बसहरू सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलवार २०:३९