सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा ५५ करोड ४० लाख फ्रिज, कर्मचारी अभाव मुख्य कारण : स्थानीय तह

सत्यराज सिंह । बझाङ । बझाङमा आर्थिक वर्ष २०७५/०७६ मा ५५ करोड ४० लाख रकम फ्रिज भएको छ । गएको आर्थिक वर्षमा चालू खर्चतर्फ ३९ करोड ६९ लाख ९७ हजार ८७३ र पुँजीगततर्फ १५ करोड ७० लाख १७ हजार ५८७ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख शेरबहादुर विष्टले बताए । संघीय सरकार र प्रदेश सरकारबाट निकासा भएको चालूतर्फ ४ अर्ब ९५ करोड ७४ लाख १६ हजार ३०३ बजेट रहेको थियो ।

गत आर्थिक वर्षको पुँजीगत तर्फको खर्च प्रतिशत हेर्दा ८० दशमलव ४९ प्रतिशत खर्च भएको छ भने चालूतर्फको खर्च ९२ दशमलव ५९ प्रतिशत खर्च भएको हो । दुई नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा स्थानीय तहले काम गर्न नसकेर रकम फ्रिज गएको छ । तल्कोट गाउँपालिकाले ३८ लाख ९३ हजार ४१८ फ्रिज गरेको छ भने बुंगल नगरपालिकाबाट ३ करोड २५ लाख २० हजार, सुर्मा गाउँपालिकाबाट १३ लाख ६ हजार ६००, केदारस्यँु गाउँपालिकाबाट ३ करोड १२ लाख ७४ हजार ६५४ रकम फ्रिज भएको छ ।

साथै थलारा गाउँपालिकाबाट २ करोड ८३ लाख ५८ हजार ८२४, बित्थडचिर गाउँपालिकाबाट २४ लाख ९३ हजार ७८८, दुर्गाथली गाउँपालिकाबाट ७४ लाख ६५ हजार ६ सय, खप्तडछान्ना गाउँपालिकाबाट ३ करोड ५८ लाख ५७ हजार २२३, जयपृथ्वी नगरपालिकाबाट २ करोड ४८ लाख ७ हजार ३३३ रकम फ्रिज भएको छ । साथै मष्टा गाउँपालिकाबाट ३२ लाख २५ हजार, साइपाल गाउँपालिकाबाट ८९ लाख ८५ हजार ६२९ र छबिसपाथीभेरा गाउँपालिकाबाट ३ करोड १० लाख ३१ हजार ९३३ रकम पनि फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बझाङले जानकारी दिएको छ ।

स्थानीय तहका प्रमुखहरुले भने रकम ढिला निकासा र कर्मचारीसमेत अभावका कारण खर्च गर्न नसकेको जनाएका छन् । राज्यको पुनः संरचना भएर स्थानीय तह भएपछि बझाङ जिल्लामा सरकारको आउने बजेट बढेको बताउँदै कोष नियन्त्रक विष्टले खर्चअनुसार उपलब्धी देखाउनतर्फ सबैको ध्यान जान जरुरी भएको बताए । यसका साथै गैरसरकारी संस्थामा निकासा खर्चको विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा नहुने हुँदा वर्षभरि सरकारी गैरसरकारी निजी क्षेत्र रकम हेर्दा झन्डै १२ अर्ब जति रकम बझाङमा परिचालन हुने गरेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलवार ०७:४८