सूचनाको शक्ति - The Power Of Information

        

‘गाई बचाउँ अभियान’मा नेपालगन्ज ग्यालरी

बाँके । सामाजिक सेवामा विभिन्न कार्यहरु गर्दै आएको फेसबुक ग्रुप ‘नेपालगन्ज ग्यालरी’ले ‘नेपालगन्ज ग्यालरी गाई बचाउँ अभियान’ सुरु गरेको छ । छाडा पशु चौपायाका कारण सडक दुर्घटना बढ्न थालेपछि अभियान सुरु गरिएको ८५ हजार बढी सदस्य रहेको पत्रकार तथा ‘नेपालगन्ज ग्यालरी’का एडमिन रहेका समीर श्रेष्ठले फेसबुक पेजमा लेखेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–२१, विर्तागाँउमा रहेको कान्जी हाउसमा रहेका पशु चौपायाहरु आहारा नपाउँदा मर्न थालेका छन् भने घाउचोट लागेका र विरामी पशुको उचित उपचार हुन नसकेपछि अभियान थालिएको छ । गहुँको भुस, ब्राण्ड र पानी पर्याप्त नपाउँदा भोकभोकै पशु चौपायाहरु मर्न थालेपछि अभियान सञ्चालन गरिएको पत्रकार श्रेष्ठले भनेका छन् ।

कान्जी हाउसमा राखिएका पशुचौपायाहरु अत्यधिक गर्मी र आहाराको उचित व्यवस्थापन हुन नसक्दा मृत्यु हुन थालेपछि अभियान सुरु गरिएको उनले जनाएका छन् । सडक तथा बजार क्षेत्रमा रहेका छाडा पशुचौपायाका कारण सडक दुर्घटना बढ्न थालेपछि नियन्त्रण गर्न उपमहानगरपालिकाले कान्जी हाउस बनाएर छाडा पशु चौपायालाई कान्जी हाउसमा राख्दै आएका छ ।

कान्जी हाउसमा राखिएका पशुचौपायाको संख्या थपिँदै गएका उचित आहार तथा संरक्षणमा समस्या देखिएको छ । जसका कारण दिनहुँजसो पशुहरुमा विभिन्न प्रकारका संक्रमण भएर मर्न थालेका छन् । कान्जी हाउस पशुचौपायाको सुरक्षाका लागि नभई पशु यातना गृहजस्तै बनेको भन्दै स्थानीयहरुले आक्रोश व्यक्त गरिरहेका छन् । सामाजिक सञ्जालहरुमा आक्रोशहरु व्यक्त हुन थालेपछि ‘नेपालगन्ज ग्यालरी’ले आक्रोश नभई पशु चौपायाका लागि उपचार तथा घाँस र अन्य आहाराहरु सहयोग गर्न अपिल गरेको छ ।

‘नेपालगन्ज ग्यालरी’ले कान्जी हाउसको उचित व्यवस्थापन हुन नसक्दा पशुचौपायाको अवस्था दयनीय भएको भन्दै त्यसको व्यवस्थापनका लागि उपमहानगरपालिकाले मात्रै नभई सबै नागरिकको उत्तीकै दायित्व भएको पत्रकार श्रेष्ठले फेसबुकमा लेखेका छन् । कान्जी हाउसमा रहेका २०० बढी पशुचौपायाको उपचार तथा आहारा व्यवस्थापनमा सहयोग गर्न ‘नेपालगन्ज ग्यालरी’ले अपिल गरेको छ । कान्जी हाउसमा अहिले दैनिक पशुचौपायाहरु थपिने क्रम बढिरहेको छ ।

पत्रकार तथा ‘नेपालगन्ज ग्यालरी’का एडमिन समीर श्रेष्ठले यस्तो लेखे :

म ब्यक्तिगतरुपमा सामाजिक काम गरेपछि वाहीवाही बटुल्न त्यसको प्रचारप्रसार फेसबुकमा फोटो पोस्टाउँदै गर्नेको विरोधी हुँ र सकेसम्म त्यस्ता काम गर्दा क्यामेराबाट टाढै बस्न रुचाउँछु । तर अहिले हामीले सुरु गरेको नेपालगन्ज ग्यालरी गाई बचाउँ अभियानको मुद्दा नितान्त फरक छ र सबैलाई फोटोहरु हाल्दै विद्यमान अवस्थाको बारेमा जानकारी गराउन अत्यन्तै जरुरी छ । सडकमा छाडा छोडिएका गाईवस्तुबारे धेरैको सधैं नकारात्मक टिप्पणी आइरहेको देखिन्छ र हुन पनि हो ती पशुहरुले गर्दा दुर्घटनाको संख्या बढदै गएको छ ।

तर के तपाईंलाई थाहा छ कान्जी हाउसमा अहिले त्यही छाडा पशुहरु समात्दै राखिएको छ । हप्तैपिच्छे ५० वटा पशुहरु त्यहाँ थपिदै छ । अब समस्या यो छ कि छाडा छोडिएका पशुहरुको संख्या यतिधेरै छ कि कहिले सडकबाट कम नै हुँदैन । तर जुन हिसाबमा त्यहाँ ब्यवस्थापन हुनुपर्ने हो त्यो हुन सकेन । गाईवस्तु भोक र गर्मीले मर्न थाले । यता हामी छाडा पशु ब्यवस्थापन गर भन्दै कराउछौं । तर त्यहाँ पुर्याइएका पशुहरु विशेष गरेर हाम्रो राष्ट्रिय जनावर भटाभट मर्न थाल्दासमेत हामीले च्वँच्वँ… विचरा…, निकम्मा निकाय भन्दै सराप्दै बस्छौं, तर आफू अगाडि भने सर्दैनौ ।

लाग्छ, फेसबुकमै कमेन्ट गरेर गाली गर्दैमा सबै समस्या समाधान हुन्छ । हो उपमहानगरपालिकाले त्यहाँ अरु संरचना बनाउँदैछ, रुख घाँस लगाउने योजना बनाएका छन् । तर ती नबन्दासम्म रुखहरु नहुर्किँदासम्म हामीले जेजति गर्न सक्छौं, त्यो हामी गर्दैछौं । विगतका हप्तादेखि केही साथीहरु मिलेर गाईवस्तुको लागि हरियो घाँस र खानेकुराको जोहो गर्दैछौं । एकदिन गरेर के हुन्छ भन्ने साथीहरुलाई हार्दिक अनुरोध छ, सधैंभरी गर्न त हामी पनि सक्दैनौं, हाम्रो पनि आ–आफ्नो कामहरु छ तर सबै मिलेर यो एक एकदिन लियौ भने महिनौं हुनसक्छ, कान्जी हाउस हाम्रै उपमहानगरपालिकाभित्रै पर्छ, धेरै टाढा पनि छैन । फुलटेक्रादेखि १० मिनेटमै पुगिन्छ, गाडी मोटरसाइकल जाने राम्रै बाटो छ ।

लौ न समूह बनाउ, एउटाले एकदिन, अर्कोले एकदिन गर्दै गरौं न । सम्बन्धित निकायलाई खबरदार गर्दै गरौंला, झक्झक्याउँदै गरौला । तर उचित ब्यवस्थापन नहुँदासम्म त कमसेकम हामीहरुले नै उनीहरुलाई पुग्ने घाँस र आवश्यक खानेकुरा मिलाउन सक्छौं होला । भुसा पानी त उपमहानगरपालिकाले नै ब्यवस्था गरिरहेको छ, मात्र पशुहरुको संख्या बढी भएर नपुग भएको हो । तर दोष दिँदै चुप लागेर सराप्दै बस्ने अवस्था छैन । तसर्थ, अगाडी बढौं, सक्नेले एकदिन समय निकालेर गौमाताको सेवा गरौं !

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलवार १०:३०